सुर्खेतका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरिँदै

सुर्खेत ।  सुर्खेतमा खाद्य स्वच्छताको आधारमा होटल तथा रेष्टुरेन्टको मूल्यांकन गरी वर्गीकरण गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा होटल तथा रेष्टुरेन्टको मूल्यांकन गरी वर्गीकरण गर्ने तयारी पुरा भएको जानकारी दिएको हो ।

होटल तथा रेष्टुरेन्टको स्तरीकरण मूल्यांकनका लागि जिल्ला स्थित सरोकारवाला सम्मिलित खाद्य स्वच्छता समिति समेत गठन गरिएको छ ।

समितिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत, उपभोक्ता अधिकारकर्मी, प्रहरी प्रशासनबाट खटाइएका प्रतिनिधि, स्थानीय तह, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि लगायत ७ सदस्यीय समिति रहेको छ ।

समितिले खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा भएको व्यवस्थाअनुसार ५० वटा सूचकको आधारमा होटल तथा रेष्टुरेन्टको स्तरीकरण मूल्यांकन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख भेषबहादुर थापाले बताए ।

‘बाहिर आकर्षक देखिएको होटलको भान्छामा समस्या हुन सक्छ । त्यसका लागि थाल कचौरा मात्रै मापदण्ड अनुसार धुने हो भने फुड पोइजनको समस्या धेरै हदसम्म हट्छ । पानीको कारण पनि समस्या छ,’ उनले भने, ‘यस्ता विषयमा सञ्चालकले ध्यान दिनुपर्छ । यसले एकातिर सेवा स्तरीय हुन्छ भने अर्कोतिर मूल्यांकनमा राम्रो नम्बर आउँछ ।’

मूल्यांकन टोलीले पहिलोपटक मापदण्ड पालना गर्न आग्रह गर्ने, सुधार्न भन्ने, पालना गरेको खण्डमा स्तर बढाउने तर अटेरी गरेको खण्डमा कारबाही गर्न सक्ने उनको भनाई छ ।

उनले स्तरीकरण मूल्यांकनपछि लोगो टाँस गर्नुका साथै प्रमाणपत्र प्रदान गरिने जनाए । उनका अनुसार होटल स्तरीकरण लोगो तथा प्रमाणपत्रको समयावधि १ वर्षको हुनेछ ।


प्रत्येक होटल, रेष्टुरेण्ट व्यवसायीले आफूले प्राप्त गरेको प्रमाणपत्र नवीकरणको लागि म्याद समाप्त भएको ३ महिनाभित्र सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ ।

एउटा सूचकलाई २ नम्बर दिएर मूल्यांकन गर्दा ९० भन्दा माथि अंक ल्याउने होटल  अतिउत्तम (३ वटा स्टार सहितको हरियो लोगो ) ८० देखि ८९ नम्बर ल्याउने उत्तम (२ स्टार सहितको हरियो लोगो), ६५ देखि ८९ सम्म सन्तोषजनक (१ स्टार सहित हरियो लोगो ) ५० देखि ६४ सम्म अंक ल्याउने सामान्य (पहेंलो लोगो) टाँसिने खाद्य निरीक्षक पदम बरालले जानकारी दिए ।

उनले भने, ‘निर्देशिका वमोजिम ५० भन्दा कम अंक प्राप्त गर्ने होटल तथा रेष्टुरेन्ट सूचकांक भित्र नपर्ने नहुँदा स्तरीकरणमा समावेश हुन सक्दैनन् ।’

होटल सञ्चालकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन, खानेकुरालाई राम्ररी पकाएर सुरक्षित तापक्रममा राख्न, काँचो र पकाएको खानेकुरा छु्ट्टाछुट्टै राख्न, स्वच्छ पानी र कच्चा पदार्थको प्रयोग गर्ने, खाना पकाउने, भण्डारण गर्ने र खुवाउने ठाउँ सफा राख्ने लगयतका १२ बुँदे लिखित प्रतिबद्धता जनाउन लगाइने बरालले बताए ।

उनका अनुसार खाद्य स्वच्छताको आधारमा गत वर्ष सुर्खेतका २९ वटा होटल तथा रेष्टुरेन्टको मूल्यांकन गरिएकोमा २२ वटा मात्र स्तरीकरणमा परेका थिए ।

होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सचिव जनकसिंह ठकुरीले होटल तथा रेष्टुरेन्ट स्वच्छ सफा राख्ने दायित्व व्यवसायीको भएपनि पालिकाहरुले  सरसफाई कर लिएर पनि फोहोर नउठाई दिँदा समस्या हुने गरेको बताए । उनले आर्थिक मन्दीको मारमा परेका होटल तथा रेष्टुरेन्ट व्यवसायीका समस्या प्रति तीनै तहका सरकारले अभिभावत्क ग्रहण गर्न आग्रह गरे ।

Translate »