कर्णालीमा १२ हजार क्विन्टल खाद्यान्न मौज्दात
सल्यान । कर्णाली प्रदेशमा सधैँ खाद्यान्नको अभाव हुने गर्दछ । मागभन्दा कम उत्पादन हुँदा कर्णालीवासीले वर्षेनी खाद्यान्नको अभाव झेल्दै आइरहेका छन् । कर्णालीका सल्यान, रुकुम पश्चिम, सुर्खेत र दैलेख बाहेकका अन्य जिल्लामा उत्पादन भएको खाद्यान्नले वर्ष दिनभर खान पुग्दैन । तर यस वर्ष कर्णालीमा खाद्यान्नको अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कर्णालीमा १२ हजार क्विन्टल खाद्यान्न गोदाममा मौज्दात रहेको छ ।
प्रादेशिक कार्यालयका प्रमुख मानव मिश्रका अनुसार हुम्लामा ४ सय, जुम्लामा ८८०, मुगुमा १ हजार ३००, जाजरकोटमा १ हजार २००, कालिकोटमा ४०० दैलेखमा ५००, डोल्पामा ४ हजार र सुर्खेतमा ३ हजार ५ सय क्विन्टल चाममा गोदाममा रहेको उनले बताए। साउन महिनाबाट थप चामल विभिन्न जिल्लामा पठाउने तयारी गरिएको उनको भनाई छ ।
कर्णालीका ६ जिल्लामा अनुदानको चामल ढुवानी गर्दा ८ करोड १४ लाख ५२ हजार लाग्ने गरेको छ । भौगोलिक विकटताका कारण कर्णालीमा खाद्यान्न खरिदभन्दा ढुवानी खर्च बढी हुने गरेको छ ।
कर्णालीका सल्यान, रुकुम पश्चिम, सुर्खेत र दैलेख खाद्यान्नमा आत्मनिर्भर जिल्लाका रुपमा रहेका छन् ।
कर्णालीको सल्यानमा सबैभन्दा धेरै खाद्यान्न मौज्दात हुने गरेको छ । सल्यानमा मात्र वार्षिक १३ हजार ९ सय ९६ मेटिकट्न खाद्यान्न मौज्दात हुँदै आइरहेको छ ।
कर्णालीमा वार्षिक २३ हजार ४ सय २० मेटिकट्न खाद्यान्न अपुग हुँदै आइरहेको छ । रेडियो नेपाल