बिदाको औचित्य के ?

आर्थिक अभियान/ काठमाडौं । कतारका अमीर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणमा आज मंगलवार अपराह्न नेपाल आउने भएका छन् र उनको आगमनमा सरकारले सार्वजनिक बिदा दिएको छ । बिदा बढी दिएको भनी सरकारको आलोचना भइरहेको सन्दर्भमा विदेशी राष्ट्राध्यक्ष मुलुकमा आउँदा बिदा दिन किन परेको भनी प्रश्न पनि उठेको छ । पञ्चायत कालदेखि नै कुनै पनि मित्रराष्ट्रको राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा बिदा दिने प्रचलन छ । यस्तो बिदा समयसापेक्ष नभएकाले बन्द गर्नुपर्ने आवाज उठे पनि सरकारले त्यसमा चासो दिएको छैन ।

विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा मुलुकभर बिदा दिनुको औचित्य देखिँदैन । मुलुकका दूरदराजका बासिन्दालाई यस्ता भ्रमणको कुनै चासो, जानकारी र महत्त्व हुँदैन । विदेशी राष्ट्रप्रमुखको आगमनले तिनलाई केही पनि फरक पर्दैन । त्यसो हुँदा दूरदराजका क्षेत्रमा यस्तो बिदा दिनुको कुनै पनि प्रयोजन देखिँदैन । सार्वजनिक बिदा दिएर सरकारले विदेशका राष्ट्रप्रमुखलाई उच्च सम्मान गरेको सन्देश दिन खोजेको हो कि भन्ने देखिन्छ । तर, यस्तो बिदा दिँदैमा राष्ट्रप्रमुखको भ्रमणले नेपाललाई फाइदा हुने होइन । सामान्यतया विदेशी प्रमुखलाई यस्ता बिदाले भन्दा पनि भ्रमणको एजेन्डा, तिनको उचित सम्बोधन, दुई मुलुकबीच विद्यमान खास समस्या र सम्बन्ध बलियो बनाउन आवश्यक संयन्त्र निर्माण, आपसी समझदारी र सम्झौताहरू नै भ्रमणको महत्त्व स्थापित हुन्छ ।

अमीर थानीले बंगलादेशमा पनि दुई दिनको भ्रमण गरेका छन् । त्यहाँ उनी पुग्नुअगाडि नै केके विषयमा सम्झौता हुने हो र केके विषयमा समझदारी हुने हो त्यो स्पष्ट भइसकेको छ । तर, नेपालमा उनको भ्रमण हुनुको अघिल्लो दिनसम्म पनि कति विषयमा केकस्ता सम्झौता र सन्धि हुँदै छन् भन्ने नेपाली अधिकारीलाई थाहा छैन । त्यस्तै इजरायलबाट हमासले बन्दी बनाएका नेपालीलाई छुटाउन कतारको मद्दत लिने विषयमा पनि वार्ता भएको हो कि होइन स्पष्ट जानकारी आएको छैन । बरु प्रधानमन्त्रीले अमीरसँग कुरा गर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएका छन् जुन प्रत्युत्पादक हुन सक्छ । किनकि यसरी सार्वजनिक रूपमा आफ्नो भनाइ राख्दा कूटनीतिक मर्यादा कायम हुँदैन ।

विगतमा सरकारले दिएको बिदाको ज्यादै आलोचना भएपछि सरकारले यातायात सहज पार्न बिदा दिएको बताएको थियो । अहिले पनि त्यस्तै सोचेर बिदा दिएको हो भने त्यो झनै नराम्रो हो । एउटा राज्य प्रमुख आउँदा सुरक्षाको नाममा बिदा दिँदा यसले जाने सन्देश नकारात्मक हुने सम्भावना बढी छ । एक दिन अकस्मात् बिदा दिँदा सुदूर गाउँबाट नागरिकता बनाउन वा अन्य कुनै सरकारी सेवा लिन आएका जनताको १ दिन खेर जान्छ । उनीहरूको खर्च बढ्छ । सरकारी कार्यालयमा खासै काम हुँदैन तैपनि यस्तो बिदाले सरकारी कामकाज प्रभावित हुन्छ । त्यसैले सम्मानको नाममा होस् वा सुरक्षाको नाममा बिदा दिनैपर्छ भन्ने लाग्छ भने संघीय राजधानी काठमाडौंमा मात्रै बिदा दिएको भए पनि हुन्थ्यो । उनी भ्रमण गर्न जाने नेपालको ठाउँ विशेष छ भने त्यस ठाउँमा पनि बिदा दिन सकिन्छ ।

तुलनात्मक रूपमा यस्तो बिदाको  आलोचना कम हुन्छ । परम्परा राम्रा छन् र उत्पानशील छन् भने तिनलाई निरन्तरता दिनु राम्रो मानिन्छ । तर, त्यस्ता परम्पराले प्रगतिमा बाधा पार्छन्, जनतालाई समस्या हुन्छ भने त्यसमा पुनर्विचार आवश्यक हुन्छ । नेपालले पनि को आउँदा बिदा दिने भन्ने कुरामा स्पष्ट नियम बनाउनुपर्छ र स्थानीयसँग समन्वय गरेर बिदा दिन पनि सकिन्छ । तर, बिदाले कुनै पनि सकारात्मक प्रभाव पार्दैन भने त्यसलाई निरन्तरता दिनु गलत हो । यस्तो गलत परम्परा बन्द गरिनुपर्छ ।

Translate »