केन्द्रका मन्त्रीलाई रारामा प्रतिबन्ध लगाउनुपर्ने हो कि

विष्णुकुमार भाम । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य राराताल मुलुककै सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा छ । रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस तालको लम्बाइ ५ किलोमिटर र चौडाइ करिब ३ किलोमिटर र गहिराइ १ सय ६७ मिटर छ । प्रकृतिको उपहारको रूपमा सिर्जित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुंगीले समेत थप शोभा दिएका छन् ।

रारातालमा सिस्ने हिमाल र कान्जिरोबा हिमालको मनोरम दृश्य देखिन्छन । साथै अन्यत्र कहीँ नपाइने ‘असला’ जातको माछा पाइन्छ । संसारमा नीलो पानी रारातालमा छ । भनिन्छ, यहाँ पुगेपछि ढुंगाकै मन भए पनि पग्लिन्छ रे ! रारामा २ सय ३६ प्रजातिका चरा पाइन्छन् । जेठदेखि असोजसम्म विभिन्न फूलहरू पहिरिएर स्वर्गकी अप्सरा झैं देखिने रारातालको शोभा रारा निकुन्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइ दिएका हुन्छन् ।


यो ताल मुगुको मात्र नभई समग्र देशको गौरव बोकेको पर्यटकीय स्थल हो ।  यसको संरक्षण तथा प्रचार गरी अन्तर्राष्ट्रिय तहमा प्रचार गर्न सकिए प्रशस्त पर्यटक भित्रिने र यस क्षेत्रमा आर्थिक गतिविधि बढाउने निश्चित छ । तर, संघीय सरकारले राराको प्रबद्र्धनका लागि बजेट, नीति तथा कार्यक्रममा उपेक्षा गर्दै आएको छ । संघीय सरकारका मन्त्रीहरूलाई रारा घुम्न आउँदा नगरपालिकाले स्वागत गर्नुपर्ने, खाने बस्ने व्यवस्था मिलाउनुपर्ने, गाडीमा तेल हालिदिनुपर्छ । तर, रारा प्रबद्र्धन तथा यहाँको पूर्वाधार विकासका लागि हरेक वर्षको बजेटमा नसमेटिनुले निकै दुखित छौं । त्यसैकारण संघीय सरकारका मन्त्रीहरूलाई रारामा प्रतिबन्ध लगाउनुपर्ने अवस्था आएको छ । अन्नपूर्ण पोष्ट

(भाम, छायानाथ रारा नगरपालिका मुगुका मेयर हुन् ।)

 

Translate »