सडक असुरक्षाको चिन्ता

कर्णालीमा साना–ठूला सवारीसाधन दुर्घटना नियमित नियतिजस्तै बनेको छ । कुनै गाडी दुर्घटनामा परेको, त्यसमा कोही घाइते वा मृत्यु भएको खबर हरेक दिनजसो आइरहेको हुन्छ । कर्णाली राजमार्ग बनेको लामो समय भईसक्दा समेत स्तरोन्नती हुन सकेको छैन् । बेला–बेला सडक मर्मत तथा सुधारका नाममा गरिने टालटुले विकासले दिर्घकालिनरुपमा फाइदा भन्दा घाटा बढी हुने गरेको पाईएको छ । कर्णाली राजमार्ग जस्तै छिन्चु–जाजरकोट सडकखण्डको पनि हालत उस्तै छ । यता सुर्खेत–दैलेख सडकखण्डको अवस्थामा पनि खासै सुधार आउन सकेको छैन् । कोहलपुर–सुर्खेत सडकखण्डको तुलनात्मकरुपले जेनतेन ठिकठिकै देखिएपनि समय सापेक्ष सुधारको धेरै खाँचो मात्र होइन आजको आवश्यता हो । सरकारहरुले कर्णालीका लाईफलाइन सडकप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । किनभने अब पनि सडकहरुको सुधार नगरे कहिले गर्ने ? हरेक वर्ष कमजोर र पुराना जीर्ण सडकले सहजता भन्दा दुःख बढी दिईरहेका छन् । अधिकांश सवारी दुर्घटना मानवीय कमजोरीबाटै हुन्छ । क्षमताभन्दा धेरै यात्रु चढाउने, तीव्र गतिमा चलाउने प्रवृत्ति र कमजोर सडक सुरक्षा प्रणाली सवारी दुर्घटनाका मुख्य कारण हुन् ।

धेरै दुर्घटनामा चालकको हेलचेक्र्याइँ मुख्य जिम्मेवार देखिन्छ । यात्रु बटुल्ने होडमा अगाडिका गाडीलाई ओभरटेक गर्न खोज्दा पनि थुप्रै दुर्घटना भएका छन् । क्षमताभन्दा धेरै यात्रु बोकेर तीव्र गतिले सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । चालकले यात्रुसँग वा फोनमा कुराकानी गर्दै गाडी चलाउनाले, उनीहरुको थकान र अनिद्राले पनि दुर्घटना गराउन सक्छ । सडकमा पैदलयात्रुको हिँडडुल, छाडा चौपाया, जथाभावी पार्किङका कारण पनि यस्ता घटना हुन्छन् । कतिपय दुर्घटनामा मृत्यु संख्याको घटबढ भने उपचार व्यवस्थापनले पनि हुन्छ । ग्रामीण क्षेत्रमा प्रायः सडक कच्ची छन् । पहाडी भूभागमा आफूखुसी रेखांकन गरेर खनिएका सडक यसै पनि जोखिमपूर्ण छन् । पक्की सडकमा बेलैमा मर्मत सम्भार नगर्ने समस्या छ । सवारी दुर्घटना जे कारणले भइरहेको छ, त्यसैमा समाधान खोजेर यातायातलाई सुरक्षित बनाउनुपर्छ । सडकको स्तर सुधार, नियमित मर्मत सम्भार अत्यावश्यक छँदैछ । त्यसका अलावा चालकलाई प्रशिक्षण महत्वपूर्ण छ ।

सरकारी तथ्यांक अनुसार नेपालमा ३० प्रतिशत चालकले मात्र औपचारिक प्रशिक्षण लिएको पाइएको छ । यसको अर्थ सवारी चालक अनुमति र नवीकरण प्रणालीमा सुधारको खाँचो छ । चालकहरु ट्राफिक प्रहरीको निगरानी नभएको सडकमा लापरबाह बन्ने गरेको देखिन्छ । दुर्घटना न्यूनीकरणका लागि राज्यका तर्फबाट जेजति पहलकदमी हुनुपर्ने हो, त्यो भने पाइँदैन् । पछिल्ला १० वर्षमा सवारी दुर्घटनामा परी मृत्यु भएका मानिसको संख्या लगभग सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका मानिसको संख्याभन्दा बढी छ । १० वर्षमा २४ हजार ४ सयभन्दा बढीले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । यो संख्या कोरोना महामारीमा मृत्यु भएका नेपालीको संख्या भन्दा दोब्बर हो । सवारी दुर्घटनामा परेर घाइते भएकाको संख्या मात्रै ५१ हजारभन्दा बढी छ । सवारी दुर्घटनाबाट बाँचेका कैयन् मानिस अपांगताको अवस्थामा छन् । यति धेरै मानिस हताहती भइरहँदा सडक दुर्घटना न्यूनीकरणमा राज्यले गम्भीरतापूर्वक ध्यान नदिनु विडम्बनापूर्ण छ । अब मुख्य ध्यान  दुर्घटना हुनै नदिनेतर्फ सबैपक्षको हुनुपर्छ । अझैपनि कर्णालीका सडक स्तरोन्नती गर्न तर्फ ध्यान दिन नसके त्यसबाट उत्पन्न थुप्रै प्रकारका समस्याहरुको साम्ना गर्न नागरिकले मात्र होइन, सरकारहरु तयार हुनु पर्नेछ ।

Translate »