भेरी पम्पिङ निर्माण गर्न चिनियाँ कम्पनीसँग हस्ताक्षर
सुर्खेत । भेरी पम्पिङ खानेपानी आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग हस्ताक्षर भएको छ ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा खानेपानी समस्याको दीर्घकालिन समाधानका लागि बुधबार वीरेन्द्रनगरमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाई कार्यालय सुर्खेत र चिनियाँ कम्पनीबीच सम्झौता भएसँगै भेरी लिफ्टिङ खानेपानी उपआयोजना निर्माण चरणमा प्रवेश गरेको हो ।
करिब ३ अर्ब ८ करोड बढी लागत लाग्ने अनुमान गरिएको भेरी पम्पिङ खानेपानी आयोजना निर्माणका लागि आयोजना इकाईका प्रमुख सञ्जिवकुमार साह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र चिनियाँ कम्पनी जि–ज्याङ टिम्स इन्टरनेसनल इक्नोमिक एण्ड टेक्निकल को–अप्रेशन कम्पनी लिमिटेडका प्रतिनिधि सुशीलकुमार श्रेष्ठबीच त्रि–पक्षिय निर्माण सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
भेरी नदीको पानीलाई पम्पिङ गरी लिफ्टको सहायताले वीरेन्द्रनगरमा ल्याइ उपभोक्ताहरुलाई वितरण गर्न विश्व बैंकको सहयोगमा उपआयोजना शुरु भएको हो । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाईका प्रमुख साहले गत वर्षको असोजमा कामका लागि ठेक्का आव्हान गरिएकोमा सात वटा कम्पनी मध्य पाँच वटा वीच प्रतिस्पर्धामा भएकोमा चिनियाँ कम्पनी जि–ज्याङ टिम्स इन्टरनेशनले २४.०८ प्रतिशत घटेर तीन अर्ब पाँच करोड आठ लाखमा सो कामको ठेक्का प्राप्त गर्न सफल भएको जानकारी दिए ।
उनले आगामी तीन वर्षभित्र भेरी नदीको पानी वीरेन्द्रनगरको वीरेन्द्रनगरको अमृतडाँडामा ९० लाख लिटरको ट्यांकी बनाएर पानी जम्मा गरिने बताए । उनका अनुसार भेरी नदीबाट ५६० लिटर प्रतिसेकेण्ड पानी लिफ्ट गर्नुका लागि २९ किमि पाइप विछ्याइनेछ । उपआयोजना निर्माणको ठेक्का प्राप्त गरेको चिनियाँ कम्पनी जि–ज्याङ टिम्स इन्टरनेशनलका प्रतिनिधि श्रेष्ठले कुनै अवरोध नभए तोकिएको समयभित्रै सबै काम सम्पन्न गरिने बताए ।
अहिले ६ दिनमा एक पटक पानी आउने चर्को अभाव भोगिरहेको बेला यो आयोजना सम्पन्न भएमा खानेपानीको समस्या समाधान हुने सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कूलमणि देवकोटाले बताए । वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले नगरपालिकाले गौरवको आयोजनाका रुपमा अपनत्व लिने गरी विशेष प्राथमिकतामा राखेर भेरीको पानी लिफ्ट गरेर ल्याउन लागिएको बताइन् । उनले पम्पिङ गरेर ल्याउन लागिएको नेपालकै सबैभन्दा ठूलो आयोजना भएको दाबी गरिन् ।
‘यो आयोजनाले खानेपानीको दीर्घकालीन समस्या समाधान गर्नेमा हामी विश्वस्त छौं,’ उनले भनिन, ‘तोकिएकै समय सीमा भित्र ढुक्क भएर काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्छु ।’ उनले वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसंख्यालाई मध्यनजर गरी खानेपानीको सहज आपूर्ति पु¥याउने लक्ष्यका साथ आयोजना निर्माण गर्न लागिएको बताईन् ।
संघीय खानेपानी मन्त्रालयले विश्व बैङ्कको ऋण सहयोगमा चालू आर्थिक वर्ष २०८१/०८२ बाट संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याउन शुरु गरिनेछ ।
वीरेन्द्रनगरमा हाल दैनिक ३२० लिटर प्रतिसेकण्ड पानीको माग भएपनि आपूर्ति भने प्रतिसेकेन्ड १५३ लिटर भइरहेको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागू गर्दै आएको छ ।