म्याद नाघेका वस्तु विक्री रोकौं !
बजारमा जुनसुकै सामान खरिद गर्दा पनि त्यसमा सुरक्षित उपभोग्य समयावधि तोकिएको हुन्छ । त्यसरी तोकिएको म्याद गुज्रिएको सामान बजारमा बिक्री गर्न नपाउने कानुनमा उल्लेख छ । यदि कसैले म्याद गुज्रिएको सामान बिक्री गरेमा उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही हुने व्यवस्था छ । तर कर्णालीका बजारमा सिधासादा उपभोक्तालाई व्यापारीहरुले विभिन्न बहानामा ठगिरहेका छन् । उपभोक्ता हित संरक्षण ऐनले उपभोक्तालाई ठगी गर्ने, सामानको मूल्यसूची नराख्ने, म्याद गुज्रिएको सामान बिक्री गर्नेलगायत विभिन्न क्रियाकलाप गर्ने व्यापारी कानूनको व्यवस्था गरेपनि कार्यान्वयन पक्ष फितलो हुँदा उपभोक्ता मारमा परेका हुन् । एक त बियर स्वास्थ्यका लागि लाभदायक छैन, त्यसमाथि म्याद नाघेको बियर अनायास खाइएपनि त्यसले नोक्सान नै पु¥याउँछ । मानव स्वास्थ्यका लागि कुनै पनि मदिराजन्य पेय पदार्थ कुनैपनि कोणबाट फाइदाजनक मानिँदैन । त्यसमा पनि म्याद गुज्रिएका यस्ता पेय पदार्थ सीधै मानिसको शरीरमा प्रतिकुल असर पु¥याउँछन् । केही समययता कर्णाली प्रदेशभरी म्याद गुज्रिएका पेय पदार्थ व्यापाक मात्रामा बिक्री वितरण भइरहेका छन् ।
गर्मीयाम लागेसँगै कर्णालीमा गर्मीले वियरको माग बढेपछि विक्रेताले यसरी नै झुक्याएर म्याद नाघेको बियर खुवाउने गरेका छन् । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयले आक्कलझुक्कल यस्ता पेय पदार्थ बिक्री वितरण नगर्न सचेत गराउने गरेको छ । बेला–बेलामा कारबाही गरे पनि बिक्री हुन भने रोकिएको छैन । विहीबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगर स्थित पिपिराचोक देउती बज्यै जाने बाटोमा नेपालकै चर्चित चौधरी ग्रप (सीजी) ले उत्पादन गरेको मुस्ताङ वियर म्याद नाघेको भेटिएको हो । पिपिरा चोक स्थित गायत्री कोल्ड सेन्टरबाट खरिद गरिएको मुस्ताङ वियर दुई वर्ष पहिले नै म्याद नाघेको भेटिएपछि अनुगमन टोलीले कार्वाही नै ती म्याद नाघेका वियर नष्ट गरेको छ । कर्णालीका सुर्खेतसँगै दैलेख, जाजरकोट, कालिकोट, जुम्ला र मुगुका बजारमा म्याद नाघेका चौधरी ग्रपका वियर छ्यात¥छयाती फेला परेका छन् । राजनीतिक आवरण ओढेको चौधरी ग्रपले जनताको स्वास्थ्यमाथि खेलबाड गर्दा पनि सरकारी निकाय भने मौन भएर बसेको छ ।
अहिले सो कम्पनीबाट उत्पादित बियरमध्ये ३५ प्रतिशत बढी म्याद गुज्रिएका बियर बजारमा रहेका छन् । मदिराजन्य कम्पनीहरुले उपभोक्तालाई ठगी गर्दै आएकाले उनीहरुलाई मुलुकी अपराध संहिताको ठगी महलअन्तर्गत मुद्दा चलाउनुपर्नेमा उपभोक्ता संरक्षण ऐन २०७५ मा ठगी खानेहरुलाई उन्मुक्ति दिन खोजिएको देखिन्छ । सो ऐनमा म्याद गुज्रिएको सामान बजारमा भए जफत गर्ने र कम्पनीलाई ३ लाखसम्म जरिमाना गराउने व्यवस्था भएकाले कम्पनीलाई ३ लाख जरिमाना तिर्नु ठूलो कुरा होइन । त्यस्ता म्याद गुज्रिएका सामग्रीको गुणस्तर न्यून हुने र त्यस्ता खाद्य सामग्री प्रयोग गरे स्वास्थ्य समस्यासमेत निम्तिन सक्छ । उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएपनि व्यक्तिगत मुनाफाका निम्ति कतिपय व्यापारीले त्यस्तो गर्ने पाईएको छ । अब तीनै तहका सरकारले बजार अनुगमनलाई कडाई गरी उपभोक्ता अधिकारको रक्षा गर्नु पर्छ । उपभोक्ता अधिकारका लागि नियमनकारी निकाय समेत बढी सचेत हुन जरुरी देखिन्छ ।