‘रोजगार रणनीति’ बनाउँदै सिम्ता गाउँपालिका

गोविन्द खत्री/सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाले स्थानीय स्तरमै रोजगारी सिर्जन गर्न ‘रोजगार रणनीति’ निर्माण गर्न लागेको छ । गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले सिम्तावासीहरुलाई रोजगारीमा जोड्नका लागि चालु आर्थिक वर्षभित्रमै ‘रोजगार रणनीति’ निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार आयोजित गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि युवाहरुले रोजगारीका लागि गाउँपालिकाको नीति बारे प्रश्न गरेपछि अध्यक्ष चन्दले त्यसको जवाफमा तत्कालै रोजगार रणनीति निर्माण कार्य अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । अध्यक्ष चन्दले फागुन ४ गते बस्ने कार्यपालिका बैठकमा रणनीति निर्माणका बारेमा एजेण्ड समावेश गर्न विद्यायन समितिलाई निर्देशन समेत दिएका छन् ।
उनले आगामी वर्षदेखि गाउँपालिकाबाट सञ्चालन गरिने विकास निर्माणका काममा स्थानीयलाई रोजगारी दिनेगरी योजना बनाउने बताए । विदेशबाट फर्किएका युवाहरुलाई त्यहाँ सिकेको सीप प्रयोगगरी व्यवसाय सुरु गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको उनको भनाइ थियो ।

सहभागिहरुले उठाएका सवालका आधारमा सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न पाँच बुँदे प्रतिबद्धता गरिएको छन् । चालु आर्थिक वर्षभित्रै ‘रोजगार रणनीति’ निर्माण गर्ने, गौशाला व्यवस्थित गर्ने, सबै वडा कार्यालयमा नागरिक वडापत्रको व्यवस्था गर्ने, बाल विकास केन्द्रहरुको रेखांकनगरी पुनः वितरण गर्ने तथा महिला स्वास्थ्य स्वंसेविका र आमा समूहका लागि प्रोत्सहानमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गाउँपालिकाले गरेको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मीले गुणस्तरीय विकासका लागि सबै नागरिक जिम्मेवार हुनुपर्नेमा जोड दिईन् । उनले गाउँपालिका भित्र सञ्चालन हुने विकास निर्माण कार्यहरु आफ्नै लागि हुन भन्ने हेतुले सही तरिकाबाट निर्माण र प्रयोग गर्नुपर्ने सुझाईन् । प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले सिम्ता गाउँपालिकालाई डिजिटल प्रविधिमैत्री, छिटोछरितो सेवा र सुशासनयुक्त बनाउनका लागि अहोरात्र लागिरहेको बताए ।
उनले गाउँपालिकाले लिएका लक्ष्य उद्देश्य पूरा गर्नका लागि कर्मचारी, जनप्रतिनिधि र सेवाग्राही नागरिक सबै आ–आफ्नो ठाउँबाट लाग्न आग्रह गरे । कार्यक्रममा सहभागीहरुले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने, कृषि र पशु प्राविधिक सेवा प्रभावकारी बनाउनुपर्ने, तरकारी संकलन केन्द्र सञ्चालन गर्नुपर्ने, गौशालालाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने, विद्युतीकरण गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने लगायतका विषयमा जिज्ञासा एवं सुझाव राखेका थिए ।