अनलाइन जुवा तथा सट्टेबाजीमा निषेध

राजाराम श्रेष्ठ/काठमाडौं । काठमाडौं महानगरपालिका–२६, ठमेलबाट विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न रहेको अभियोगमा ४८ वर्षीय चिनियाँ नागरिक सु सुजिसमेत ४ जनालाई प्रहरीले २०७९ साउनमा मोबाइल, ल्यापटप, पेनड्राइभ, सिमकार्डसहित पक्राउ गरेको थियो । कीर्तिपुर नगरपालिका–१० स्थित क्रिकेट खेलमैदानमा एनपीएल टी२० पुरूष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन बेटिङमार्फत सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतीक कुमारलाई प्रहरीले २०७९ पुसमा पक्राउ गरेको थियो । फार वेस्ट युनाइटेड र विराटनगर सुपर किंग्सबीच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी अनलाइन बेटिङ भइरहेको सूचनाका आधारमा प्रहरी वत्त कीर्तिपुरबाट खटिएको प्रहरीले  पक्राउ गरेको थियो ।

त्यस्तै अनलाइन गेम खेलाउन लिमिट लोड गरिदिएको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको थियो । अवैध क्रिप्टोकरेन्सीमार्फत जुवा, मिल्कीवेय, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स ओरियन स्टार्सजस्ता खेल खेलाई उक्त प्लेटफर्ममा लिमिट लोड गराइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले २०८० माघमा उनीहरूलाई पक्राउ गरेको थियो । क्यास एप एप्लिकेशनमार्फत हारजित हुने गरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ६ जनालाई प्रहरीले ल्यापटप पाँच थान, मोबाइल आठ थान, सीपीयू १ थानसहित २०८० चैताम पक्राउ गरेको थियो ।

विभिन्न मितिमा भएका यी घटना नेपाल प्रहरीको वेबसाइटमा प्रकाशित गरिएको छ । यी घटनाक्रमलाई हेर्दा नेपालमा अनलाइन जुवा तथा सट्टेबाजीको खेल हुने गरेको बुझिन्छ । अनलाइनमार्फत जित्ने विश्वासका साथ रकमको बाजी राख्न लगाउने र हारजित हुने गरी विभिन्न खेल खेल्ने वा खेलाउने गरिन्छ । यस खेललाई अनलाइन जुवा तथा सट्टेबाजीको नामकरण गर्न सकिन्छ । यस किसिमको खेलमा खेलाउने व्यक्तिले रकम भुक्तानीका लागि अनलाइन बैंकिङको व्यवस्था मिलाएको हुन्छ । विभिन्न विद्युतीय भुक्तानीका उपकरण— इन्टरनेट बैंकिङ, ईमनी (वालेट) मोबाइल बैंकिङ तथा अन्य भुक्तानीका उपकरण प्रयोग गरी बाजीको रकम भुक्तानी गरिन्छ । यस्ता उपकरणको प्रयोग गरी रकम बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर हुने गर्छ । यस्तो खेलका लागि शारीरिक परिश्रमको आवश्यकता पर्दैन । केवल बाजी राख्ने रकम भए पुग्छ । इन्टरनेटको सहायताबाट मोबाइल, ल्यापटपको प्रयोग गरी कोठाभित्र बसेर खेल्ने गरिन्छ ।

अहिले नेपालीलाई लक्षित गरेर अनलाइन सट्टेबाजी मञ्च (प्लेटफर्म) मेटाबेट सञ्चालनमा आएको छ । नेपाली प्रयोगकर्तालाई लक्षित गरेर सट्टेबाजी खेल खेलाउन ‘मेटाबेट६३एनपी डट कम’ नामको वेबसाइटको थालनी गरिएको छ । यो वेबसाइटमा दर्जनौंभन्दा बढी खेलको सूची दिइएको छ भने खेलको रकम भुक्तानी गर्न सिटिजन्स, एभरेष्ट, ग्लोबल आइएमई, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, एनआइसी एशिया, प्रभु, नेपाल एसबिआई बैंकको खाता प्रयोग गर्न सकिने र साथै कनेक्ट आईपीएसलाई रकम भुक्तानी गर्ने माध्यमका रूपमा प्रयोग गर्न सकिने गरी लोगोसमेत सार्वजनिक गरेको छ । मेटाबेटले आफूलाई अनलाइन क्यासिनोको रूपमा चिनाउँदै प्रचारप्रसार गरेको देखिन्छ । यसअतिरिक्त वनएक्सबेट, ७७७स्कोर, वोल्फ७७७, राजबेट, डाफाबेटजस्ता अनलाइन क्यासिनो तथा सट्टेबाजी खेलका वेबसाइटहरू सञ्चालनमा छन् । कतिपय खेल सञ्चालकले एपसमेत निर्माण गरेका छन् ।

अनलाइन जुवा तथा सट्टेबाजी खेलबाट लाखौं, करोडौं रकम प्रतिफलका रूपमा पाउने वा गुमाउने तथा हार्ने वा जित्ने हुन्छ । यस्ता खेल संयोगको आधारमा खेल्ने र खेलाइने गरिन्छ । यसरी प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापी खेल्ने जुवा तथा सट्टेबाजीको कार्यलाई प्रचलित नेपाल कानूनले कसुरका रूपमा मानेको छ । नेपालमा अनलाइन जुवा तथा सट्टेबाजी खेल खेल्ने र खेलाउने कार्यलाई कानूनद्वारा निषेधित गरिएको छ । नेपालको मुलुकी अपराधसंहिता, २०७४ ले जुवा खेल्न वा खेलाउन तथा सट्टेबाजी गर्न वा गराउन नहुने गरी निषेध गरेको छ । कसैले यस किसिमको कार्य गरे कसुर हुने र कसुरअनुसार सजाय हुने व्यवस्था गरेको छ । पहिलोपटक जुवा खेल्ने वा खेलाउने व्यक्तिलाई ३ महीनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरीवाना हुन्छ । दोस्रोपटक जुवा खेल्ने वा खेलाउने व्यक्तिलाई १ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरीवाना हुने र त्यसपछिको कसुरमा पटकैपिच्छे थप ३ महीनासम्म कैद र १० हजार रुपैयाँसम्म जरीवाना हुने व्यवस्था संहिताको दफा १२५ को उपदफा (२) मा गरेको छ । त्यस्तै सट्टेबाजीको कसुर भएमा त्यसमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरीवाना हुने गरी उपदफा (६) मा सजायको व्यवस्था गरेको छ ।

नेपालमा विशेष कानूनका रूपमा जुवा ऐन, २०२० प्रचलनमा रहेको छ । नागरिकको आर्थिक हित एवम् सदाचारका लागि जुवा खेल्न वा खेलाउन प्रतिबन्ध लगाउने उद्देश्यले यो ऐन जारी भएको छ । सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल जुवा हुने गरी ऐनमा परिभाषा गरिएको छ । कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा भोगचलन वा जिम्माको कुनै घर, कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन भनेको छ । कुनै व्यक्तिले यस्तो कसुर हुने काम भएको वा हुन लागेको देखी, जानी सो दबाउन वा त्यस्तो कसुर गर्नका लागि अरू कसैलाई कुनै प्रकारको मद्दत हुँदैन । यस्ता कार्यलाई ऐनको दफा ३ ले कसुर मानेको छ । यस्ता कसुर गर्ने वा गराउनेलाई ऐनको दफा ४ बमोजिम सजाय हुन्छ । जुवा खेल्न उपयोग गरिएका सबै सामान जफत हुन्छ ।

मुलुकी अपराधसंहिता, २०७४ र जुवा ऐन, २०२० ले अनलाइनमार्फत हुने लाइभ क्यासिनो तथा सट्टेबाजी खेललाई नेपालमा कसुरका रूपमा मानी प्रतिबन्धित गरेको स्पष्ट छ । कानूनले यस खेललाई संयोगको आधारमा खेलिने खेलका रूपमा लिएको छ । यस्तो खेलमा जित्नेले प्रतिफल पाउने र हार्नेले प्रतिफल गुमाउने हुन्छ । यस्तो खेलको कुनै पनि विज्ञापन गरेमा समेत कसुर मानिन्छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५(ख) अनुसार नेपालमा जुवा खेल्ने, खेलाउने विषयमा विज्ञापन गर्न निषेध गरेको छ । जुवा खेल्ने, खेलाउने विज्ञापन छापा, अनलाइन, विद्युतीय माध्यम, सामाजिक सञ्जालमा समेत गर्न, गराउन हुँदैन । यस विपरीतको कार्यलाई ऐनले कसुर मानेको छ । कसुर गर्ने, गराउने व्यक्तिलाई सो कसुर गरेबापत प्रचलित कानूनले कुनै सजाय हुने रहेछ भने सोहीबमोजिम सजाय गर्नुपर्छ । कानूनमा सो व्यवस्था नभएमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरीवाना हुन्छ ।

नेपालमा अनलाइन जुवा तथा सट्टेबाजीको खेल खेल्न र खेलाउन तथा त्यस्तो खेलको प्रचारप्रसार गर्ने उद्देश्यले विज्ञापनसमेत गर्न, गराउन पाइँदैन । यस्ता खेल खेलाउने उद्देश्य राखी कुनै पनि संस्था, कम्पनी दर्ता तथा सञ्चालन गर्न समेत पाइँदैन । कानूनद्वारा निषेधित यस्ता खेल खेलाएबापत नेपाल प्रहरीले समयसमयमा स्वदेशी तथा विदेशी नागरिकलाई पक्राउ गर्ने गरेको छ । तैपनि नेपालमा यस्ता खेलमा आर्थिक लाभ पाउने उद्देश्यले युवापुस्ता लाग्ने गरेकोे देखिएको छ । यस्ता खेलबाट लाखौं, करोडौं रकम हारजित हुने पक्कापक्की छ । यस्ता खेलमार्फत करोडौं रकम नेपालबाट बाहिरिने निश्चित छ । यस्ता खेलको रकम भुक्तानी गर्न नेपालका बैंक तथा वित्तीय संस्थाहरूको खाता प्रयोग हुने र खातामा रकमान्तरण गर्न कनेक्ट आईपीएस, ईसेवा, खल्ती जस्ता भुक्तानीको साधनको प्रयोग हुन सक्ने सम्भावना रहेको छ । यसतर्फ नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, प्रहरी समेतले विशेष चासो देखाउनुपर्ने भएको छ । आर्थिक अभियान

लेखक अधिवक्ता हुन् । 

Translate »