‘व्यवसायजन्य स्वास्थ्य र सुरक्षाप्रति सचेत हुन आग्रह’
सुर्खेत । कर्णालीमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षाप्रति चासो कम भएको प्रति चिन्ता व्यक्त गरिएको छ ।
श्रम तथा रोजगार कार्यालय सुर्खेतले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने उद्देश्यले आज वीरेन्द्रनगरमा असंगठित क्षेत्रका ३८ जना श्रमिकलाई निःशुल्क व्यवसायजन्य सुरक्षा सामाग्री वितरण गर्ने कार्यक्रममा श्रमिकको स्वास्थ्यसँगै सुरक्षितरुपमा काम गर्ने वातावरण स्थापना गर्न सरोकारवाला निकायको ध्यानकर्षण गराईएको हो ।
श्रम तथा रोजगार कार्यालय सुर्खेतका प्रमुख श्रीसमशेर रानाले विभिन्न प्रकृतिका श्रम गर्ने सिलसिलामा उत्पन्न हुने खतरा तथा जोखिमबाट श्रमिकको जीवनमाथि पर्न सक्ने प्रतिकूल असरप्रति सरोकारवाला जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाप्रति संगठित क्षेत्रका भन्दा असंगठित क्षेत्रका श्रमिकमा बढी सचेतना र जागरुकता बढाउन आवश्यक रहेको औल्याए ।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालयका श्रम अधिकृत सुनिता दर्लामीले कामदारको स्वास्थ्यको लागि सुरक्षित कार्यस्थल हुनुपर्ने, सफा पानी हुनुपर्ने, बालबच्चाको लागि अनौपचारिक शिक्षाको व्यवस्था हुनुपर्ने तथा जनचेतना जगाउनु पर्नेमा जोड दिईन् ।
व्यवसायजन्य स्वास्थ्य र सुरक्षा खर्चलाई रोजगारदाताले लगानीको रुपमा हेर्नुपर्ने बताउँदै उनले कर्णालीमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका दृष्टिले पुरुषको तुलनामा महिला श्रमिक बढी जोखिम रहेको बताईन् । व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहव्यापीरुपमा विभिन्न कार्यक्रम गर्दै ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवस’ मनाउन लागिएको उनको भनाइ छ ।
यता नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशका सचिव श्रीपाल सारुले कर्णालीमा व्यवसायजन्य रोगका बारेमा धेरैले नबझुेका कारण सुरक्षासम्बन्धीका सचेतना फैलाउन आवश्यक रहेको औल्याए । उनले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका लागि टे«ड युनियन, रोजगारदाता ,नागरिक समाज मिलेर अझ धेरै काम गर्न आवश्यक रहेको बताए ।
श्रमिकलाई रसायनिक खतराबाट बच्नको लागि सुरक्षाको उपाय सोच्ने, खतरामुक्त कामको सूची तयार गरी जानकारी दिने, क्षतिपूर्ति दिलाउने काम जिफन्टले गरिरहेको उनको भनाइ छ ।
व्वसायजन्य स्वास्थ्य र सुरक्षा भनेको कुनैपनि पेशा वा व्यवसायको प्रकृति अनुसार कार्यथलोमा काम गर्दा श्रमिकहरुको स्वास्थ्यमा पर्ने शारीरिक, मानसिक वा जोखिमयुक्त असुरक्षित वातावरणलाई घटाउँदै स्वस्थ्य र सुरक्षित वातावरण स्थापित गर्न आफुहरु जुटेको श्रम तथा रोजगार कार्यालयको भनाइ छ ।
कर्णाली प्रदेश भरी २० हजार बढी असंगठित श्रमिकहरु रहेको श्रम तथा रोजगार कार्यालयको अनुमान छ ।