कर्णालीको नयाँ पर्यटन गन्तव्य गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक

जुम्ला । कर्णालीको नयाँ पर्यटकीय गन्तव्य गिडिदहको नापजाँच अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका वडा नं ४ गिडिखोला गाउँको सिरानमा अवस्थित नयाँ पर्यटन गन्तव्य गिडिदहको नापजाँच तथा अध्ययन प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको हो ।

काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक रामदेवी तचामो शाहले अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् । विश्वविद्यालयको टोलीले नौ दिन लगाएर गिडिदहको लम्बाई,चौडाई,गहिराई,जीव जनावर,रुखविरुवा,क्षेत्रफल लगायतका पक्षको अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदअनुसार गिडिदहको सानो र ठुलो दहको गरी कुल लम्बाई, १५१० मिटर रहेको छ । जसमा ठुलो दह(तालको) लम्बाई १०६० मिटर, चौडाई ३१० मिटर, गहिराई ४३.३ मिटर रहेको काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक शाहले जानकारी दिए ।

त्यस्तै गिडिदहकै सानो दह (तालको) लम्बाई ४५० मिटर,चौडाई २१० मिटर,र गहिराई २१.३ मिटर रहेको छ ।

समग्र गिडिदह क्षेत्र २९।११ हेक्टर क्षेत्रफलमा फैलिएको छ । भने,राष्ट्रिय महत्व बोकेका १८ प्रकारका चरा,७ वटा स्तनधारी जनावर,७४ वटा चराचुरुङ्गी रहेका छन् ।

गिडिदह उचाइका हिसाबले कर्णालीको दोस्रो तालका रुपमा रहेको छ । पहिलो सेफोक्सण्डो र तेस्रो रारा ताल रहेका छन् ।

गिडिदहमा जानू हुन्न,अझ महिला गएपछि फर्किँदैनन् भन्ने अन्धविश्वास थियो । तर तातोपानी–४, को आयोजनामा पहिलो पटक २०७९ साल असार ४ देखि ६ गते सम्म मा ८४ जनाको सरकारी टोली गिडिदह पुगेको तातोपानी –४, का वडाध्यक्ष अम्मर बहादुर रोकायाले बताए। उनका अनुसार समुद्री सतहदेखि ३४८५ मिटर उचाइमा अस्थित गिडिदहको छेउमै गिडिदह सम्मेलन गरी गिडिदह घोषणापत्र समेत सार्वजनिक गरियो ।

कर्णाली राजमार्ग हाकुबाट गिडिदह सम्मको दुरी २९ किमी रहेको छ । यो दुरीमा फूलचौल्या,बाइस पाटन लगायतका पर्यटन क्षेत्र छन् । पूर्वाधार विकासका लागि डिपिआर,वातावणिय प्रभाव मूल्यांकन लगायतका काम गरिसकेका छौ । तर लगानी अभावले पूर्वाधार निर्माण हुन सकेको छैनन् ।

घोषणापत्रमा दहको नाप जाँचलाई प्राथमिकता दिने उल्लेख भएअनुसार कुल १५ लाख लगानीमा नापजाँच गरि प्रतिवेदन सार्वजनिक गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनका अनुसार गिडिदह तातोपानीको मात्र नभई जिल्लाकै सम्पत्ति र आर्थिक समृद्धिको आधार भएकोले पूर्वाधार विकासमा लगानी गर्न जरुरी छ ।

राष्ट्रिय ताल संरक्षण समितिको पाँच लाख र गाउँपालिकाको १० लाख गरि १५ लाख लगानीमा नापजाँच गरिएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।

उनका यो वर्षमै गिडिदह जाने २७ सय मिटर घोरेटो बाटो निर्माण भइसकेको छ । उनले भने,पर्यटक भित्राउन आवश्यक पूर्वाधार विकासमा जोड दिन जरुरी छ । साविक कर्णालीकै तेस्रो ठुलो तालका रुपमा रहेको छ । दिगो संरक्षण,पर्यटक भित्र्याउने वातावरण सृजना तीनै तहका सरकारले लगानी गर्नु पर्ने जरुरी छ ।

सडक,घोरेटो (बाटो ,खानेपानी,धर्मशाला,सञ्चार,बेलिब्रिज लगायतका पूर्वाधार निर्माण अत्यावश्यक रहेको छ । (रेडियो नेपाल)

Translate »