पर्यटन पूर्वाधारमा ढिलाई किन ?

कर्णाली अनुपम प्राकृतिक सांस्कृतिक तथा सम्पदाको धनी मानिन्छ । विभित्र जातजाति, धर्म, भाषा, साहित्य, कला संस्कृति रहनसहनकोे सङ्गमस्थल कर्णाली कला, संस्कृति एवम् धार्मिक सद्भावका लागि एक उदाहरणीय प्रदेशका रुपमा लिइन्छ । कर्णाली संस्कृति र सभ्यताको प्रवद्र्धन गरी पर्यटन क्षेत्रको विकास तथा साँस्कृतिक क्षेत्रको संरक्षण गर्न सकिने प्रशस्त सम्भावना एकातिर रहेको छ भने अर्कातिर पर्यटन उद्योगको विस्तारबाट राष्ट्रलाई विदेशी मुद्रा आर्जन, रोजगारी वृद्धि, गरिबी न्यूनिकरण र समग्र आर्थिक समुत्रतिका साथै आर्थिक क्षेत्रमा आशा लाग्दो छलाङ्ग मार्न समेत महत्वपूर्ण टेवा पुग्ने देखिन्छ । पर्यटन विकासकै माध्यमबाट देशमा सन्तुलित एवम् समावेशी विकास हासिल हुनसक्ने र यसबाट कर्णालीजस्ता पछाडि पारिएका क्षेत्रमा गरिबी न्यूनीकरणमा यथेष्ट योगदान पु¥याउन सकिने सम्भावना रहेको विज्ञहरुको ठहर छ । पर्यटन सम्पदाको दृष्टिले पर्याप्त सम्भावनाले भरिपूर्ण हुँदाहुँदैपनि यहाँ पर्यटन पूर्वाधारका योजनाहरु अघि बढ सकेका छैनन् । तीन तहका सरकारको प्राथमिकतामा पूर्वाधार विकास निर्माणका योजना धमाधम अगाडि सारेपनि सोचेजस्तो प्रगति देखिदैन् । ती सरकारहरुले आवश्यकता र प्राथमिकीकरण गर्न नसक्दा योजनाको कार्यान्वयन निकै कमजोर देखिएको हो ।

रारा–मुर्माटप केबलकारको योजना संघीय र प्रदेश सरकारको प्राथमिकतामा परेपनि व्यवहारमा प्रगति शून्य छ । कर्णालीको पर्यटन प्रवर्धन, आवागमन र आर्थिक विकासका गतिविधिलाई टेवा पुग्ने उद्देश्यले सरकारले रारा–मुर्माटप केबलकारको योजना बनाएको थियो । प्रदेशकै डोल्पामा अवस्थित शे–फोक्सुण्डो सडक सञ्जालसँग जोडिएको छैन । यहाँ पुग्ने पर्यटकका लागि सहज खान बस्ने होटेलसमेत पाउन मुस्किल छ । पर्यटकविहीन यो तालसम्म सडक नजोडिनु नै पर्यटक नआउनुको प्रमुख कारण हो । प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर आसपासकै काँक्रेविहारमा पनि उल्लेख्य पर्यटक आउन सकेका छैनन् । सात वर्षदेखि लाटिकोइली जाने पक्की बाटो समेत बन्न सकेको छैन् । जुम्लामा रहेका दुई हिमाल पातारासी अर्को काञ्जिरोवा हिमाल आरोहण गर्न पर्यटक लालयित छन् । तर हिमालको वेश क्याम्पसम्म जानेबाटो नहुँदा कयौं पर्यटक यहाँसम्म पुग्न सक्दैनन् । पर्यटकीय सम्भावना हुँदाहुँदै पनि पूर्वाधार अभाव हुँदा कतिपय ऐतिहासिक स्थल समेत ओझेलमा परेका छन् । एक सय नयाँ पर्यटकीय गन्तव्यमा कर्णालीका २१ वटा पर्यटकीय क्षेत्र समावेश छन् । सामान्य सडक पहुँच पुगेका केही पर्यटकीय क्षेत्रहरुको पूर्वाधार जीर्ण छ ।
जुम्लाका चन्दननाथ मन्दिर, गुठीचौर, पातारासी र सिंजा भ्याली सभ्यता अन्तर्राष्ट्रिय महत्वका पर्यटकीय क्षेत्रका रुपमा समेटिएका छन् । तर, यी गन्तव्यसम्म पुग्न कुनै पूर्वाधार छैन् । उचित संरक्षण र प्रचार प्रसार अभावले समेत कर्णालीमा पर्यटक भित्रिन नसक्नु अर्को एक कारण हो । परम्परागत सांस्कृतिक, आर्थिक, सामाजिक संस्कार हुँदाहुँदैपनि राज्यको पर्याप्त ध्यान पुग्न नसक्नु र भ्रष्टाचारले छियाँ–छियाँ पारिनुले पर्यटन पूर्वाधारका काम अघि बढ्न सकेनन् । कर्णाली प्रदेश सरकारले नै अघि सारेका कतिपय पर्यटन पूर्वाधार योजना कार्यान्वयनमा आउन सकेका छैनन् । भएकै योजना कार्यान्वयन गरी नसक्दै अर्को विकल्प थप्दै जाने, कुनै योजना पूरा नहुनाले सरकारले अघि सारेका कार्यक्रम अधुरा बनेका हुन् । पर्यटन प्रवर्धनका लागि कम योजना बन्नु, प्राथमिकीकरण नुहुनु, लगानीको व्यवस्था नहुनु, हचुवाको भरमा योजना बनाउँदा यी योजना कार्यान्वयनमा समस्या देखिएको हो । आवश्यकता पहिचान गर्न नसक्दा पर्यटन पूर्वाधारका योजना अन्योलमा छन । अब स्थानीय र प्रदेश सरकारले आवश्यकतामा आधारित गुरुयोजनासहितका पर्यटन पूर्वाधारका योजनाहरु बनाउनु पर्छ । पूर्ववर्ति सरकारहरुले अघि बढाएका अधुरा तर, महत्वपूर्ण योजनालाई मूर्तरुप दिन तर्फ जोडदार प्रयास अघि बढाउन कञ्जुसाई गर्नु हुँदैन् ।