कर्णालीमा चलचित्र कथाका लागि प्रचुर सम्भावना छन् : डकुमेन्ट्री फिल्म मेकर गोंगजु

सुर्खेत । नेपालकै चर्चित डकुमेन्ट्री फिल्म मेकर राजेश गाेंगजुले कर्णालीमा चलचित्र कथाको प्रचुर सम्भावना रहेको बताएका छन् । चलचित्र विकास बोर्डले सुर्खेतको वीरेन्द्रनगरमा युवायुवतीहरुका लागि आज देखि शुरु गरेको पाँच दिने चलचित्र सम्पादन कार्यशाला उद्घाटन कार्यक्रममा उनले कर्णाली प्रदेश कथा नै कथाले भरिएको ‘भर्जिन ल्याण्ड’ भएको जनाएका हुन् ।

‘कर्णालीका हरेक व्यक्तिको जीन्दगी नै कथा हो । कथा नै कथाले भरिएको प्रदेश कर्णाली हो । यहाँ चलचित्रको कथा मात्र होइन, अरु थुप्रै व्यथासँगै कथा लुकेकाले त्यसैलाई बाहिर ल्याउने सक्ने कथाकारको खाँचो छ,’ डकुमेन्ट्री मेकर गाेंगजुले भने, ‘कथालाई आवश्यक पर्ने विषय वस्तुसँगै अर्गानिक दृश्य र जीवन्त आवाजहरु छन् । ती कथा व्याथा बाहिर ल्याउने ईच्छाशक्ति र जोश चाहियो । थोरै समय खर्चिएर शुन्य लगानीमा फिल्मका माध्यमबाट नसोचेको प्रतिफल लिन सकिन्छ ।’

कर्णालीको कथा कर्णालीको व्यक्तिले जुन स्तरबाट प्रस्तुत गर्न सक्छ, त्यो अरु कसैले गर्न नसक्ने उनले दावी गरे । चलचित्रसँगै साँस्कृतिक, धार्मिक, कृषि, पर्यटन र प्राकृतिक मानोरञ्जनका दृष्टिकोणले कर्णाली उत्तिकै महत्वपूर्ण क्षेत्र भएको उनको भनाइ थियो । उनले अर्गानिक कथाका लागि  कर्णाली ‘भर्जिन ल्याण्ड’ का रुपमा अथाह सम्भावना बोकेको प्रदेश भएको जिकिर गरे । उनका अनुसार सही समयमा सहि विषयवस्तुलाई उठान गरि देशमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै कर्णालीको विषय वस्तुलाई फिल्मका माध्यमबाट गुणस्तरीय कथा बेच्न सकिन्छ ।

यसअघि उद्घाटन कार्यक्रममा वरिष्ठ कलाकार प्रेमदेव गिरीले सुर्खेतबाट २०२९ सालमै नाटक र फिल्म जस्ता क्षेत्रमा यहाँका युवाहरुले आफ्नो छुट्टै पहिचान र मान कायम गरिसकेकाले अवसर मिलेमा  सुर्खेतीहरुले राम्रो काम गर्न सक्ने बताए । उनले विविध कला, संस्कृति र प्रकृतिले भरिपूर्ण सुर्खेतमा मात्र नभई समग्र कर्णाली प्रदेशले विशिष्ट पहिचान बोकेकाले समय सापेक्ष प्रविधि मार्फत परिस्कृत गर्नसके थुप्रै सम्भावनाहरु रहेको जनाए ।

साहित्यकार तथा कलाकर्मी डा.महेन्द्रकुमार मल्लले सांस्कृतिक तथा आर्थिकरुपले भरिपूर्ण कर्णालीको पहिचान स्थापित गर्न नसक्दा ‘गरिब’ भन्ने भाष्य कायम गरिएकोप्रति आपत्ती प्रकट गरे । उनले भने, ‘हरेक क्षेत्रमा कर्णाली हिजो पनि समृद्ध थियो, आज पनि छ र भोलीपनि हुनेछ ।’ उनले सही समयमा, सहि चीजलाई पहिचान गराउन नसक्दा कर्णालीलाई पछाडी पारिएको जिजिर गरे । अवसर मिलेमा कर्णालीका युवाहरुले आफ्नो शक्ति सामाथ्र्य अनुसार राम्रो काम गर्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा नृत्य निर्देशक कुलमान नेपाली र रंगकर्मी यामलाल आचार्यले कर्णालीमा धेरै सम्भावनहरु भएपनि हाल यहाँका नागरिक ‘बिनाको खोजीमा भौतारीरहेको कस्तुरीझैं रुमल्लिरहेको’ अवस्था हुनु विम्डनापूर्ण भएको बताए । उनीहरुले चलचित्र मात्र नभई कलाकारिता क्षेत्रलाई सरकारले उपेक्षा गरेकाले सोचे जस्तो प्रगति हुन नसकेको धारणा व्यक्त गरे ।

चलचित्र  क्षेत्रमा सम्भावना खोज्नु अघि कर्णालीमा सिनेका संस्कृतिको विकास गराउन आवश्यक रहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य राजु केसीले चलचित्रका माध्यमबाट कर्णालीको कला, संस्कृतिलाई विश्वव्यापीकरण गर्न सकिने बताए । पाँच दिनसम्म चल्ने चलचित्र सम्पादन कार्यशालामा कर्णालीका २६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

Translate »