खामगोईटे बहुउपयोगी योजनाबाट स्थानीय लाभान्वित


मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजार बाट १ घण्टाको पैदल दुरीमा पुगिने छायाँनाथरारा नगरपालिका वडा नं ४ खामगुईटे बालैंमा बहुउपयोगी खानेपानी योजना सम्पन्न भएपछि स्थानीय बासिन्दाहरू उत्साहित भएका छन् । छायाँनाथरारा नगरपालिकाको नगरवासीलाई शुद्ध खानेपानी पुर्याउने नीति अनुसार हालै खामगोईटे गाउँमा रहेका २१ घरधुरीमा एक घर एक धाराको बहुउपयोगी खानेपानी योजना र ४ वटा सिँचाई धारा सम्पन्न भएको हो ।
विगतका दिनमा खानेपानीको ठुलो समस्या बेहोदै आएका खामगुईटे बासीको लागि निकै ठुलो राहत भएको स्थानीय बासिन्दाले बताएका छन् । खानेपानी ल्याउन बालबच्चा सँगै बोकेर टाढा जानु पर्ने बाध्यता थियो तर आज भोली घरमा नै धारा बनेपछि धेरै सजिलो भएको स्थानीय सितला सेजुवालको भनाई छ । उनका अनुसार खानेपानी तथा सिँचाइको लागी पानी नभएकाले आय आर्जनका लागि मौसमे तथा बेमौसमे तरकारी तथा फलफूल खेती गर्न पाएका थिएनौ अब घर आँगनमै खानेपानी तथा सिँचाइको लागि धारा बनेपछि तरकारी खेती गर्ने आफ्नो चाहाना रहेको छ । उत्पादित तरकारी गमगढी बजारमा बिक्री गर्ने छु । गाउँमा आयआर्जन बढाउन र खानेपानीको समस्यालाई हल गर्नको लागि हिरिस्डेको मुगुको सहजीकरणमा यु.यस.आई डी. कर्णाली जल परियोजनाको आर्थिक सहयोग रु २२ लाख ९० हजार ४५, छाँयानाथरारा नगरपालिकाको रु ५ लाख २० हजार ८ सय १४ र खामगोईटे खानेपानी तथा सरसफाई उपभोक्ता समितिको रु ७ लाख २ हजार ७ सय २१ रुपैयाँ बराबरको जनश्रमदान गरी जम्मा ३५ लाख १३ हजार ५ सय ८० रुपैयाँमा खामगोईटे बहुउद्देश्यीय खानेपानी तथा सिँचाई योजना सम्पन्न भएको र यस योजना बाट स्थानीय बासिन्दाको आयआर्जनका बढाउनको लागि पनि उपयोगी भएको हिमाली ग्रामीण युवा समाज हिरिसडेक मुगुका कार्यकारी निर्देशक मिनबहादुर भामले जानकारी दिए ।

सन २०३० सम्म नेपाल सरकारको एक घर एक धाराको अवधारणा अनुसार छायाँनाथ रारा नगरपालिकाले पनि नेपाल सरकारको लक्ष पुरा गर्न आउँदो आर्थिक वर्षमा विभिन्न संघ संस्थासँग समन्वय गरी लागत साझेदारीमा एक घर एक धाराको नीति अनुसार काम गर्ने छाँयानाथरारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले बताए विगतमा काम गरी पैसा नपाउने कुरालाई मध्यनजर गर्दै यस योजनामा काम गर्ने कामदारको खाता, खातामा पैसा जाने व्यवस्था मिलाइएको पनि नगर प्रमुख भामले बताए ।
जिल्ला समन्वय समितिका संयोजक मन्जन बहादुर कार्की, वडा अध्यक्ष परेकराज चौलागाई, लक्ष्मी प्रसाद भाम, एमालेका पार्टी सचिव डबलबहादुर रोकायाले योजनाको संरक्षण, उपयोग र दिगोपनाको लागि स्थानीय उपभोक्ताको जिम्मेवारी हुनुपर्ने र आयआर्जनमा स्थानीय लाग्नु पर्ने कुरामा जोड दिए । (रेडियो नेपाल)

