अझैपनि कर्णालीका ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै
जेठ २०, सुर्खेत । कर्णाली प्रदेशका अझैपनि ९६ प्रतिशत नागरिक दुषित पानी पिउन बाध्य छन् । नेपालमा रहेका ६ सयभन्दा बढी नदीनाला, ताल, कुण्ड, तलाउ, पानीका मुहान मध्ये सबै भन्दा बढी कर्णालीमा भएपनि शुद्ध खानेपानी तथा सरसफाईका क्षेत्रमा राज्यको लगानी कमजोर हुँदा नागरिक दुषित पानी पिउन बाध्य भएका हुन् ।
अझैपनि छ प्रतिशत जनसंख्या आधारभूत खानेपानीको पहुँच बाहिर रहेको बताईएको छ । राज्यको पर्याप्त पहुँच नपुग्दा कर्णालीमा हाल रहेको करिब १७ लाख जनसंख्या मध्ये ८६ प्रतिशत नागरिक आधारभूत खानेपानी मात्र सेवन गरिरहेका छन् । ती मध्ये प्रदेशका तीन प्रतिशत नागरिकमा मात्र शुद्ध खानेपानीको पहुँच पुगेको पाइएको छ ।
प्रदेशका अधिकांस नागरिकले अहिलेपनि खुला पोखरी, खोला, खोल्सा र नदीको दूषित पानी पिउन बाध्य छन् । प्रदेशका ७९ वटै स्थानीय तहमा आधारभूतस्तरको खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएर कर्णाली प्रदेश सरकारले दश वटै जिल्लामा ल्याब स्थापना गरी पानी परीक्षणसमेत भइरहेको जनाएको छ ।
बुधबार सुर्खेतको वीरेन्द्रनगरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा आयोजित कार्यक्रममा १९ सदस्यीय राष्ट्रिय खानेपानी गुणस्तर निगरानी प्रदेश स्तरीय समिति (सर्भिलेन्स) गठन गरिएको विश्व स्वास्थ्य संगठनका नेशनल प्रोफेशनल अफिसर डा. सुदनराज पन्थीले जानकारी दिए ।
उनले स्वास्थ्य सेवा निर्देशनालयको नेतृत्वमा प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश अस्पताल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, प्रदेश जनस्वास्थ्य प्रयोशलाला, स्वास्थ्य सेवा महाशाखा सामाजिक विकास मन्त्रालय, खोपानी सरसफाई महाशाखा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, योजना महाशाखा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेश, खानेपानी वातावरणिय सरसफाई शाखा खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय कर्णाली प्रदेश, राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश, गैरसरकारी महासंघ कर्णाली प्रदेश, प्रदेश स्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल, विश्व स्वास्थ्य संगठन कर्णाली प्रदेश, युनिसेफ कर्णाली प्रदेश, हेल्भिटास कर्णाली प्रदेश, चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा स्वास्थ्य सेवा निर्देशनालय, प्रदेश स्तरीय नगरपालिका महासंघ तथा प्रदेश स्तरीय गाउँपालिका महासंघ सदस्य रहेको समिति गठन गरिएको बताए ।
उनका अनुसार कर्णालीमा सञ्चालित खानेपानी आयोजना व्यवस्थित रुपमा वातावरणीय अनुगमन तथा खानेपानी सुरक्षा योजनाको नक्साङ्कन साथै खानेपानी गुणस्तर निगरानीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि समिति गठन गरिएको हो ।
यता सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको पानी मुहान तथा वितरण प्रक्रियाको स्थलगत निरीक्षण तथा खानेपानीको नमूना जाँच र फिल्ड कार्यक्रमबाट सुर्खेतका उपभोक्ताले हाल कस्तो खालको पानी पिइरहनु भएको छ भन्ने बारे भोली नै थाहा हुने इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स एण्ड रिचर्स सेक्सन प्रमुख डा.अनु शाक्यले जानकारी दिईन् ।
उनले हाल सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वितरण गरिरहेको पानी वितरण प्रक्रिया सन्तोषजनक रहेपनि लगानी बढाएर थुप्रै सुधारका कार्यहरु गर्न आवश्यक रहेको औल्याईन् ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको पानी मुहानको स्थलगत अनुगमनमा पुगेका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधि कोशलचन्द्र सुवेदीले कर्णालीमा आम उपभोक्तासम्म शुद्ध खानेपानी वितरण प्रक्रियाको पहुँच पु¥याउन सुर्खेतबाटै शुरुवात गर्नुपर्नेमा जोड दिए ।
उनले खानेपानीबाट हुने सक्ने रोग नियन्त्रणका लागि अहिलेदेखि नै नीतिगत रुपमै आवश्यक आधारभूत सुधार कार्यहरुको शुभारम्भ गर्न स्थानीय, प्रदेश सरकारले विशेष भूमिका खेल्न अपरिहार्य रहेको औल्याए ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले संघ र प्रदेश सरकारको सहयोगमा विभिन्न समयमा खानेपानी वितरण प्रक्रिया र मुहान संरक्षणका लागि सुधारका कार्यहरु गरिएपनि अझैपनि पर्याप्त हुन नसक्दा भेरी नदीको पानी लिफ्टिङ्ग गर्नुको विकल्प नरहेको जनाए ।
उनले कर्णाली प्रदेशको राजधानी सुर्खेत भएसँगै वर्षेनी बढ्दो जनसंख्यालाई सहज खानेपानीको मागलाई आपूर्ति गर्न दिर्घकालिन समस्या समाधानका लागि संघ र प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको औल्याए ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुद्ध खानेपानीको सहज आपूर्तिका लागि सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले संघ, प्रदेश सरकारसँगै अन्य दातृनिकायसँग सहयोग, समन्वय तथा सुझावको अपेक्षा गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले आम नागरिकले शुद्ध खानेपानी पिईरहेका छन् वा छैनन् भन्ने बारे राज्यका कुनैपनि निकायले चेकजाँचका लागि अनुरोध गरेमा आफ्ना कार्यालयबाट जतिबेला पनि हरसम्भव सहयोग गर्न तयार रहेको जिकिर गरे ।
उनले आम उपभोक्ताको स्वास्थ्यसंग जुडेको खानेपानी जस्तो संवेदनशील विषयमा राज्यका हरेक निकायसँग सहकार्य तथा समन्वय गरेर अघि बढ्ने आफ्नो कार्यालय रहेको जनाए ।