कर्णालीको कृषि कर्म महिलाको काँधमा

लक्ष्मी विक/ सुर्खेत । कर्णालीका महिला व्यावसायिक तरकारी खेतीमार्फत दिगो जीविकोपार्जनका लागि संगठित हुन थालेका छन् ।

साहस नेपालको पाईला परियोजना मार्फत गाउँ तथा टोलमा विभिन्न कृषि समूह गठन गरेर महिलाले आधुनिक तरकारी खेतीसँगै उच्च मूल्यका बालीको संरक्षणमा जुटेका हुन् ।

पुरुषहरु विदेशिने क्रम बढेसँगै प्रदेशको कृषि कार्यको नेतृत्व महिलाको काँधमा छ । महिलालाई व्यवसायिक खेतीमा आबद्ध गराएर आर्थिकरुपमा सबल बनाउन साहस नेपालको पाईला परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ ।

समूहमा आबद्ध हुँदा आधुनिक खेतीको उपाय र अन्य भौतिक तथा प्राविधिक सहयोग मिल्ने भएकाले पनि आफूहरु संगठित बनेको कृषक महिलाहरु बताउँछन् ।

समूहमा आवद्ध ती महिलाले उच्च मूल्यका बालीको खेती मात्र गरेका छैनन्, खाद्य सुरक्षा र आफ्नो परिवारलाई समृद्ध बनाउँदै लगेको साहस नेपाल पाईला परियोजनाका अनुगमन अधिकृत खगेन्द्र विकले बताए ।

उनले जाजरकोटको शिवालय गाउँपालिका र कालिकोटको नरहरिनाथ गाउँपालिकालाई महिला मैत्री, वातावरणीय दृष्टीले दिगो, जलवायु तथा विपद् उत्थानशिल बनाई खाद्य सुरक्षा र जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यले फेल्म नेपालको साझेदारीमा कार्यक्रम सञ्चालन भईरहेको जानकारी दिए ।

‘घरबगैचा प्रबद्र्धनका लागि दुबै गाउँपालिकाका ९० वटै समूहहरुमा क्षमता विकास तालिम प्रदान गरिएको छ,’ उनले भने, ‘उन्नत जातका टमाटर, भान्टा, गाजर, करेला, काँक्रा जस्ता तरकारीको वीउसँगै रोप्ने तरिकाबारे समेत कृषकहरुलाई प्राविधिक ज्ञान र पोषण सुरक्षा सम्वन्धि अभिुमुखिकरण प्रदान गरिएको छ ।’

उनका अनुसार कार्यक्रमले समुदायमा घरबगैचाको महत्वबारे चेतना अभिबृद्धि हुनुका साथै २ देखि ३ वटा घरबगैचाको कम्पोनेन्ट समेत थप गरेका छन ।

जसबाट २ सय २८ घरपरिवारहरुले तरकारी उत्पादनबाट पारिवारिक पोषणको पूर्ती गरी बाँकी तरकारी स्थानीय बजारमा विक्री गरी मासिक  १० हजार रुपैयाँसम्म आम्दानी गरी अर्धव्यवसायिक समेत बनेका छन ।


महिलाहरु व्यावसायिक खेतीबाट आत्मनिर्भर हुन थालेपछि पारिवारिक हिंसाका घटनामा समेत कमी आएको उनले बताए । समग्र कृषि कार्य र पारिवारिक अर्थतन्त्रको नेतृत्व महिलाको हातमा पुगेको भन्दै उनले यसबाट महिला सशक्तीकरणमा समेत टेवा पुगेको जनाए ।

आर्थिकरुपमा सवल हुन थालेपछि विदेशमा मजदुरीका लागि पुगेका पुरुषलाई समेत पछिल्लो समय गाउँमै फिर्ता बोलाउने अवस्था बनेको कृषक महिला बताउँछन् । आर्थिक अवस्था सवल हुन थालेपछि कतिपय पारिवारिक मतभेद र बेमेलहरु पनि अन्त्य भएको उनीहरुको भनाइ छ ।

यता  कर्णाली प्रदेश सरकारले कृषिबाटै गरिबी अन्त्य गर्ने योजना अघि सारेको छ । प्रदेशमा अहिले २६ दशमलव ६९ प्रतिशत नागरिक गरिब छन् । सरकारले प्रदेशवासीलाई गरिबीको चक्रबाट मुक्त गर्न कृषिबाटै गरिबी अन्त्य गर्ने योजना अघि सारेको हो ।

कर्णालीवासीको मुख्य आम्दानीको स्रोत कृषि भएकाले कृषिमा नयाँ प्रविधि र लगानीमार्फत नागरिकलाई आत्मनिर्भर बनाइने प्रदेश सरकारको भनाइ छ ।

चालु आर्थिक बर्षका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग १ अर्ब ८६ करोड बराबरको बजेट छ । कृषिको आधुनिकीकरण र पशुपन्छीमा लगानी गरेर रोजगारी सिर्जना गर्ने मन्त्रालयको योजना छ ।

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले प्रदेशको गरिबी घटाउन कृषिमा लगानी अनिवार्य भएको बताए । उनले भने, ‘हाम्रो प्रदेशको मुख्य जीवन निर्वाहको स्रोत कृषि नै हो । अधिकांश परिवारले कृषिबाटै जीविकोपार्जन गरिरहेका छन् ।

त्यसकारण पनि सरकारले कृषिबाटै नागरिकलाई आत्मनिर्भर बनाउने योजना बनाएको छ, यसका लागि हामी कृषिमा लगानी गरेर रोजगारी सिर्जना गर्दै नागरिकलाई आत्मनिर्भर बनाउने छौं ।’

उनका अनुसार मन्त्रालयले कृषिमा लगानी बढाउने, किसानलाई अनुदान, खेतीमा नयाँ प्रविधिको प्रयोग, कृषिमा युवालाई आकर्षित, तरकारी र फलफुल खेतीमा प्रोत्साहन, पशुपालनमा लगानी, सिँचाइ र औजारको व्यवस्थापन र व्यावसायिक पशुपालनका लागि किसानलाई प्रोत्साहन गरेर नागरिकलाई आत्मनिर्भर बनाउने योजना बनाएको छ ।

-पत्रकार लक्ष्मी विक स्काई न्यूज दैनिकका लागि महिला, बालबालिका, कृषि तथा शिक्षा विषयमा समाचार लेखन तथा सम्पादन  गर्नुहुन्छ ।

Translate »