प्रशासनले बजार अनुगमनलाई तीव्रता दिने

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेत चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिने भएको छ । आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको नियमनकारी निकाय र उपभोक्ताकर्मीको बैठकले जिल्लाभर दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा वितरण प्रक्रियालाई सहज एवं सुलभ बनाउन सरोकारवाला निकायलाई जिम्मेवारी तोक्दै बजार अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार बैठकले चाडपर्वमा अत्यावश्यक उपभोग्य वस्तुको व्यवस्थापनका लागि आवश्यकताका आधारमा सुपथ मूल्यमा पसल सञ्चालन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई जिम्मेवारी दिइएको छ । बैठकले चाडपर्व लक्षित प्रभावकारी बजार अनुगमनको दायरा र सघनता बढाउन स्थानीय तहसँग समन्वय तथा सहकार्य गर्ने निर्णय समेत गरेको छ ।

अनुगमनमा किराना, मासु पसल, होटल र अन्य पसल तथा व्यवसायलाई कानूनी दायरमा ल्याउन पसल र व्यवसाय दर्ता भए÷नभएको, साइनवोर्ड राखिएको/नराखिएको, मूल्यसूची भए/नभएको, नापतौल प्रमाणपत्र भए/नभएको जस्ता विभिन्न ११ सूचकलाई आधार मानिने बताइएको छ ।

त्यस्तै खाद्य पदार्थमा जनस्वास्थ्यलाई प्रतिकूल असर पु¥याउने पदार्थ मिसावट, रंग, सुगन्ध जस्ता पक्षलाई पनि नियालिने छ । तरकारी र फलफूलमा प्रयोग गरिने विषादी मापन, नियन्त्रणसँगै विविध वस्तुको कृतिम मूल्य बृद्धि र कालोबजारी नियन्त्रण गर्न समेत बजार अनुगमनलाई तीव्रता दिने प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।

बैठकमा सुर्खेत उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्चसहित ११ वटा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Translate »