ढोरपाटनको यात्रा स्मरण !

भोलि ढोरपाटन हुँदै पोखरासम्म जाने है! तयारी गर्नु, नुहाइधुवाई, कपडा व्यवस्थापन गर्नू भनेर भन्दै गर्नुभएको सुनेँ । ढोरपाटन जाने सूचीमा मेरो नाम पनि समावेश भएको रहेछ ।आफ्नो कामहरु सकेर बेलुका घर गएर झोलामा कपडा मिलाउन थालेँ । सर्ट, पाइन्ट, पातलो ज्याकेट पनि हालेँ ।यात्राको लागि बाटो लागिसकेपछि त फोटो खिच्न, फोनसम्पर्क गर्नको लागि मोबाइलमा चार्ज हुनुपर्छ भन्ने सोच्दै मोबाइल चार्जमा राखेँ । सुर्खेतको बत्तीको भर नै नहुने, कहिले राती, कहिलेँ दिउँसो त कहिले जतिबेला मन लाग्यो त्यति बेला गइरहने भएकोले बेलुका बत्ती आएको बेलामा उछार खेलेर मोबाइल चार्जमा राखेँ ।बिहानै उठ्दा खेरी मोबाइलको चार्ज भरिएको थियो । सायद मोबाइल चार्जिङ्ग धारामा गाग्रीमा पानी थापेको जस्तै भएको ‍भए पानी भरिएर कोठाभरी जलाम्मे हुने थियो होला, कस्सो मोबाइल थियो र त्यो भरिएर बढी भएको चार्ज बाहिर निस्किन पाएन ।आज विहान अर्थात्२०८१ साल बैशाख ५ गतेका दिन बुधबार परेको थियो तैपनि विदा परेको थियो ।नुहाइधुवाई गरेँ, सरसफाई सबै गरिसकेर आफ्ना नित्य कार्य गरेँ । यात्राको लागि हिजो बेलुकै तयार पारी राखेको झोलामा मोबाइलको चार्जर हालेर झोला बोकी हिँडेँ । बैशाखको महिना गर्मीको महिना भए तापनि विहान हल्का हल्का सितल हावा लागिरहेको थियो । हावासँगै आफ्नो पाइला अगाडि बढाएँ । विहानको ८ बज्दै थियो, गाडी तयारी नै थियो, सबै जना टोलीहरु पनि तयारी हुनुहुँदै रहेछ । म एकछिन कुरेँ, मोबाइल चलाएँ, भिडियो, फोटो खिच्ने तरिका, कन्सेप्ट बनाउँदै गर्दा गाडी चढी हिँड्ने बेला हुन लागिसकेको रहेछ । हाम्रो यात्रा बिहानको ९:४५ मा सुरु भयो । गाडी चढेर अगाडी बढियो, बाटो मध्यपहाडी लोकमार्ग हुँदै जाने भनिएकोले छिन्चु-मेहेलकुना-सल्लीबजार-जाजरकोटको छेडा-कुदु हुँदै रिम्ना दहमा गएर चियाको चुस्की लियौँ । दुध हालेको चिया मन पर्ने भए पनि पेट डम्म हुन्छ भन्ने डर हुँदाहुँदै चियाको कप आउँदा वित्तिकै समाएर मुख गाडिहालेँ कपमा, झण्डै पोलेन तातो चियाले । चिया पसले दाइले मतिर हेरेर मुसुक्क हाँस्दै चियाको कित्ली अगेनामा फेरि बसाउनुभयो । उहाँको राउडी राठौरवाला जुँगा चैँ सायद दक्षिण भारतीय चलचित्रमा हिरोको रोलमा सुहाउने खालको थियो, मेरो मनमा यो मान्छे साउथ इन्डियन फिल्ममा काम गर्न छोडेर फोकटमा यहाँ आएर चिया बेचेर बसेछ भन्ने भएको थियो तर पनि उहाँको पेसा एकदम सम्मानजनक थियो ।

पालै अनुसार पुराना यात्रा संस्मरण अनि किस्सा सुन्दै सुनाउँदै हामी अगाडि बढिरहेकै थियौँ, गाडीले हामीहरुलाई बोकेर सडकमा गुडिरहेकै थियो, सडकका किनारा नजिकका खेतहरुमा हरियाली थियो । कतै प्याज, लसुनत कतै धनियाँ खेतैभरी देखिन्थे, त्यति मात्र नभएर आरु, पैयुँका फुलहरु फुलेर खेत बारीहरुको बीचमा रहेको सडकलाई सोभायमान बनाउन तल्लीन देखिन्थे । यात्रामा समय लागेपनि हामीहरुलाई भने लामो दुरिको यात्रा पनि छोटो यात्रा जस्तो लागेको थियो ।नेपालमा संघीयताको आगमन भइसकेपछि विकेन्द्रिकरणको सिद्धान्त अनुसार रुकुम जिल्लालाई दुई भागमा विभाजित गरी रुकुम पूर्व र रुकुम पश्चिम नामाकरण गरिएको पाइन्छ । यात्रा गर्दा गर्दै बेलुकीको ६ बजिसकेछ । अगाडि बढ्दै जाँदा हामी रुकुम पूर्व पुगिसकेछौँ । भुगोलको हिसाबले पश्चिम रुकुम भन्दा पूर्वी रुकुम अलिक डाँडाकाँडा रहेको र कम समथर रहेको थियो । तैपनि मध्यपहाडी लोकमार्गले छोएको हुनाले आन्तरिक साथै बाह्य पर्यटनको पनि सम्भावना रहेको बारे पाइयो । पहिलेको समयमा भन्दा अहिले गगनचुम्बी भवनहरु बनिसकेको, विकासको मार्गमा अघि बढिसकेको थियो रुकुम पूर्व । साँझ परिसकेको भएर हामी त्यहीँ रुकुम पूर्वमा बास बस्यौँ । बिहानपख सूर्यको किरणभन्दा अघि उठेर हातमुख धोई हामी कमलदह पुग्यौँ । अवलोकन गर्दै गर्दा सूर्यको किरणको आगमन भयो, जिउँदै स्वर्गको अनुभूति भयो । दहमा परेको सूर्यको किरण हाम्रो आँखामा आउँदा स्वर्गको आनन्द दिलाइरहेको थियो । रुकुम जिल्लालाई ५२ पोखरी ५३ ताल भनेर उसै भनिएको होइन रहेछ । त्यसपछि हामी विहानको खाना रुकुम पूर्वमा खाएर अघि बढ्यौँ । मध्यपहाडीको बाटो नछोडेर अघि बढ्दै बुर्तिबाँङ्गमा दही खाँदै लालिगुराँस फुलेको ठाउँ हुँदै गयौँ । मैले त रातो मात्र गुराँस देखेको थिएँ, तर सेतो, पहेँलो, सिम्रीक, गुलाबी लगायत भिन्न भिन्न रङ्गका गुराँसहरु देख्न पाउँदा मैले आफूलाई मनमनै भाग्यमानी ठानिरहेको थिएँ । नेपालमा जन्मेर नेपालकै कति महत्वपूर्ण तथा रमणीय स्थान घुम्न छोडेर नेपालीहरु भारतका विभिन्न स्थानहरुमा घुम्न गएको विषय मेरो दिमागमा आयो, उनीहरुलाई मनमनै रिसाएँ, गाली गरेँ र मनमनै एक चड्कन हानेँ पनि । उनीहरुलाई दुख्यो कि दुखेन त्यो त थाहा पाइन, तर मेरो मन भने लालीगुराँससँगै रङ्गीन भइरहेको थियो । गाडीबाट झरेर लालीगुराँसको फुलमा लागेको मह खान तर्फ लागियो ।मह खाइवरी हामी त्यहाँबाट पनि हिँड्यौँ ।

बुर्तिबाङ्ग देखि करिब ३२ किलोमिटर कच्ची सडक छिचोल्दै करिव ३ घण्टाको यात्रामा हामी ढोरपाटन पुग्यौँ ।रुकुम पूर्व, बाग्लुङ र म्याग्दी ३ जिल्ला मिलेर बनेको ढोरपाटनलाई नेपालको मिनी स्वीजरल्याण्डको उपनामले समेत चिनिँदो रहेछ । साँझ सामुदायिक होमस्टेमा चिसो मौसम भएको कारण आगो ताप्दै खाना खाई त्यहीँ आराम गर्‍यौँ । विहानपख हामी अर्नि खायौँ अनि जलजला तर्फ लाग्यौँ । बाटोमा जाँदा काठका ठुटाजस्ता अग्ला अग्ला आकृतिहरु थुप्रै देखिन्थे । मेरो मनमा यी के होलान् भन्ने कौतुहलता जाग्यो र मैले त्यहाँका स्थानीय व्यक्तिहरुसँग सोधेँ, तत्कालीन समयमा विद्रोही पक्षहरुले आगो लगाएर रुखहरु सिमेन्टका खम्बाजस्तै राखिएका रहेछन् । म्याग्दी जिल्लाको नाम मात्र सुनेको थिएँ । जलजला जानको लागि म्याग्दी हुँदै जानुपर्ने रहेछ । जलजला पनि ढोरपाटनकै क्षेत्रमा पर्ने भएकोले हामी घुम्दै घुम्दै धौलागिरी, निलगिरी हिमालका दन्त्यलहरलाई नियाल्दै डाँफे नाचेको हेर्न माथि माथि पुग्यौँ । हामीमध्ये केहीले मात्र डाँफे देख्ने अवसर पाउनुभएछ । म भने मुखको थुक मुखबाटै निलेँ, डाँफे देख्न नपाएर ।ढोरपाटनमा स्यालपाखे, पाखाथर, नवीन, नवीनथर, छिन्थुक नामका बस्तीहरुमा मान्छेहरु आफ्नो संस्कृति तथा भेषभुषा प्रयोग गरी नेपाललाई बहुल संस्कृतिको थलोको रुपमा चिनाएका रहेछन् । मौसम पनि बडो विचित्रको रहेछ, आकाशमा बादलुले बेला बेलामा लुकामारी गरिरहन्छ । आकाश त निलो पटुकी जस्तो पो देखियो । मन फुरुङ्ग भएर कपास जस्तै भएको थियो ।

६ वटा ऋतुहरुमा त्यहाँ गएपछि त कति धेरै अनुभव र रमाइला पलहरु देख्न पाइने रहेछ जस्तै लाग्यो । सामान्यतया उत्तरतर्फ बग्ने नदिनाला विश्वमा नै थोरै संख्यामा हुन्छन् । बाग्लुङ जिल्लामा उत्तरबाहिनी नदी बग्दो रहेछ । यसको नाम उत्तरबाहीनी नदी राख्नको कारण पनि उत्तरतर्फ बग्ने भएर रहेछ । नेपालमा धार्मिक महत्वको धाम मध्ये बाग्लुङको ढोरपाटन, उत्तरगंगा नजिकै रहेको ढोरबराह थान रहेछ । ढोरबराह थान अति प्राचीन र ऐतिहासिक मन्दिर हो । यहाँ बैशाखको र जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । मेलाको अवसरमा भक्तजनहरुले भेडाको बली दिने र कतिपयले आफ्नो मनोकांक्षा पूरा हुन्छ भनेर पूजा आजा गर्ने जनविश्वास रहेको बारेमा पनि जानकारी प्राप्त भयो । धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा पर्यटकीय गन्तव्यको रुपमा यो क्षेत्र अति नै प्रचलित रहेको छ ।रुकुम, बाग्लुङ्ग र म्याग्दी जिल्लाका केही भागमा ढोरपाटन शिकार आरक्ष फैलिएको छ । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पंछीको सूचीमा परेका डाँफे, मुनाल, चिर लगायत १६४ प्रजातिका चराहरू पाइन्छन् । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई शिकार आरक्ष बनाइएको हो । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको शिकार गर्न पाइन्छ ।

आरक्षमा व्यवस्थित शिकारको व्यवस्था मिलाइएका कारण राष्ट्रले विदेशी मुद्रा आर्जन गर्न पाएको छ भने स्थानीय स्तरमा पर्यटन विकास भएको छ । पेशेवर विदेशी शिकारीहरूका लागि यो आरक्ष एक प्रमुख गन्तव्यकै रूपमा रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा शिकार गराउने गरेको छ । यसरी शिकार गर्न दिइँदा कुनै जनावर अत्यन्त न्यून वा सखापै हुने अवस्था रहँदैन । साथै जनावरको संख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पुर्‍याउने वा स्थानीय बालीनालीलाई अत्याधिक क्षति पुर्‍याउने परिस्थिति पनि उत्पन्न हुँदैन ।

ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो। जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको छ। ढोरपाटन शिकार आरक्ष वि.सं. २०४० (सन १९८३)मा स्थापित भयो र यसले वि.सं. २०४४ (सन १९८७)मा मात्र सरकारी मान्यता प्राप्त गर्‍यो। यसको उत्तरी सिमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन। यो आरक्ष समुन्द्री सतहबाट २,८५० मिटर(९,३५० फिट) देखि ५,५०० मिटर(१८,००० फिट) उचाईमा अवस्थित छ ।

ढोरपाटन शिकार आरक्षमा गोब्रे सल्ला, सल्ला, भोजपत्र, लाली गुराँसठिँग्रे सल्ला, सिंदूर, धुपी तथा देबदारु लगायतका वनस्पतिहरू पाइन्छन्। अधिक मात्रामा जैविक सम्पदाको खानी मानिएको ढोरपाटन क्षेत्रमा १ सय ८५ थरीका दुर्लभ वनस्पति उच्च पहाडी सिमसार क्षेत्र ३२ थरीका स्तनधारी वन्यजन्तु, १ सय ३० प्रजातीका चराचुरुङ्गी८ सय ५२ नाउर, २सय झारलहिउँ चितुवा,चित्तल,थारल,घोरल,भालु,बँदेल,लंगुर लगायतका जंगली जनावर र पंक्षीहरू रहेको बारे जानकारी पाइयो ।

सिकारको लागि प्रख्यात यस आरक्षमा पेशेवर सिकारीको लाईसेन्स प्राप्त सिकारीले ९ नाउर र ११ झारलको सिकार गर्न पाउने प्रवधान रहेको छ। पछिल्लो जनगणना अनुसार आरक्षमा करिब ८ सय ५२ नाउर छन्। आरक्षमा रहेका हिउँ चितुवा, घोरल, हिमाली कालो भालु, भुक्ने मृग, लुंगुरलगायत लोपोन्मुख वन्यजन्तुको सिकार गर्न निषेध गरिएको बारे बुझियो ।

हामीहरुले माथिल्लो जलजलामा गएर दुरबीनको सहायताले टाढा टाढाका धौलागिरी, निलगिरी, सिस्ने, पुथा लगायतका हिमश्रृंखलाहरु र अन्य भिन्नभिन्न दृश्यहरु हेर्यौँ ।

मेरो मनमा धेरै समयदेखि लागिरहेको ढोरपाटन घुम्ने ईच्छा पनि पूरा भएको थियो । ढोरपाटनबारे महत्वपूर्ण जानकारी साथै मानसपटलमा त्यी ताजा दृश्यहरु संगाल्दै गाडी चढी हाम्रो ढोरपाटन यात्रालाई बिट मार्दै हामी अगाडि बढ्यौँ । गाडी चालक साथी पनि हृदयदेखि नै खुसी हुँदै सितल हावाको वहाबसँगै गाडी कुदाउँदै घुम्तीको बाटो हुँदै ढोरपाटन क्षेत्रबाट हरायौँ ।

लेखक डुङ्गेश्वर गाउँपालिका, वडा नं- ५, निवासी दिपेन्द्रकेशर खनाल हुनुहुन्छ ।

Translate »