विश्वकै आकर्षक गन्तव्य बर्दियाको ‘बुर्हान वाइल्डनेस क्याम्प’
काठमाडौं । विश्वप्रसिद्ध ‘टाइम’ पत्रिकाले कर्णाली नदीको दुई भँगालोको बीचमा अवस्थित ‘बुर्हान वाइल्डनेस क्याम्प’लाई सन् २०२४ मा भ्रमण गर्नैपर्ने विश्वका १०० गन्तव्य सूचीमा राखेको छ । हरेक वर्ष टाइम पत्रिकाले विश्वभरि बस्न र घुम्न सय उत्कृष्ट स्थान समेटेर ‘वल्र्डस ग्रेटेस्ट प्लेसेस’ सूची सार्वजनिक गर्दै आएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जनजिक रहेको ‘बुरहान वाइल्डनेस क्याम्प’ टाइम पत्रिकाले सार्वजनिक गरेको १०० आकर्षक गन्तव्य सूचीको १६औं नम्बरमा छ । टाइम पत्रिकाले विश्वभरिका १०० होटेल, रेस्टुरेन्ट, क्रुज, म्युजियम, पार्कलगायत समेटेर यो सूची बिहीबार सार्वजनिक गरेको हो ।
‘बुरहान वाइल्डनेस क्याम्प’मा पर्यटकले बुट्यान यात्रा (बुसवाक), क्यानो ट्रिप, पन्छी अवलोकन, एन्टी–पोचिङ युनिटसहित वन्यजन्तु ट्र्याकिङ र एसियाली हात्तीमा चढ्ने सुविधा पाउने टाइमले सार्वजनिक गरेको सूची विवरणमा उल्लेख छ । त्यहाँ पर्यटकले एकसिङे गैंडा, बाघ र मृग पनि अवलोकन गर्न पाउँछन् । प्रकृतिमैत्री शैलीमा सञ्चालित बुरहान वाइल्डनेस म्याले त्यहाँकौ जैविक वातावरणलाई कुनै असर नपर्ने गरी संरक्षणलाई पनि प्राथमिकता दिएको टाइम पत्रिकाले जनाएको छ ।
यो क्याम्प अन्तर्राष्ट्रिय गन्तव्य सूचीमा पर्नु गौरवको विषय भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन् । ‘विश्वको गन्तव्य सूचीमा यो स्थान समावेश हुनुले नेपाल सुपर–लक्जरी डेस्टिनेसनका रूपमा परिचित भएको छ ,’ उनले भने । यसअघिसम्म ‘वाइल्ड लाइभ टुरिजम’मा चितवनको वर्चस्व रहेकोमा अहिले बर्दिया पनि यो दौडमा समावेश भएको उनको तर्क छ । लामिछानेका अनुसार यस प्रकारको प्रचारप्रसारले त्यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्नेछ ।
‘जेन गोडाल इन्स्टिच्युट’का पूर्वनिर्देशकसमेत रहेका संरक्षणविद् मनोज गौतमले ‘बुर्हान वाइल्डनेस क्याम्प’ स्थापना गरेका हुन्। यो क्याम्पले स्थानीय समुदायलाई अत्यधिक लाभ सुनिश्चित गर्दै प्रकृति र संस्कृति संरक्षणमा मद्दत गरेको छ।
आगन्तुकलाई स्थानीय र जैविक खाना प्रदान गर्ने यो क्याम्पले आदिवासी थारू संस्कृतिलाई पनि टेवा दिएको टाइम पत्रिकामा उल्लेख छ । यसैगरी यो क्याम्पले स्थानीय युवालाई उद्धार र गाइडसम्बन्धी तालिम तथा रोजगार प्रदान गरेको छ । ‘हामी बर्दिया निकुञ्जको बफर जोनमा उत्तरदायीपूर्ण पर्यटनको विकास गर्न चाहन्छौं,’ गौतमलाई उद्धृत गर्दै टाइम पत्रिकाले लेखेको छ । उनले यस प्रकारका क्याम्प देशका अन्य स्थानमा समेत स्थापन गर्ने लक्ष्य लिएको पत्रिकाले जनाएको छ ।
तराईको हरियालीबीच ३७४ वर्ग माइल क्षेत्रमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघको संख्या बढेर १२५ पुगेको छ । जैविक विविधताको हिसाबले यो निकुञ्ज निकै धनी मानिन्छ ।