आफ्नो समुदायले बनाएको सामानको बजार खोज्दै नेपाल आइपुगिन् चिलीकी तातियाना

गत साताको मंगलबार काठमाडौंमा ‘अन्तर्राष्ट्रिय गृहश्रमिक सम्मेलन’ भएको थियो । सम्मेलनमा विश्वका २९ देशका गृहश्रमिकहरू सहभागी थिए ।

यहाँ ‘गृहश्रमिक’ शब्दले आफ्नै घरमा बसेर आयआर्जनका लागि काम गर्ने व्यक्ति बुझाउँछ, अंग्रेजी भाषामा ‘होमबेस्ड वर्कर’ । यीमध्ये एक थिइन् दक्षिण अमेरिकी मुलुक चिलीकी ६५ वर्षीया तातियाना रोजास । पहिलो पटक नेपाल आएकी तातियाना ‘बाइसेक्सुअल वुमन’ अर्थात द्वयलिंगी महिला हुन् ।

महिला र पुरूष दुवै लिंगीप्रति भावनात्मक, मानसिक, शारीरिक तथा प्रणयात्मक रूपले आकर्षित हुनु नै द्वयलिंगी अर्थात बाइसेक्सुअल हुनु हो । तातियाना लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजिबिटिक्युआइए–प्लस) समुदायको नेतृत्व गरेर सम्मेलनमा सहभागी हुन आएकी थिइन् । सम्मेलनमा यो समुदायले घरमै उत्पादन गरेका सामान प्रदर्शनी र बिक्रीमा राखिएको थियो ।

‘म यो समुदायका गृहश्रमिक व्यक्तिहरूले गरेको उत्पादनको बजार व्यवस्थाका लागि मद्दत गर्छु,’ उनले भनिन्,’ ‘बजार व्यवस्थापनको काममा यही समुदायका व्यक्तिहरूलाई लगाएकी छु ।’ चिलीमा उनले आफ्नै पहलमा सन् २०१३ मा यो समुदायको मजदुर युनियन पनि खोलेकी छन् । ‘कोट्राडो अलेक’ नामक यो युनियनको नेतृत्व उनैले गर्छिन् । यो समुदायका व्यक्तिहरूका लागि सिपमूलक तालिम र रोजगारी प्रवर्द्धन गर्नुका साथै मजदुरहरूको अधिकारको वकालत गर्नु युनियनको मुख्य काम हो ।

‘युनियनले लैंगिक तथा अल्पसंख्यक समुदायको हक–अधिकारका लागि आवाज उठाउँछ र उनीहरूले उत्पादन गरेका सामग्री बिक्री गर्न बजार व्यवस्थापनको काम गर्छ,’ उनले जानकारी दिइन् । उनीहरूले गहना, लुगा, धागो, गुडिया, मास्क र यस्तै अन्य केही सामान उत्पादन गर्दै आएका छन् । युनियनले गृहश्रमिक महिलाहरूको रोजगारीका लागि पनि पहल गर्छ । प्राथमिकतामा भने लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरू नै पर्छन् ।

‘युनियन स्थापना हुँदासम्म पनि यो समुदायका व्यक्तिहरू आफ्नो लैंगिक तथा यौनिक पहिचान खुलाउन चाहँदैन थिए,’ तातियानाले भनिन्, ‘युनियनमा सदस्य हुने व्यक्ति भेट्नै मुश्किल थियो । मैले चेतनामूलक कार्यक्रमहरू चलाउन थालें । तैपनि मान्छेहरू पहिचान खुलाउन असहज मान्थे ।’ कोट्राडो अलेकअघि सन् १९९१ मा ‘मम्स जेन्डर डाइभर्सिटी मुभमेन्ट’ स्थापना भएको थियो । यसले लैंगिक तथा अल्पसंख्यक समुदायकै अधिकारका लागि काम गर्छ । यी दुई संस्थाले हाल सहकार्यमा काम गर्छन् ।

तातियाना आफैंले पनि धेरै वर्षसम्म आफ्नो लैंगिक तथा यौनिक पहिचान लुकाएकी थिइन् । मम्स जेन्डर डाइभर्सिटी मुभमेन्टपछि नै खुलाएकी हुन् । त्यो बेला उनी करिब ३५ वर्षकी थिइन् । उनले आफूलाई बाइसेक्सुअल (द्वयलिंगी) महिला भनेर चिनाइन् । यसपछि आफ्नो समुदायको हकहितका लागि कम्मर कसेर अघि बढिन् । त्यसअघि उनी महिला तथा बालबालिकाको हक–अधिकारका लागि काम गर्थिन् । ‘मान्छे महिला र पुरूष मात्र हुन्छ भन्ने हुँदैन, फरक पनि हुन सक्छ,’ उनले भनिन्, ‘म केटी जन्मेकी हुँ । हुर्कने क्रममा मलाई केटा मनपर्थ्यो । पछि केटी नै मनपर्न थाल्यो । यसपछि पहिचान पहिल्याउन थालेकी थिएँ ।’

आफ्नो पहिचान सार्वजनिक गरेपछि तातियाना लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हक–अधिकारको आन्दोलन र अभियानमा सहभागी भइन् । अरूलाई पनि पहिचान खुलाउन प्रेरित गरिरहिन् । बिस्तारै उनको प्रयास सार्थक हुँदै गयो । यो समुदायका गृहश्रमिकहरू आफ्नो पहिचान खुलाउँदै युनियनमा जोडिने क्रम सुरू भयो । सदस्य संख्या बढ्न थाल्यो ।

‘म अनेक कार्यस्थलहरूमा पुग्दै यो समुदायका व्यक्तिहरू खोज्थें,’ उनले भनिन् । उनले भेटेका व्यक्तिहरू आफ्नै घरमा सिलाइबुनाइ र सिपमूलक अरू काम गर्थे । उनीहरूलाई तातियानाले युनियनमा ल्याइन् । हाल युनियनमा ५० जनाभन्दा बढी आबद्ध छन् । कोट्राडो अलेक अहिले समलिंगी, द्वयलिंगी र पारलैंगिक व्यक्तिहरूको संस्थाका रूपमा परिचित छ ।

युनियनमा जोडिएर पनि सुरूमा पहिचान खुलाउन असहज मानेका व्यक्तिहरू बिस्तारै खुल्दै गए । आजकाल विदेशका कार्यक्रममा पनि आफ्नो पहिचानसहित सहभागी हुन्छन् । सडकमा जम्मा भएर आन्दोलन गर्न, आफ्नो आवाज सुनाउन र सरकारसँग माग राख्छन् । आफ्ना उत्पादन बेच्ने बजार पनि पाएका छन् ।


‘अहिले स्वतन्त्रता बढेको छ । आफ्नो आवाज सुनिने ठाउँ छ,’ तातियाना भन्छिन्,’ ‘पहिले पहिचान लुकाउन चाहनेहरू अहिले खुलेर बोल्न र हिँड्न थालेका छन् ।’ चिली सरकारले उनीहरूको आवाज थोरै भए पनि सुनेको छ । रोजगारीमा आरक्षण दिन कानुन बनाएको छ । हाल यस्तो आरक्षण पारलैंगिकका लागि मात्र छ । कोट्राडो अलेकले पारलैंगिकसँगै समलिंगी, द्वयलिंगी, अन्तरलिंगी लगायत सिंगो लैंगिक तथा अल्पसंख्यक समुदायका लागि आरक्षण व्यवस्था गर्न माग गर्दै आएको छ ।

युनियनले सरकारी निकायहरूसँग समन्वय गरिरहेको पनि तातियानाले बताइन् । उनका अनुसार यो समुदायका व्यक्तिलाई रोजगारी दिने संघसंस्थाले अझै पनि उनीहरूको क्षमताको सम्मान गर्न सकेका छैनन् । यस्ता व्यक्तिहरूलाई रोजगारी दिने संस्थाको संख्या बढेको छ तर व्यवहारमा अपेक्षित सुधार भएको छैन । अवसर बढेसँगै विभेद र हिंसा पनि बढ्दै छ ।

‘हाम्रो देश (चिली) मा पारलैंगिकका लागि आरक्षण भएपनि कार्यान्वयनमा अझै समस्या छ,’ तातियाना भन्छिन्,’ ‘पहिचान खुलेपछि विभेद र हिंसा बढ्ने गरेको छ । कसैलाई त ज्यान मार्ने धम्की पनि आउँछ ।’

त्यसैले युनियनमार्फत यो समुदायको सुरक्षा, थप अवसर र न्यायका लागि आवाज उठाउने काम पनि भइरहेको छ । युनियनको सक्रियताले यो समुदायका व्यक्तिहरू समाजका हिस्सा हुन्, उनीहरूको अस्तित्व पनि सबैसरह हो भन्ने मान्यता विकास र विस्तार हुँदैछ । तातियाना आफ्नो समुदायको हक–अधिकारको आवाज सशक्त बनाउन समुदायकै व्यक्तिहरूको सहभागिता बढाउन चाहन्छिन्।

युनियनले सरकारी निकाय, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र केही सहयोगी संस्थाहरूसँग मिलेर काम गर्छ । सन् २०१६ मा भएको आइएलओ सम्मेलनमा तातियानाले यो समुदायको हक–अधिकार र रोजगारीका लागि प्रस्ताव राखेकी थिइन् । गृहश्रमिकको उचित पारिश्रमिक, दुर्घटना बिमा, स्वास्थ्य बिमा र आफ्नो समुदायका व्यक्तिको रोजगारी उनले उठाएका मुख्य विषय थिए ।

आइएलओसँगको सहकार्यमा युनियनले सन् २०१९ मा वर्षभरि यो समुदायका कथा सुनायो । कथासम्बन्धी डकुमेन्ट्रीहरू देखायो । ‘हामीले गृहश्रमिकका रूपमा काम गर्ने यो समुदायका व्यक्तिका जीवनकथा प्रस्तुत गर्‍यौं,’ तातियानाले भनिन्,’ ‘उनीहरूको अवस्था, उनीहरूले उत्पादन गरेका सामान र बजार व्यवस्थापनका कथा प्रस्तुत गर्‍यौं ।’

उक्त कार्यक्रमले निकै सकारात्मक परिणाम दियो । चिली सरकारले यो समुदायको यथार्थ अवस्था थाहा पायो । यसले मागहरू सम्बोधन हुने वातावरण बनायो । दुई वर्षअघि चिली सरकारले समलिंगी बिहेलाई कानुनी मान्यता दियो । आजकाल युनियनले शिक्षा र स्वास्थ्यमा जोड दिएर काम गरिरहेको छ।

तातियाना भन्छिन्,’ ‘हामी सरकारी निकायसँग समन्वय गरेर काम गर्दैछौं । हाम्रो समुदायका व्यक्तिहरूको स्वास्थ्य, शिक्षा, बिहे, रोजगारी र न्याय हाम्रो प्राथमिकताको क्षेत्र हो ।’ युनियनले समुदायको हक–अधिकारका लागि वकिलहरूसँग पनि मिलेर काम गर्छ । युनियन संविधानमा केही सुधार हुनुपर्छ भन्ने पक्षमा छ । चिलीको संविधानमा यो समुदायको हकहितमा असर पर्ने केही कुरा छन् र त्यसमका सुधार हुनुपर्छ भन्ने युनियनको निष्कर्ष हो ।

तातियानाले नेपाल र चिलीका लैंगिक तथा अल्पसंख्यक समुदायको अवस्थाको तुलना पनि गरेकी छन् । चिलीमा यो समुदायका व्यक्ति नेपालमा भन्दा अलिक बढी स्वतन्त्र भएको उनी बताउँछिन् । कोट्राडो अलेकमार्फत आन्दोलन र अभियानहरू सक्रिय हुँदा यो समुदायको पहिचानको अवस्था फराकिलो भएको उनले बताइन् ।

‘हाम्रो समयमा धेरै परिवर्तन आएको छ । अहिले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको व्यक्ति पन्ध्र वर्षकै उमेरमा आफ्नो पहिचान खुलाएर बोल्न सक्ने भएको छ,’ उनी भन्छिन् । तातियानालाई यस्ता धेरै व्यक्तिहरूलाई बाहिर ल्याउनु छ । उनीहरूको पहिचान, हक–अधिकार र रोजगारीका लागि संघर्ष गर्नु छ। उनीहरूलाई राजनीति र नीति निर्माणका क्षेत्रमा पनि पुर्‍याउनु छ ! सेतोपाटी

Translate »