उपभोक्ता अधिकारप्रति जिम्मेवार बन्न सुर्खेतका प्रजिअ आचार्यको आग्रह
वीरेन्द्रनगर । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले उपभोक्ता अधिकारप्रति सबै जिम्मेवार बन्न आग्रह गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले शुक्रबार वीरेन्द्नगरमा आयोजना गरेको खाद्य गुणस्तर उपभोक्ता अधिकार तथा बजार अनुगमन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ आचार्यले उपभोक्ताको अधिकार रक्षाका लागि विक्रेताहरु समेत जिम्मेवार बन्न आवश्यक रहेको औल्याए ।
बजार अनुगमनलाई प्रभावकारी र सुधारोन्मुख बनाउन उपभोक्ता, व्यवसायी र नियमनकारी निकाय वीच हातमालो हुन आवश्यक रहेको उनको भनाइ थियो । उनले सचेत भएमा मात्र जिम्मेवार निकायलाई जबाफदेही बनाउन सकिने बताए ।
कार्यक्रमका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमु्ख डाक्टर क्षितिज श्रेष्ठले उपभोक्ताको स्वस्थ्यसँग प्रतिकुल प्रभाव छोड्ने कुनै पनि खाद्यवस्तुको नियमन, अनुगमन लगायतका कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट हुँदै आईरहेको बताए । उनले बजार अनुगमन, सीप हस्तान्तरण र सचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिँदै डा.श्रेष्ठले समग्र खाद्यलाई सुरक्षित राख्न उपभोक्ता सजग हुनुपर्ने औल्याए ।
खानाका लागि बाँच्ने नभई बाँच्नका लागि खानुपर्ने भएकाले स्वास्थ्यबद्र्धक र पोषणयुक्त खानापिनको वातावरण बनाउन सबै पक्षको दायित्व रहेको उनको भनाइ थियो । वीरेन्द्रनगर नगरपालिकाका उद्योग तथा अनुगमन अधिकृत दिपेन्द्र सुवेदीले निरन्तरको खबरदारी र अनुगमनले बजारमा तुलनात्मकरुपमा सुधारोन्मुक भएपनि अझै थुप्रै क्षेत्रमा सुधारको खाँचो रहेको जनाए ।
उनले वीरेन्द्रनगरका बजार क्षेत्रमा रहेका अधिकांस मासु पसलहरु मापदण्ड अनुरुप सञ्चालन नहुँदा अहिलेपनि थुप्रै उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु पाउन नसकिरहेको बताए । उनका अनुसार अहिले पनि थुप्रै मासु पसलहरुले पारम्पारिक तरिकाले नै विक्री वितरण गरिरहेकाले मासुको गुणस्तर सुधार हुन सकेको छैन् ।
नापतौल तथा गुणस्तर कार्यालय सुर्खेतका प्रमुख ऋषभ ढुङगानाले मापदण्ड विपरितका ढक तराजु खारेज गरेर डिजिटल तराजु मात्र राख्न आग्रह गरिएपनि अझै सुधार गर्न बाँकी रहेको जनाए । विभिन्न खुद्रा तथा थोक पसलहरुमा ढक तराजु र डिजिटल तराजुको निरीक्षण तीब्र पारिएको बताउँदै उनले अनुगमनका क्रममा मापदण्ड नपुगेका तराजुहरु जफत गरिने जानकारी दिए ।
नापतौल कार्यालयमा दर्ता गराएर मात्रै डिजिटल तराजु चलाउनुपर्ने नियम भएपनि सही तौल नगर्ने, मापदण्डअनुसार विपरित रहेका र उपभोक्तालाई ठग्ने नियतले बनाइएका ढक तथा तराजु खारेजका लागि कार्यालयबाट नियमित अनुगमन भईरहेको उनको भनाइ थियो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत माधवप्रसाद न्यौपानेले बजारमा धेरैजसो पसलेले मूल्यसूची नराख्ने, साईन बोर्ड नराख्ने, कतिपय खाद्य सामग्रीमा पूर्ण लेबल नहुने गरेको, म्याद नलेखएिको वा लतपतिएर नबुझिने हुने गरेको अनुगमनका क्रममा फेला पारेको जानकारी दिए ।
उनले व्यवसायीलाई कानूनको परिधि भित्र रहेर आफ्नो व्यवसायिक जिम्मेवारी पुरा गर्न आग्रह गरे । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले तुलनात्मकरुपमा उपभोक्ता अधिकारप्रति व्यवसायीहरु जिम्मेवार रहेपनि केही पुराना कानूनी अचड्नले बेला–न–कुबेला नियमनकारी निकाय र व्यवसाय वीच अन्तर विरोध कायमै रहेको जनाए ।
‘बजार पहिलेको भन्दा धेरै सुधार भएको छ । उपभोक्ता अधिकारप्रति व्यवसायीहरु जिम्मेवार पनि छन्,’ उनले भने, ‘तर, कर्णाली जस्तो टे«ड विजनेसको हवमा अधिकांस वस्तु बाहिरबाटै निर्यात गर्नुपर्ने परिस्थितिका कारणले मुहानदेखिनै गंदा रहेको सिस्टमलाई एकैचोटी तल मात्र सफा गरेर सफा हुन समय लाग्छ ।’
उनले पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दी, बैंकको बढ्दो व्याजदर जस्ता कारणले व्यवसायीहरु अहिलेपनि मर्कामै रहेकाले सुर्खेत उद्योग वाणिज्य संघ नियमनकारी निकायसँग हातेमालो गर्न तयार रहेको बताए । संघका महासचिव भद्र भण्डारीले बजारमा देखा परेका समस्या समाधानका लागि नै खाद्य गुणस्तर उपभोक्ता अधिकार तथा बजार अनुगमन विषयक अन्तरक्रिया आयोजना गरिएकाले केही हदसम्म बजारमा सुधार आउने अपेक्षा व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रमका सहभागि अधिकांस व्यवसायीहरुले बजारमा अनुगमनका नाममा आतंक मच्चाउने काम रोक्नु पर्ने, स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने, सबै ठाउँमा नियम, कानून नै पालना गर्न नहुने, कतिपय ठाउँमा व्यवहारिकता पनि मिलाउन सरोकारवाला पक्षसँग आग्रह गरेका थिए ।