दशैँमा नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा दैनिक उडान


नेपालगन्ज । नेपाल एयरलाइन्सले दशैँमा यात्रुको चापलाई ध्यानमा राखेर नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा दैनिक उडान गर्ने भएको छ ।
आगामी मङ्गलबारदेखि केही दिनसम्म हिमाली जिल्लामा दैनिक उडान गर्ने तालिका बनाइएको नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले जानकारी दिए ।
उनले दशैँमा नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा जाने यात्रुहरू तथा त्यहाँबाट नेपालगन्ज लगायतका स्थानमा फर्किनेहरूका लागि दैनिक उडानको योजना बनाएको बताए ।

कार्यालय प्रमुख चौधरीका अनुसार नेपालगन्जबाट कर्णालीका हुम्ला र मुगुमा मङ्गलबारदेखि शनिबारसम्म पाँच दिन नियमित उडान गरिनेछ । त्यसैगरी नेपाल एयरलाइन्सले नेपालगन्जदेखि नै डोल्पा, जुम्ला र बाजुरामा मङ्गलबारदेखि शुक्रवारसम्म चार दिन नियमित उडान गर्नेछ ।
नेपालीहरूको महान् पर्व दसैँ, तिहारमा दुर्गमका जिल्लामा जान यात्रुहरूले दुःख पाउने भएकाले उनीहरूको सहजताका लागि केही दिन हिमाली जिल्लामा नियमित उडान गरिने भएको हो ।
हिमाली जिल्लामा जान यात्रुहरूको चाप बढेपछि दैनिक नियमित उडान राखिएको जनाइएको छ । यी हिमाली जिल्लाहरूमा सडक यातायात भरपर्दो नहुँदा हवाई यातायात नै आवतजावतको मुख्य विकल्पको रूपमा छ । (रेडियो नेपाल)

