सुर्खेतमा ट्राफिक नियम उल्लंघन बढ्दो : सवारी कार्वाहीबाट करिब पौने चार करोड राजश्व संकलन

डिल बहादुर खत्री /सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गएका तीन आर्थिक वर्षमा सवारी कारबाहीबाट करिब पौने चार करोड राजश्व संकलन गरेको छ ।

ट्राफिक प्रहरीले त्यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ५० हजार २ सय २२ सवारी साधन माथि कारवाही गरी ३ करोड ७३ लाख ९ हजार ५ सय रुपैयाँ संकलन गरेको हो । गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार ८ सय ८९ वटा सवारी साधनलाई कारवाही गरी एक करोड १६ लाख ३५ हजार रुपैयाँ संकलन गरेको ट्राफिक प्रहरीले बताएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लामा सवारी कारबाहीबाट प्रत्यक वर्ष एक करोड बढी नै राजश्व संकलन हुने गरेको छ । दिन प्रतिदिन सवारी चाप बढेसँगै ट्राफिक नियमको बेवास्ता गर्नेहरु पनि बढेका छन् । प्रहरीले सवारी कार्बाहीबाट वर्षेनी संकलन गर्ने राजश्वले सडकमा सवारी नियमको उल्लंघन बढ्दै गएको देखिन्छ ।

विभिन्न समयमा ट्राफिक नियमको उल्लघंन गर्नेलाई कारबाही गर्दा उक्त राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मालवाहक, निजी र यात्रुवाहक सवारी साधन लगायतका साना र ठूला सवारी साधनलाई कारबाहीमा परेका हुन् । सडकमा लापरवाही तरिकाले सवारी चलाउने, लेन क्रस गर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सवारीलाई प्रहरीले कारबाही गर्ने गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा १९ हजार ६ सय ३१ सवारी साधनहरु कारवाहीमा परेका थिए । उक्त कारवाहीबाट १ करोड ४७ लाख ६३ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १४ हजार ७ सय २ वटा सवारी साधनलाई कारवाही गर्दा १ करोड ९ लाख ११ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख (प्रहरी निरीक्षक) राजन पौडेलले नम्बर प्लेट नभएका, मादकपदार्थ सेवन गरेर सवारी चलाएका, नो पार्किङ्गमा सवारी रोकेका, हेल्मेट नलगाएका तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाही गरिएको बताए । उनका अनुसार सवारी कागजात नवीकरण नगरेका र सवारी चालक अनुमति–पत्र नभएकालाई पनि कारबाही हुने गरेको छ ।

ट्राफिक नियमको जानकारी हुँदाहुँदै पनि त्यसलाई नियतवश पालना नगर्दा सवारी दुर्घटनासमेत निम्तिने गरेको प्रहरी निरीक्षक पौडेल बताउँछन् । उनले राजश्व धेरै उठ्नुले ट्राफिक नियमको बढी उल्लघंन भएको देखाउने बताए । ‘प्रहरीको सक्रियताले पनि कारबाहीको संख्या बढेको हो,’ उनले भने, ‘सवारी चाप बढेसँगै सवारी नियम पालना नगर्नेहरु पनि बढिरहेका छन् ।’

बढ्दो सवारी नियम उल्लंघनले सडक दुर्घटना समेत निम्तिने गरेको छ । सडकमा हुने अधिकांश दुर्घटना मानवीय कमजोरीका कारण हुने गरेका छन् । तीन वर्षको यो अवधिमा सुर्खेतमा मात्रै १ हजार १ सय ९५ वटा सवारी दुर्घटनामा परी ८९ जनाले ज्यान गुमाएका छन् । त्यसमा २ हजार ९० जना घाईते भएका छन भने ती मध्ये ४ सय ५२ जना गम्भिर घाईते भएका थिए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा बढ्दो जनसंख्या र ट्राफिक नियमको उल्लंघनले दुर्घटनाको जोखिम उच्च छ । प्रहरी निरीक्षक पौडेलले भने, ‘थाहा नभएर नियमको पालना नगर्नेले दोस्रो पटक सुधार गर्छ । जानाजान अटेर गर्नेहरुका कारण अधिकांश दुर्घटना हुने गरेका छन् ।’

उनले प्रदेश राजधानी सुर्खेतमा ट्राफिक व्यवस्थापनको लागि विभिन्न समयमा सवारी चालक तथा पैदल यात्रीलाई सचेतनामूलक कार्यक्रम गरिँदै आएको बताए । ट्राफिक नियमको जानकारी र लामो दूरीको सडकमा छड्के चेकजाँच दैनिक हुने गरेको जनाए ।

-पत्रकार डिल बहादुर खत्री स्काई न्यूज दैनिकका लागि क्राईम, अर्थ राजनीति र विकास निर्माणमा समाचार लेखन तथा सम्पादन गर्नु हुन्छ ।

Translate »