रैथाने बाली उत्पादनमा जुटौं

रैथाने बालीलाई हाम्रो खाद्य तथा कृषि प्रणालीमा मूलप्रवाहीकरण गर्न सके दिगो खाद्य पोषण सुरक्षा कायम गर्न सकिन्छ । ग्रामीण नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत रैथाने बालीले टेवा पुग्ने देखिन्छ । घरेलु उत्पादन माग धान्न अपर्याप्त हुँदा पछिल्ला वर्षमा प्रमुख खाद्यान्नको आयात उच्च दरमा वृद्धि हुँदै गइरहेको छ । आयातको अधिकांश हिस्सा छिमेकी देश भारतको रहने गरेको छ । भारतको पछिल्लो नीति नेपाल–भारत बीचको वाणिज्य तथा पारवहन सन्धि अनुकूल देखिंदैन । धान र गैर बासमती चामल निर्यात करको हकमा भने आन्तरिक बजारमा भएको मूल्य वृद्धि र कमजोर मनसुनी वर्षाको कारण धान उत्पादनमा कमि आएको छ । यता कतिपय अर्थशास्त्री एवं कृषि विज्ञहरुले यसलाई आन्तरिक उत्पादन वृद्धि गरी आत्मनिर्भरता हासिल गर्ने अवसरको रुपमा पनि लिनुपर्ने मत व्यक्त गरिरहेका छन् । अर्कोतर्फ, कृषि उत्पादन प्रणालीको लागि एक गम्भीर समस्याको रुपमा देखा परिरहेको जलवायु परिवर्तनको कारण आगामी दिनहरूमा धान, मकै र गहुँलगायतका बालीहरूको उत्पादन घट्न सक्ने प्रक्षेपण विभिन्न अध्ययनले देखिन्छ । त्यसैले स्वदेशी माटो एवं हावापानी अनुकूलका अन्य बालीहरूको खेती विस्तार गरी आन्तरिक उत्पादन बढाउनु नै उत्तम विकल्प हुने देखिन्छ ।


हाम्रै रैथाने एवं स्थानीय बालीहरुको उत्पादन एवं उपभोगमा वृद्धि गर्नु यस दिशामा एक व्यावहारिक रणनीति हुनसक्छ । रैथाने बाली स्थानीय समुदायले परम्परागत रुपमा खेती गर्दै र संरक्षण गर्दै आएका बालीहरू हुन् । यी त्यस्ता बालीहरू हुन् जुन आधुनिक खेती पद्धतिमा आधारित प्रचलित बाली प्रणालीमा कम समावेश भएका हुन्छन् । तिनको बहुआयामिक फाइदा र उपयोगबारे खोज एवं अनुसन्धानलाई पनि कम प्राथमिकता दिइएका कारण ती बाली एवं तिनका जातहरू लोप हुने खतरामा पुगेका हुन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीमा झण्डै १९ हजार १ सय ४४ हेक्टरमा मात्र रैथाने बाली उत्पादन हुन्छ । त्यसैले व्याप्त कुपोषण र बढ्दो नसर्ने रोग कम गर्न पनि रैथाने बालीहरू उपयोगी हुन सक्छन् । शरीरको लागि आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, आइरन र अन्य खनिज पदार्थको राम्रो स्रोत भएको हुनाले रैथाने बालीका उत्पादन बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिहरूको स्वास्थ्य तथा पोषणको लागि महत्वपूर्ण छन् । यिनमा पाइने सूक्ष्म पोषक तत्व एवं फाइबर आदि पाचन प्रणालीमा सुधार; मुटुको स्वास्थ्य, मधुमेह, उच्च रक्तचाप र शारीरिक तौल व्यवस्थापनको साथै तनाव व्यवस्थापन र मानसिक स्वास्थ्यको लागि समेत उपयोगी हुने पाइएको छ । रैथाने बालीहरू पौष्टिकताले भरपुर हुने भएकोले न्यूट्रि सिरयल, सुपर फूड लगायतको नामबाट समेत चिनिन्छन् । करिब १६ लाख जनसंख्या रहेकोे कर्णालीमा वार्षिक २५ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा ३ लाख ५२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा ३ लाख २६ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा उत्पादन हुने रैथाने बाली खरिद गर्ने तयारी शुरु गरेको छ । कम्पनीले झण्डै १९ हजार ४ सय ६४ मेट्रिक टन खरिदका लागि कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्झौता गरेको हो । कम्पनीले रैथाने बालीको संकलन, प्रशोधन र बजारीकरणका लागि प्रशोधन केन्द्र (मिल) समेत स्थापना गर्नेछ । त्यसमा ८ हजार ६ सय ६० टन कोदो, ३ सय ३८ टन कागुनो, ६ सय ८७ टन चिनो, २ मेट्रिक टन जुनेलो, ७ सय ६२ टन फापर, ६ सय १९ टन उवा, ४ हजार ४ सय ७० टन सिमी र ३ हजार ८ सय टन मार्सीधान खरिद गरिने छ । यद्यपि ! कम्पनीले पछिल्लो ५ वर्षदेखि विभिन्न स्केलमा विभिन्न जिल्लाबाट कर्णालीको रैथाने उत्पादन खरिद गर्दै आईरहेको छ । उसो त निजी कम्पनी र सहकारीहरुले समेत देशका ठूला सहर र विदेशसम्म कर्णालीको रैथाने बाली पठाइरहेका छन् ।  पछिल्लो समय रैथाने बालीहरूप्रति विश्वव्यापी रूपमा चासो र आकर्षण बढ्दै गएको पाइन्छ । धान, चामललगायत खाद्यान्नको आयात घटाउन रैथाने बालीको महत्वपूर्ण भूमिका हुनसक्ने देखिन्छ । नेपालको माटो र हावापानीको अलावा विद्यमान खेती प्रणाली एवं सामाजिक तथा आर्थिक अवस्था रैथाने बालीको खेतीको लागि उपयुक्त छन् ।

Translate »