सम्पदाको संरक्षणमा जुट्यो कर्णाली सरकार

सुर्खेत ।  प्राचिन सांस्कृितक सम्पदाको संरक्षण कर्णाली प्रदेश सरकारले जुटेको छ । परम्परागत भौतिक एवं अभौतिक सांस्कृतिक सम्पदाहरुको अध्ययन तथा संरक्षण गरी एक अर्कामा सम्मान, सद्भाव र सहष्णिुताको भावना जागृत गराइ सामाजिक मर्यादा अभिवृद्धि गर्नका लागि सांस्कृितक सम्पदाको संरक्षणमा प्रदेश सरकार जुटेको हो ।

प्रदेश सरकारले नागरिकको मागमा आधारित प्राचिन सांस्कृितक सम्पदाको संरक्षण, व्यवस्थापन तथा विकास निर्माण कार्य अघि बढाएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मार्फत डिभिजन वन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगर–१०, स्थित नयाँ घुस्रामा गोरखानाथ मन्दिरको जीर्णद्वार, बाउण्डरी, तथा फिर्निसिङको काम गरेको डिभिजन वन अधिकृत बसन्तबाबु श्रेष्ठले जानकारी दिए ।

उनले १५ लाख रुपैयाँको लागतमा अढाई कट्टा क्षेत्रफलभित्र फैलिएको गोरखनाथ मन्दिरको अघिल्लो आर्थिक वर्षमा समेत गरी हालसम्म ३५ लाख रुपैयाँ प्रदेश सरकार लगानी भएको बताए । गोरखनाथ मन्दिर निर्माण समितिका अध्यक्ष भूपेन्द्रनाथ योगीले अपुग रकम विभिन्न दाता र सहयोगी मनहरु मार्फत २२ लाख रुपैयाँ संकलन गरी मन्दिरको जीर्णद्धारमा खर्च भएको जनाए ।

उनले अझैपनि मुल गेट निर्माण तथा जमिन सम्याउनका लागि दातासँगै प्रदेश सरकारसँग थप रकम सहयोगको अपेक्षा गरिएको बताए । शहरलाई सांस्कृितक एकताको सूत्रमा गाँस्न १५ लाख रुपैयाँ लागतमा वीरेन्द्रनगरकै १० नम्वर वडा स्थित रहरपुर शिव मंदिरको जीर्णद्वार, वाल तथा व्लक निर्माण, चौतारा निर्माण, सडक मर्मतसँगै १०८ वटा शिव लिङ्ग निर्माण गरिएको डिभिजन वन कार्यालयका ईन्जिनियर रविन महतले जानकारी दिए ।

उनले वीरेन्द्रनगर–१४, सिद्धपाईलामा १५ लाख रुपैयाँको लागतमा शिव मन्दिरको जीर्णद्वारसँगै रिटेलिङ वाल, सिडी निर्माण, रेलिङ र पेटी निर्माण गरिएको बताए । उनका अनुसार वन कार्यालयले अहिले सांस्कृतिक सम्पदाहरुको महत्वका आधारमा तिनीहरुको संरक्षण र व्यवस्थापन गर्दै नागरिकसँगको हातेमालो अभियानलाई तीव्रता दिएको छ ।

यसैवीच जिल्ला समन्वय प्रमुख गंगाराम सुनारको नेतृत्वमा प्रदेश सरकारले गरेको लगानीमा तीन वटै मन्दिरको जीर्णद्वार मर्मत तथा निर्माण कार्यको अनुगमन गरिएको छ । अनुगमनमा तीन वटै मन्दिरको जीर्णद्वार मर्मत तथा निर्माण कार्य सन्तोषजनक पाईएको समन्वय प्रमुख सुनारले जानकारी दिए ।

Translate »