छिन्चु–जाजरकोट सडकमा मनपरी भाडा असुल्ने २९ सवारी चालकलाई कार्वाही

सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डमा मनपरी भाडा असुल्ने २९ जना सवारी चालकलाई कार्वाही गरिएको छ ।

सर्वसाधारणको गुनासो आउन थालेपछि आज यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी रुकुम पश्चिम, जिल्ला प्रशासन कार्यालय जाजरकोट, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतलगायतको संयुक्त अनुगमन टोलीले गरेको अनुगमनमा आफुखुसी यात्रुबाट भाडा असुल्ने २९ वटा सवारी चालकलाई कार्वाही गरिएको हो ।

इन्धनको मूल्यमा गिरावट आएपछि स्वचालित भाडा दर घटने कानूनी व्यवस्थाका वावजुद छिन्चु–जाजरकोट सडकखण्डमा गुड्ने सार्वजनिक सवारी साधनले आफुखुशी भाडा असुल्दै आएको पाईएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी रुकुम पश्चिमका प्रमुख आनन्द चपाईले जानकारी दिए ।

उनले सार्वजनिक सवारी साधनले मनपरी भाडा असुल्ने गरेको गुनासो आएपछि कार्यालयको नेतृत्वमा स्थानीय प्रशासन, ट्राफिक प्रहरी, पत्रकार, नागरिक समाजलगायतको रोहवरमा पछिल्लो एक हप्तामा ३ सय ६२ वटा सवारी साधनहरुको चेकजाँच गरिएकोमा नियम विपरित गुड्ने ८० वटा सवारी साधनमाथि कार्वाही गरिएको बताए ।

यता जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रमसँगै अनुगमन तथा नियमनलाई निरन्तरता दिइने जनाए ।

उनले निर्धारित भाडादर भन्दा बढी भाडा असुल्ने, रुटपरमिट विना नै सवारी चलाउने, तोकिएको रुटमा सवारी नचाउनले, क्षमता भन्दा बढी यात्रु, बोक्ने, आवश्यक कागजात निमय अनुसार नराख्ने सवारी साधनमाथि कार्वाही जारी राखिने बताए ।

अहिले संयुक्त अनुगमन टोलीले छिन्चु–जाजरकोट सडकखण्ड, जाजरकोट–डोल्पा सडक, चौरजहारी–मुसिकोट सडकलगायतमा सवारी साधन चेकजाँचमा कडाई गरिरहेको छ ।

यात्रुबाट आफुखुशी भाडा असुल्नेमा निजी सवारी (राता पलेट), सार्वजनिक जीप, मिनीबस र बसहरुलगायतलाई कार्वाही गरि हालसम्म ७४ हजार ५ सय रुपैयाँ ट्राफिक जरिवाना गरिएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रशासन शाखा प्रमुख देवबहादुर चन्दले जानकारी दिए ।

Translate »