उत्तरी नाका खोल्न पहल गर !
नेपालको व्यापारिक सम्बन्ध विशेषगरी भारतसँग छ । तर, संघीयतासँगै कर्णालीको समृद्धिका लागि उत्तरी नाकाहरुलाई व्यवस्थित र आधुनिक बनाएर सधैका लागि खोल्न आवश्यक भईसक्यो । चीनको तिब्बतसँग सीमा जोडिएका हुम्ला, मुगु र डोल्पामा तीन वटा नाका विगतदेखिनै सञ्चालनमा थिए । हुम्लाको हिल्सा (यारी), मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिल्ला नाकाबाट व्यापारिक गतिविधि हुँदै आएको थियो । तर, कोरानाभाइरस (कोभिड–१९) पछि विभिन्न कारणले यी नाका नियमित खुल्न सकेका छैनन् । अहिले चीनको समयानुकुल हिल्सा बाहेक मोरिल्ला र नाक्चेनाग्ला बन्द नै छन् । बाँके र बर्दिया जिल्ला लुम्बिनीमा गाभिएपछि भारतसँग कर्णालीको सीमा सम्बन्ध छैन । आफ्नो कुनै आयस्रोतको माध्यम नभएको कर्णालीको समृद्धिको आधार भनेकै उत्तरी नाका हुन् । यद्यपि ! यी नाकाबाट कर्णालीले लाभ लिन सकिरहेको छैन । उत्तरी नाका नखुल्दा मुगु र डोल्पाका स्थानीय चिन्तित बनेका छन् । यो वर्ष पनि ती नाकाहरु खुलाउन राजनीतिक, कुटनीतिक लविङ्ग विना खुल्न सक्ने छाटकाछ छैन् । मुगु र तिब्बतको सिमाना हृयाजिमारमा साउन महिनाको १५ दिन तिब्बती अस्थायी हाटबजार लाग्नु अगावै चीन सरकारले नेपाली जनप्रतिनिधिलाई सीमा क्षेत्रमा बोलाएर व्यापारको विषयमा छलफल गर्ने चलन थियो । तर, यस वर्ष साउन लाग्न थालिसक्यो तिब्बतबाट कुनै जानकारी आएको छैन् ।
उत्तरी नाका नखुल्दा हिमाली जिल्लाका नागरिकलाई महँगीको मार खेप्नु परेको हो । मुलतः नेपालीहरुले घोडा, खच्चर, चौंरी र झोवा लिएर तिब्बतमा खाद्यवस्तु किन्ने र जडिबुटी बेच्ने जाने गर्थे । चार वर्षदेखि मुगुतर्फको तिब्बती नाका सुनसान छ । उत्तरी नाका खुलाउन कर्णाली प्रदेश सरकारले नेपाल सरकार मार्फत पहल गरे नेपालीलाई जडिबुटी बेच्न सहज हुने थियो । कर्णालीका पाखो बारीमा फलेको स्याउ बेच्न नसकेर कुहिएर खेर जान देखिन्छ । चार वर्षअघिसम्म नेपाली व्यापारीहरु यार्सा, कटुकी, भोल्ते, वन लसुन रातो च्याउ, गुच्ची च्याउ बिक्री गर्न तिब्बततिर लैजाने गर्थे भने अहिले नाका बन्द हुँदा नेपालगञ्ज हुँदै भारततर्फ निकासी गर्न बाध्य भएका छन् । सुर्खेत नेपालगञ्जदेखि खाद्यवस्तु खरिद गरी गाउँमा पु¥याउँदासम्म खरिद भन्दा ढुवानी भाडादर दोब्बर हुने र तिब्बतबाट खाद्य वस्तु किनेर ल्याउँदा सस्तो पर्ने गर्दछ । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्तरी नाकालाई प्राथमिकतामा राख्ने बताए पनि वैधानिक रुपमा यी मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिल्ला नाका सञ्चालन हुन सकेका छैनन् । उत्तरी सीमा क्षेत्रका नाका नखुल्दा आर्थिक गतिविधिका साथै दैनिक उपभोग्य सामग्रीसमेत आयात गर्न समस्या छ ।
यद्यपि ! तिब्बतसँग कर्णालीको एकमात्र वैधानिक नाका हिल्सा भएपनि नियमित सञ्चालन नहुँदा व्यापार व्यवसाय सुस्त हुनुका साथै आर्थिक गतिविधि ठप्प छ । हुम्लाबाट काठ, तामा लगायतका थुप्रै सामग्री तिब्बत निर्यात हुने गर्दछ । हिल्सा पर्यटन, व्यापार र रोजगारीका लागि समेत निकै सहज नाका हो । त्यसैले कर्णालीका उत्तरी नाकालाई व्यापारिक नाकाका रुपमा सञ्चालन गरे समग्र कर्णालीको समृद्धिमा टेवा पुग्ने देखिन्छ । यी नाकाले कर्णालीमात्र नभई सु्दूरपश्चिम, लुम्बिनी प्रदेशलाई समेत समेट्ने छ । तीन प्रदेशका लागि सबैभन्दा सहज र सिधा नाका यिनै हुन् । उसो त हिल्सा नाका व्यापारिकभन्दा पनि पर्यटकीय नाकाका रुपमा परिचित छ । किनकि कैलाश मानसरोवर पुग्ने सहज बाटो भनेको हिल्सा नै हो । चीनसँग तातोपानी नाका पछाडी उत्तरतर्फ हिल्सा (यारी) नाका नै सञ्चालनमा आएको हो । १९११ मा बस्तु विनिमय दरका हिसाबले यो नाका खोलेको पाइन्छ । कर्णालीको तिब्बतसँगको आधिकारिक नाकाका रुपमा रहेको हिल्सा मानसरोवर कैलासको ‘गेट वे’ का हिसाबले चिनिन्छ । यो नाकालाई कर्णाली सरकारले व्यावसायिक रुपमा ‘प्रमोट’ गर्न सकेन । सरकारले हिल्सालाई व्यापारिक नाकाका रुपमा विस्तार गर्नुपर्छ । हिजो बस्तु विनिमयका हिसाबले खोलिएको थियो, अब व्यावसायिक रुपमा नाका सञ्चालनका लागि प्रदेश र केन्द्र सरकारले ध्यान दिनुपर्छ । हिल्सा नाका कर्णालीको ‘लाइफलाइन’ हो ।