सोंच बद्लौं, कर्णाली बद्लिन्छ !
सोंच बद्लौं, कर्णाली बद्लिन्छ !
विकासको हिसाबले पछि परेको कर्णालीको कथा सिंह दरवारले सुन्दैन । शिक्षा स्वास्थ्य र बिद्युतबाट निकै पिछडिएको कर्णाली प्रदेशले समृद्धिका लागि अझै धेरे समस्याहरुको साम्ना गर्नुपर्ने छ । केन्द्र सरकारबाट टाढा रहेको प्रदेश सरकारलाई घर आगनमै स्थापना भएको देख्दा निकै खुसी भएका नागरिक अपेक्षा अनुरुप सेवा पाउन नसक्दा निरास छन् । २१ औं शताब्दीले जस्तोसुकै गाथा गाएपनि कर्णालीका विकट बस्तीहरुमा देखिएको खानेपानी र सरसफाइको अभाव, अशिक्षा गरिबी, भोकमरी, छुवाछुत तथा छाउपडी जस्ता सामाजिक कुसंस्कारले त्यहीं माथि नराम्ररी सताएको छ । तपाई–हामी आफै विचार गर्न सक्छौं कर्णालीको हालत कस्तो छ भनेर ? जबकि पिउने पानी त पाउँदैन भने कर्णालीले त्यस्तो ठाउँमा रोग फैलिँदा कतिको ज्यान, धन जाने हो त्यो त कल्पना भन्दा परेको चीज हो । कर्णाली अहिलेपनि गरिवीको रेड जोन मै छ । दिनहुँ खान, लाउन नपाएर कालापहाड (भारत) जाने लर्को रोकिएको छैन् । भूगोलले कर्णालीलाई यसै विकट बनाएको छ । त्यसमाथि राज्यको नजर परेको छैन । मुलुकका हकमा कर्णालीको नागरिक हुनुकै दुःख अनेक छन् । त्यसमाथि महिला हुनुका कष्ट अति छन् ।
यातायातका साधन छैनन् । भएका बाटाघाटा भरपर्दा छैनन् । गाडी गुड्ने भनेका सडक पनि मात्रै भर्खरभर्खर खनिखोस्रिएका मात्रै छन् । शिक्षा र स्वास्थ्यको पहुँच दुर्लभ छ । सामान्य ज्वरोखोकीकै उपचार मुस्किल हुने यो ठाउँमा गर्भवती र सुत्केरीका लागि भरपर्दा स्वास्थ्यसंस्था गाउँघरतिर खोलिएकै छैनन् । त्यसैले त सुत्केरी हुन नसकेर बर्सेनि दर्जनौं महिलाले ज्यान गुमाउँछन् कर्णालीमा । गएका पाँच वर्षमा मात्रै कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ९० जना गर्भवती, सुत्केरीले ज्यान गुमाए । बच्चा जन्माउन नसक्नु र जन्माइसके पनि अत्यधिक रक्तस्रावका कारण ती महिलाको मृत्यु भएको हो । घरमै बच्चा जन्माउनुपर्ने बाध्यता र कतिपयको अचेतना पनि त्यसको कारण हो । प्रसूति व्यथा लाग्यो र स्वास्थ्य संस्था लैजान प¥यो भने पनि त्यस्ता संस्थामा उपकरण र मानव संसाधन हुँदैनन् । कतिपयले बाटोमै ज्यान गुमाउँछन् । स्वास्थ्यसंस्थामा सुत्केरी हुनेलाई सरकारले प्रोत्साहन पनि दिन्छ । तर, पहिलो त त्यस्ता संस्था साधनस्रोत सम्पन्न हुनुप¥यो र अर्काे सचेतना पनि फैलाउनुप¥यो । दुवै कुरामा सरकार या राज्य चुकेको छ । यस्ता संवेदनशील विषयमा स्थानीय सरकार नै बढी तात्दा मातृमृत्युदर कम हुन सक्थ्यो ।
कर्णालीसहित दुर्गम क्षेत्रलाई लक्ष्य गरी संघ सरकारले सुत्केरी वा जोखिमका गर्भवतीलाई हेलिकोप्टरबाट निःशुल्क उद्दार गर्ने कार्यक्रम पनि नचलाएको होइन । त्यही कार्यक्रमले दर्जनौंको ज्यान जोगाएको पनि छ । त्यति मात्रै उपाय पर्याप्त भएन भन्ने चाहिं तथ्यांकले नै देखाउँछ । सरकारले समृद्धि र सुखको नारा घन्काइरहँदा सुत्केरी हुन नसकेर महिलाको ज्यान जानु भनेको लाजमर्दो कुरा हो । महिलाको ज्यान जोगाउने स्वास्थ्यका कार्यक्रम र अभियान चलाएर कर्णालीका मात्रै होइन, देशको कुनै पनि कुना कन्दराका महिलाको ज्यान बचाउनु राज्यको दायित्व हो । मातृमृत्यु दर शिशु मृत्युदर कम नगराइकन केवल सडक, बिजुली, खानेपानीजस्ता पूर्वाधारमात्रै विकास ठान्नु ठूलो भूल हो । मान्छे बाँचे पो अरु केही गर्न सकिन्छ । सरकारले पहिलो प्राथमिकता दिने भनेकै मान्छेको ज्यान जोगाउने कार्य हो । अनि मात्र विकास निर्माणका अन्य काम गर्नुपर्छ । त्यसैले मानव संसाधनको विकासले नै भौतिक संसाधनको विकास हुन्छ भन्ने कुरा सरकारमा बसेकाले बुझ्ना जरुरी छ । आज कर्णाली प्राकृतिक साधनस्रोतसँगै सांस्कृतिरुपमा धनी हुँदा हुँदैपनि भौतिकरुपमा किन गरिब भईरहेको छ भन्ने कुरा बुझ्न जरुरी छ । कर्णालीको विकासका लागि मान्छेको सोंच उकास्नेका खालका कार्यक्रम तथा योजनाहरु सञ्चालन गरिनु पर्छ । मान्छेको सोंच बद्लेपछि कर्णाली आफै बद्लिन्छ ।