के भन्छन् जुम्लामा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी ? [भिडियो]

काठमाडौं । जुम्ला सदरमुकाम खलंगामा टाढैबाट ठूला भव्य भवनहरु देखिन्छ। हल्का निलो र घ्यू रङका भव्य भवन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हो। प्रतिष्ठान परिसरमा भर्खरै ६ तले नयाँ भवन बनेको छ। भवनका केही प्राविधिक काम बाहेक सम्पूर्ण संरचना लगभग तयार भइसकेको छ।

फागुनको तेस्रो साता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्यखबरको टोली पुग्दा भर्खरै निर्माण सम्पन्न भएर औपचारिक उद्घाटनको पर्खाइमा रहेको उक्त भवनमा बाक्लै चहलपहल थियो। भवनमा सेतो एप्रोन लगाएका चिकित्सक तथा स्वास्थ्यकर्मीभन्दा पनि कालो कोट, कालै पाइन्ट र सेतो सर्ट लगाएका विद्यार्थीहरु बढी थिए। विद्यार्थीहरु कोही तल त कोही माथि गइरहेका देखिन्थे ।

प्रतिष्ठानले नयाँ भवनको पाँचौ तलामा भर्खरै भर्ना भएका एमबीबीएस पहिलो वर्षका विद्यार्थीहरुको कक्षाको व्यवस्था गरेको रहेछ। त्यही भएर विद्यार्थीहरुको चहलपहल नयाँ कक्षाकोठा तर्फ बढी देखिएको थियो। प्रतिष्ठानले यो वर्ष एमबीबीएसका लागि ५० जनाको सिट पाएको छ ।

सोही क्रममा स्वास्थ्यखबरले भारतबाट एमबीबीएस अध्ययनका लागि प्रतिष्ठानमा भर्ना भएका तीन जना विद्यार्थी समेत भेटेको छ । भेटका क्रममा उनीहरुले नेपाल राम्रो लागेको र यहाँका मानिसहरु निकै सहयोगी रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिष्ठानमा भारतबाट एमबीबीएस अध्ययनका लागि दुई जना छात्रा र एक जना छात्र भर्ना भएका छन् । भारतको जम्मु कश्मिरकी साक्षी गुप्ता, मध्येप्रदेशकी कस्तुरी सिंह र प्रयागराव उत्तरप्रदेशका कार्तिके मिश्रले एमबीबीएस अध्ययन सुरु गरिसकेका छन् । उनीहरु तीनै जनाले जुम्लामा पढ्न पाउँदा निकै खुसी लागेको बताए।

जम्मुकी साक्षीले भारतको चिसो स्थानबाट आफू आए पनि जुम्लामा जुस्तो हिँउको धेरै अनुभव जम्मुमा नभोगेको प्रतिक्रिया दिइन्। ‘हाम्रो र यहाँको धेरैजसो वातावरण त उस्तै हो। तर हिँउको अनुभव भने त्यति धेरै थिएन । यहाँ पढ्न पाउँदा एकदम राम्रो लागिरहेछ। कलेज पनि एकदम राम्रो छ। यहाँका मानिसहरु पनि निकै सहयोगी हुनुहुन्छ। नेपाली साथी पनि बनाइसकेँ।’

साक्षी गुप्ताले नेपालमा राम्रो पढाइ हुन्छ भन्ने सुनेर नै आफू नेपालमा पढ्न आएको बताइन् । ‘यहाँको पढाइ गुणस्तरीइ छ भन्ने सुनेको थिएँ । त्यही भएर आएको हुँ,’उनले भनिन् ।

उत्तरप्रदेशका कार्तिकेले पनि जुम्लामा राम्रो पढाइ भइरहेको प्रतिक्रिया दिए। ‘पढाइ त भर्खरै सुरु हुँदै छ। तर हामीले सुरुमै राम्रो छ भन्ने अनुभव लिइसकेका छौं । यहाँ पनि भारतको जस्तै गुणस्तर छ,’ उनले भने ।

प्रतिष्ठानले एमबीबीएसमा पहिलो वर्ष २० जनाको कोटा पाएको थियो । त्यसपछिका दुई वर्षमा क्रमशस् ३०र३० जनाको कोटा पाएको प्रतिष्ठानले यो वर्ष ५० जनाको कोटा पाएको हो ।

प्रतिष्ठानमा एमबीबीएससहित स्नातक र स्नातकोत्तर गरी विभिन्न १३ वटा शैक्षिक कार्यक्रम चलिरहेको छ। स्कुल अफ मेडिसिन, स्कुल अफ फार्मेसी र स्कुल अफ् पब्लिक हेल्थमा स्नातकदेखि स्नातकोत्तरसम्मका कार्यक्रम सञ्चालनमा छन् । स्कुल अफ नर्सिङमा भने स्नातक तहको कार्यक्रम मात्र सञ्चालनमा छ । (स्वास्थ्य खबर)

Translate »