गरिबीको भुंग्रोमा हुम्लाका दलित

दलित परिवारमा कलिलै उमेरमा विवाह, बहुविवाह र छोरा चाहिने परम्परा व्याप्त छ भने अधिकांश दम्पतीले ६ भन्दा बढी सन्तान जन्माउँछन्

जेठ २१, हुम्ला । ताँजाकोट गाउँपालिकाको निर्माणाधीन भव्य भवनलाई छेको पार्दै अलि पर्तिर लागेपछि च्याखुरे गाउँको दलित बस्ती भेटिन्छ ।मैलाको ठाडै उकालो अनि छप्रेला गाउँबाट ओरालो पार गर्दै च्याखुरे गाउँका वीरबल दमाईको घरआँगनमा पुग्दा झमक्क रात पर्न थालिसकेको थियो । नवौं मास चलिरहेकी वीरबलकी गर्भवती जहान पम्फा चुलोमा भात बसालेर आगो फुक्दै थिइन् । वीरबल बाहिर पेटीमा सिस्नुका थिचेका पात र डाँठ लट्ठीको सहयोगले सिल्भरको बाटा (भाँडो) मा कोच्दै थिए । गाईका लागि खोले पकाउन त्यसो गरेका रहेछन् । पारि गाउँदेखिको धूलो माटो बोकेर आउने बतास एक तमास चलिरहेको थियो । बतासले उडाएका साना ढुंगाका टुक्रा घरमाथि टिनको छानामा ठोकिँदा एकोहोरो कर्कस आवाज निस्किन्थ्यो । भिरालो जमिनको डिलैमा रहेको घरको आँगनमा वीरबलका ६ बालबच्चा जाडोको परवाह नगरी नाङ्गै खेलिरहेका थिए ।

बेलाबेला आमालाई भोक लाग्यो भन्दै झिँजो लगाउँथे बालबच्चा । पम्फाले भात झिकेर दाल बनाउने तयारी सुरु गरिन् । ५र६ वटा हरियो पात लसुन, चार ढिँडी खुर्सानी र नुन सिलौटामा पिँधेर भाँडाभरि उम्लिँदै गरेको पानीमा झ्वाम्म हालिन् । दाल भने पनि तरकारी भने पनि चटनी भने नि त्यही थियो । भोक लाग्यो भनेर चिच्याउँदै गरेकी सानी छोरीलाई हप्काउँदै उनले भनिन्, ‘अब पाकिगो, एकछिन पख् न ।’ त्यो साँझ नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते थियो । मिठोमसिनो खानेकुरा बनाएर, परम्परा र रीतिरिवाजअनुसार रामरमिता गरेर, शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने चलन दूरदराजका गाउँघरमा पनि छ । यस क्षेत्रमा नयाँ वर्षको दिनलाई बिसु पर्वका रूपमा मनाइन्छ । तर सदरमुकाम सिमकोटबाट सबैभन्दा टाढा ९४८ कोसको दूरी० रहेको ताँजाकोट–३ च्याखुरेका वीरबलको परिवारका लागि भने ‘नयाँ वर्ष हर्ष न विस्मात्’ थियो ।

वीरबल परिवारमा मिठोमसिनो खान पाउने अवसर कहिल्यै आउँदैन । ‘पेटभरि दाल, साग, भात खान पायो भने त्यही नै चाडबार जस्तो लाग्छ,’ वीरबलकी श्रीमती पम्फाले भनिन्, ‘हुने खानेका लागि नयाँ वर्ष त्यार तिउबार हो सर । हामीकन बिसु आया क्या, दसैं आया क्या । (हामीलाई बिसु आओस् कि दसैं, केही फरक हुँदैन) ।’ चाडपर्वका बेला कुनै रिथी (उपल्ला जातका मानिसलाई दलितले सम्बोधन गर्ने मालिकको पर्यायवाची शब्द) ले दिएपछि मात्रै मिठोमसिनो चाख्न पाउने गरेको उनले सुनाइन् ।निस्तै भात खानका लागि पनि वीरबलले गर्नुपरेको दुःख कम्ती छैन । गाउँमा रहेका सबै नौवटा पसलमा उनको उधारो छ । चामल, नुन, तेल खाएको उधारो दुई लाख हाराहारी तिर्नु छ । काम पाएपछि तिरौंला भनेर भाखा राखेका छन् । उधारो थुप्रिँदै गएपछि केही पसलेले त पत्याउन छाडेका छन् । ‘छोराछोरी भोकै मर्ने भएपछि साउजीको खुट्टा समाएपछि कसैकसैले दुईरचार किलो चामल दिन्छन् । कोही तेरो उधारो धेरै भइसक्यो कहाँबाट तिर्छस् भनेर दिँदैनन्,’ वीरबल भन्छन्, ‘कसैले नपत्याएको दिन भोकै बस्नुपर्छ ।’

यति कथा सुनाउँदा ३५ वर्षको उमेरमै ५० हाराहारीका देखिने वीरबलको अनुहारमा मुस्कान दिएर बयान गरिरहेका थिए । चरम गरिबीका कारण भोगिरहेको कष्टयुक्त जिन्दगीको कथा सुनिरहँदा रुवाउने खालको थियो, तर पनि उनी प्रत्येक शब्दमा मुस्कान देखाउने प्रयत्नमा थिए ।

लाग्थ्यो, चरम गरिबीले दिएको पीडा उनी हाँसेरै उडाइदिन चाहन्थे । वीरबलको जिन्दगीमा अभाव र गरिबीको डोजर कुदिरहेको भए पीडालाई हाँसोमा उडाउन प्रयत्नरत थिए । मुस्कुराइरहनुको रहस्य खोतल्दै उनले देउडाको एक पोयो फुकाए ।

‘जुम्ला जुम्ली भात पकाउँदो पटुका खोइकन, रोयाले राज पाइन्याँ छैन, क्या अर्नु रोइकन रु’ उनको देउडा भाकाको पछिल्लो हरफले ‘रोएर राज्य पाइने होइन, किन रुनु रु’ अर्थ्याएको थियो । तर उनले देउडाको बिम्ब प्रयोग गरेर भन्न खोजेको अर्थचाहिँ फरक थियो । ‘रोएर दुःख मेटिँदैन भने किन रुनु रु’ ताँजाकोटमा बिसुको दिन पनि निस्तै भात खाने वीरबलको परिवार एक्लो भने थिएन । यही वडाको ल्वारबाडा, भ्यालबाडा र चौथारीबाडा गाउँमा १ सय ४५ बढी सार्की, कामी र दमाई जातिका दलित समुदायको बसोबास छ ।

गाउँपालिकाका अध्यक्ष लालकेश जैसीका अनुसार परार साल कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत ताँजाकोटका अति विपन्न दलित परिवारको घर बनाइदिने योजना कार्यान्वयन गरेपछि वीरबल परिवार चुहिने छाप्राबाट जस्ताले छाएको घरमा बस्न पाएका छन् । ‘दुःखका कुरा त के गर्नु, आयआर्जन छैन, काम पाएपछि ज्यालाले गुजारा चलाउने हो,’ अध्यक्ष जैसीले भने ‘विपन्न परिवारलाई दुई छाक खान पुग्नेसम्म बनाउन सकियो भने धेरै हुने थियो ।’

उनीहरूमध्ये अधिकांशको अवस्था उस्तै छ । गाउँका अलि हुने खानेले चाडपर्वमा चाउचाउको झोल र भात खाने गरेको सुनाउने लोपा दमाईले भनिन्, ‘दाल, साग, भात खाने ध्वाङ ९परिवार० त यै गाउँमा को होलान् र रु एक दुई त कोही होलान् कि रु सबैको उस्तै उस्तै हुन् ।’ गाउँमा बस्ने दलितहरूको अवस्था उस्तै रहेको गाउँपालिकाको कार्यालय नजिकै होटल सञ्चालन गरिरहेकी अनिता खड्काले बताइन् । ‘बिहान नुन माग्न आउँछन्, साँझ खुर्सानी छैन भनेर आउँछन्,’ उनले भनिन्, ‘एक गेडो प्याज पायो भने त्यसैको झोल बनाएर ८र१० जनाको परिवारले दालको गर्जो टार्छन् ।’

ताँजाकोटका दलितको अवस्था साह्रै दयनीय रहेको बताउँदै उनले उनीहरूका बालबच्चा दैनिकजसो होटलको वरिपरि रुँगेर बस्ने गरेको सुनाइन् । ‘होटलमा भात बचेको भएर दिने गरेकी छु । पायो भने सानो बच्चाले पनि दुई जना ठूलो मान्छेको जति खान्छन् । नपाए दुईरचार दिनसम्म भोकै पनि बस्न सक्छन्,’ उनले भनिन् । ताँजाकोटका पसल व्यवसायी स्थानीय दलित परिवारलाई उधारो दिएर हैरान भइसकेको बताउँछन् ।

‘७०र८० हजार उधारो नलिने परिवारै छैन,’ छप्रेलामा पसल चलाएका धीरेन्द्र शाहीले भने, ‘नदिउँ भने रोइकराइ गर्छन् । असुल हुने ठेगान छैन । पसल नै बन्द गरौं कि जस्तो लागेको छ ।’ धीरेन्द्रको पसलमा मात्र होइन, गाउँमा रहेका अन्य ८र९ पसल सञ्चालकको भनाइ पनि यस्तै थियो । उनीहरू सबैको सामूहिक हैरानी थियो, ‘दलितले उधारो खाएर हैरान पारे ।’ गाउँमा विकास निर्माणका योजना आएका बेला काम खुलेपछि मजदुरी गरेको रकम बुझ्ने दिन एक जना दलितको पछाडि चाररपाँच जना साहुजीको लाम लाग्ने गर्छ । पैसा बुझ्नेबित्तिकै खोसाखोस हुने गरेको पालिकाका पूर्वअध्यक्ष बागदल मल्ल बताउँछन् । ‘गाउँमा कुनै काम आएपछि उनीहरूले पाएको ज्यालामा साहुको लुछाचुँडी चल्छ । कुनै बेला त सबै पसलेहरू भागहालेर थोरैथोरै भए पनि असुल गर्छन्,’ मल्लले भने, ‘बाह्रै महिना काम पाउने अवस्था पनि हुन्न । समस्या छ ।’

चरम गरिबी, बग्रेल्ती सन्तान

हुम्लाको ०७४ सालको जिल्ला प्रोफाइलअनुसार मानव विकास सूचकांक ०।३७६ छ । गरिबीको दर ५६।०२ प्रतिशत छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले प्रयोगमा ल्याएको अवधारणाअनुसार बहुआयामिक गरिबी सूचकमा स्वास्थ्य, शिक्षा र जीवनस्तरका आयाम पर्दछन् । स्वास्थ्यअन्तर्गत बालमृत्युदर र पोषण, जीवनस्तरअन्तर्गत बिजुली, सरसफाइ, खानेपानी, खाना पकाउन प्रयोग गरिने इन्धन, सम्पत्तिको स्वामित्वलगायत उपसूचक रहेका छन् । समग्र हुम्ला र त्यसैमा सदरमुकामदेखि दूर रहेको ताँजाकोटको अवस्था नाजुक छ । स्वास्थ्य सेवाको पहुँच कमजोर छ, बालबालिका कुपोषणबाट ग्रसित रहेको तथ्यांक छ ।

ताँजाकोटकै वीरबल दम्पतीका पनि सात सन्तान जन्मिएका थिए । एउटा बच्चा जन्मेको महिना दिनमै बित्यो । अहिले पाँच छोरी र एक छोरा जीवित छन् । तर यो परिवारलाई सन्तानको रहर अझै पुगेको छैन । पम्फा गर्भवती छिन् । उनको गर्भ नवौं महिना चलिरहेको थियो । विवाह गर्ने बेला पम्फाको उमेर १४ र वीरबल १५ वर्षका थिए । नजिकै पालिकाको स्वास्थ्य संस्था छ । १० दिनअघि उनी गर्भ जाँच गर्न गएकी थिइन् । नर्सले उनलाई भिडियो एक्सरे गर्नु भनेकी थिइन् । भिडियो एक्सरे गर्न बाजुराको कोल्टी पुग्नुपर्छ । कोल्टी गएर जाँच गर्ने पम्फा दम्पतीको आयस्त छैन । ‘१० हजार जति त खर्च लागि जाला । त्यत्रो पैसा कहाँ हामी कन को देला ?,’ पम्फाले भनिन्, ‘ज्या होला देउताको भर छ ।’

सुत्केरी समयमा के खाने भन्ने कुनै तयारी छैन यो परिवारको । ‘आजै खान त समस्या छ । पछिको चिन्ता अरेर के अर्नु ?,’ पम्फाले मुस्कुराउँदै भनिन्, ‘सुत्केरी भइसकेपछि गाउँका कोही रिथी मालिकले दया गरे (माग्दाखेरि दियो भने) खाइहेलुला । नभए जसो लाग्ला त्यसै गरुँला ।’ उनले आफूले जन्माएको बच्चा जीवित जन्मने वा जन्मिसकेपछि पनि बाँच्नेमा आफू ढुक्क नभएको बताइन् ।

बग्रेल्ती सन्तान जन्माउने चलनको घानमा निरक्षर वीरबल दम्पती मात्रै परेका छैनन् । गाउँमा अधिकांश दम्पतीका ६ जनाभन्दा बढी सन्तान छन् । सोही गाउँका रत्नलाल नेपाली पढेलेखेका युवा मात्रै होइनन्, पालिकामै जेटीए पदमा अस्थायी जागिरे छन् । उनकी श्रीमती लालजु नेपालीको उमेर २२ वर्ष भयो । तर उनको गर्भमा छैटौं भ्रूण बसिसकेको छ । तीमध्ये दुई छोरा र एक छोरीमात्र जीवित छन्, तीन बिते । ‘लगातार बच्चा बिते, राति राम्रै हुन्थे, बिहान त मरेका हुन्थे,’ लालजुले भनिन्, ‘कसरी पो मर्थे थाहै पाउँदैनथ्यौं ।’

गाउँमा १४ जत्काल (गर्भवती भएका) बसेका महिला पनि छन् । यो गाउँका दलित परिवारमा त्यस्ता आमा विरलै भेटिन्छन्, जसले एकरदुई बच्चा गुमाएको नहोस् । ४५ वर्षीया लोपा दमाई यसको उदाहरण हुन् । १४ वटा जीवित बच्चा जन्माएकी उनका सात बच्चा जन्मेको एक वर्षभित्रै बिते । तीन छोरा र चार छोरी जीवित छन् । बच्चा मर्नेरबाँच्ने निश्चित नहुने भएकाले धेरै बच्चा जन्माएको उनको तर्क थियो । ‘जन्मे जति कसैका बाँचेका छैनन् । मेरा पनि मर्ने हुन् कि बाँच्ने हुन् भनेर धेरै जन्माएँ । आधा त बचाउनै सकिएन ।’

मैला स्वास्थ्य चौकी ताँजाकोटका अहेब जंगलाल नेपाली दलित परिवारमा गरिबी, कलिलै उमेरमा विवाह गर्ने चलन, बहुविवाह, छोरा चाहिने परम्परा, अशिक्षा व्याप्त रहेको बताउँछन् । ‘पाँचरछ बच्चा नजन्माउने त विरलै परिवार छन्,’ अहेब नेपालीले भने, ‘पछिल्लो वर्षमा बाल मृत्युदर घटेको छ । फाट्टफुट्ट मृत्यु हुने कुरा त बेग्लै हो ।’ गर्भवतीलाई जोखिम उत्तिकै छ । गत वर्षको वैशाख ८ गते गाउँकै २८ वर्षीया फुल्ट्याग्रा नेपालीको सुत्केरी हुने क्रममा ज्यान गयो । ‘साल नआएपछि स्वास्थ्यकर्मीले तत्काल राम्रो ठाउँमा लैजान भने, तर समयमै लैजान नसकेर उनको मृत्यु भयो,’ रत्नलालले भने ।

०७८ को जनगणनाअनुसार कर्णाली प्रदेशको मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा १७२ जना छ, जुन नेपालको औसत मातृ मृत्युदरभन्दा २१ जना बढी हो । स्वास्थ्य सेवा निर्देशनालयकै वार्षिक प्रतिवेदन ०७८र७९ अनुसार ताँजाकोट गाउँपालिकामा चार पटक गर्भ जाँच गरेका गर्भवती ५२।५ प्रतिशत मात्रै छन् । त्यसमा पनि पहिलो पटक जाँच गर्ने ७२ प्रतिशत रहेकामा चौथो पटक पुग्दा ५२.५ प्रतिशतमा झरेको तथ्यांक छ । अहेब नेपालीका अनुसार नियमित गर्भ जाँच नगर्दा आमा र शिशुको ज्यान जोखिममा हुन्छ । सोही प्रतिवेदनअनुसार हुम्लामा २३ महिनाभित्रका बालबालिकाको वृद्धि अनुगमन न्यून छ । वर्षमा १२ पटक वृद्धि अनुगमन गर्नुपर्नेमा ४.२ पटक मात्रै गरिएको तथ्यांक छ । त्यसमा पनि ताँजाकोटमा एक पटक मात्रै वृद्धि अनुगमन भएको उक्त तथ्यांकले देखाउँछ । वृद्धि अनुगमन गरिएकामध्ये हुम्लामा ७।५ प्रतिशत बालबालिका कुपोषित देखिन्छन् । ताँजाकोटमा भने जिल्लाको अनुपातभन्दा दोब्बर १३।५ प्रतिशत बालबालिका कुपोषित छन् । ताँजाकोटमा ४।५ प्रतिशत बालबालिका जन्मिँदै कम तौल भएका छन् ।

बहुआयामिक गरिबीको सूचकअन्तर्गत जीवनस्तरको तथ्यांकमा पनि हुम्ला पछाडि छ भने ताँजाकोट त झन् धेरै पछाडि । राष्ट्रिय जनगणना ०७८ को तथ्यांकअनुसार हुम्लामा कुल ११ हजार २०४ परिवार संख्या छ । त्यसमध्ये ४ हजार २९३ परिवारमा विद्युत् सुविधा उपलब्ध छ । विकटमा पर्ने ताँजाकोटमा १ हजार १ सय ५८ कुल परिवार संख्या रहेकामा बिजुली सुविधा भएका परिवारको संख्या ४६ मात्र रहेको छ । यस्तै खाना पकाउने इन्धनका रूपमा ताँजाकोटका १ हजार ६९ परिवारले दाउराकै प्रयोग गर्ने गर्छन् । हुम्लामा कुल परिवारमध्ये २२७ परिवारमा वर्ष दिनमा एक जनाको ज्यान गएको उल्लेख छ ।

हुम्लामा रहेको कुल जनसंख्या ५५ हजार ३ सय ८४ जनामध्ये १० वर्ष माथिको उमेर समूहका १२ हजार २ सय ५५ जनाले वर्षभरि कुनै पनि आर्थिक काम गरेका छैनन् । १६ हजार ६ सय ९ जनाले ६ महिनासम्म काम गरेको, ९ हजार १ सय ४९ जनाले ६ महिनाभन्दा कम समय आर्थिक काम गरेको, ४ हजार ५ सय ५३ जनाले तीन महिनाभन्दा कम समय काम गरेको जनगणनाको तथ्यांकमा छ । ताँजाकोटमा ३०।८ प्रतिशत जनसंख्या आर्थिक क्रियाकलापमा निष्क्रिय छ । (इकान्तिपुर)

Translate »