२०८३ असोज ८ , बिहीबार
Sky News Nepal
September 24, 2026

पानीका लागि आवाज उठाऔं



नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ अनुसार अझैपनि कर्णालीमा कुल परिवार संख्या मध्ये ३५ प्रतिशत परिवार मात्र धारा पाइप वा घरपरिसरभित्रको खानेपानीको स्रोत प्रयोग गरिरहेका छन् । घरबाहिर रहेका खानेपानी आयोजनालगायतबाट कर्णालीका ४४ प्रतिशत र पानीको मूलधाराको प्रयोग गरिरहेका परिवारको संख्या १३ प्रतिशत रहेको जनगणनाको तथ्यांकले देखाएको छ । प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषित पानी पिउन बाध्य भएको सरकारी तथ्यांक छ । प्रदेशमा ३ प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको छ । सरकारी तथ्याङ्कअनुसार अधिकांश नागरिक शुद्ध खानेपानीको पहुँचबाहिर छन् । कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गतको जलस्रोत महाशाखाका अनुसार कर्णालीमा ८६ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा पुगेका छन् । प्रदेशमा अझै ६ प्रतिशत जनसंख्या आधारभूत खानेपानीको पहुँचमा छैन ।

कर्णाली प्रदेशमा अझै पनि ४ हजार २ सय ७६ अर्थात् १ दशमलव २ प्रतिशत परिवारले खानेपानीका लागि खोलानालाकै भर पर्नुपर्ने बाध्यता छ । तर स्थानीय, प्रदेश र संघ सरकारसँगै गैरसरकारी देशी विदेश संस्थाहरुले कर्णालीका नागरिकलाई वर्षेनी शुद्ध पानीको पहुँच पु¥याउने भन्दै लाखौं रकम खर्च गरिरहेका छन् । आखिर त्यो रकम कर्णालीका आम नागरिकलाई शुद्ध पानीको पहुँच पु¥याउने नामका कहाँ पुगिरहेको छ । यसको खोजी निधि गर्न अब आवश्यक भईसकेको छ । भौगोलिक रुपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भएपनि सही सदुपयोग हुन नसक्दा आधारभूत खानेपानीको पहुँच आम नागरिकसम्म पुग्न नसकेको हो । अझैपनि नागरिकलाई शुद्ध पिउने पानीको पहुँच पु¥याउन नसकिरहेको तथ्यांक वास्तवमा चिन्ताजनक छ ।

विभिन्न वर्षको बजेट मार्फत पिउने पानीको पहुँच पु¥याउनका लागि लाखौं रकम विनियोजन भईरहने गरेको छ । तर, नागरिकले भने अझैपनि शुद्ध पानी नपाउने अवस्थाको अन्त्य कहिले सम्म हुन्छ भन्ने कुरा सरकारहरुलाई नै थाहा छैन् । गरिवी, अभाव र वेरोजगारी थला परेको कर्णालीमा विकास गर्ने होइन की, खाने भन्ने चलनको अन्त्य नभएसम्म यहाँका शुद्ध खानेपानीको नागरिकसम्म पुग्नेवाला छैन् । खानेपानी पु¥याउने नाममा भईरहने भ्रष्टाचार र्निमूल नभएसम्म नागरिकले दुःख पाईरहने छन् । त्यसैले विकासमा हुने भ्रष्टाचार रोक्न सबै तह र तप्का जुट्न आवश्यक छ । सबैथोक सरकारले मात्र गरिदेला भन्ने नागरिक चेतना बद्ल्न समेत अब जरुरी भईसकेको छ । विकास भ्रष्टाचार रोक्न आम नागरिक सचेत र जागरुक मात्र होइन, भ्रष्टाचार विरुद्ध आवाज समेत उठाउन जरुरी देखिन्छ ।

प्रकाशित मिति : २०८० कात्तिक १२ गते आइतबार
Translate »