तिज विशेष : शेयरबजारमा जमेका महिला लगानीकर्ता
काठमाडौं । सानै उमेरमा शेयरबजारबाट नाम दाम कमाउन सफल परिचित नाम हो– राधा पोखरेल । नेपाल पूँजी बजार लगानीकर्ता संघको अध्यक्षसमेत रहेकी पोखरेलको यात्रा शेयरबजारमा लामो छैन । शुरूमा तत्कालीन सेञ्चुरी बैंकको प्रारम्भिक शेयर निष्कासन (आईपीओ) मा सहभागी भएर शेयरबजारमा प्रवेश गरेकी उनी त्यसबेला भर्खरै एसएलसी दिएर बसेकी थिइन् । त्यसपछि २०७० सालदेखिमात्र उनले धितोपत्रको दोस्रो बजारमा कारोबार शुरू गरेकी थिइन् ।
शुरूमा एउटा सहकारीमा कर्मचारीका रूपमा कार्यरत उनले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको आईपीओ भर्दा राम्रो प्रतिफल प्राप्त भएपछि शेयरको दोस्रो बजारमा हाम्फाल्ने निधो गरिन् । ‘मैले जागीर नै छोडेर दोस्रो बजारमा कारोबार गर्न थालें,’ उनले आर्थिक अभियानसँग भनिन्, ‘सुरूआती चरणमा ब्रोकरकहाँ जाँदा महिला दिदीबहीनीहरू कम हुनुहुन्थ्यो ।’
शुरूमा दोस्रो बजारमा प्रवेश गर्दा बजार १३ सय बिन्दुमा थियो, जुन पछि बढेर ३ हजार १९८ सम्म पुग्दा राम्रो प्रतिफल प्राप्त गरेको अनुभव छ पोखरेलको । बीचमा शेयरबजार तल जाँदा भने उनले प्रतिफल केही गुमाउनु पनि पर्यो । ‘शेयरबजार घटबढ भइरहन्छ सधैं घटिरहने पनि होइन बढिरहने पनि होइन,’ उनले भनिन्, ‘तर, लगानी गर्नुपूर्व बजार र कम्पनीका बारेमा अध्ययन गर्नुपर्छ जस्तो लाग्छ ।’ यसबीचमा आफ्नो व्यक्तित्व पनि बढाएकी पोखरेल तीजको बेला महिलाहरूले अनावश्यक खर्च गर्नेभन्दा शेयरबजारमा राम्रा कम्पनी छानेर लगानी गर्दा उपयुक्त हुने धारणा राख्छिन् ।
शेयरबजारमा जमेकी अर्की महिला हुन्– पोखराकी लगानीकर्ता विष्णु पराजुली । एक दशकअघि ५० हजार रुपैयाँबाट लगानी थालेकी उनी हाल करोड बढीको कारोबार गर्छिन् । उनले शेयरबजारमा लगानी शुरू गरेको २०७१ सालदेखि हो । ‘त्यो समयमा अनलाइन कारोबार हुन्थेन । ब्रोकर कार्यालयमा गएर लाइन बसेर यो यो कम्पनी किनिदिनु भन्नुपथ्र्यो । सीमित मान्छेले मात्रै त्यो समयमा शेयर कारोबार गर्थे,’ उनी सम्झिन्छिन् उनी पहिले दोस्रो बजारबाटै शेयरबजारमा प्रवेश गरेकी हुन् । उनले आईपीओमा लगानी गर्न थालेको पछि मात्रै हो ।
त्यसबेला काठमाडौं उपत्यकाबाहिर हुनेले शेयरबजारमा कारोबार गर्न अहिले जस्तो सहज थिएन । ‘मेरो मामा बैंकमा काम गर्नुहुन्थ्यो । उहाँले भनेर ब्रोकरमा ११ बजेबाट ३ बजेसम्म बसेर सबै कुरा सुन्थें । त्यसबाट केही बुझें । शुरू शुरूमा थोरैथोरै कित्ता शेयर खरीद गरे । मैले पहिला ५० हजार रुपैयाँ लगानी गरेको हो । पछाडि बढाउँदै कमाउँदै अहिले आइपुग्दा मेरो लगानी १ करोडभन्दा बढी पुगेको छ,’ उनले भनिन्, ‘अहिलेसम्म शेयरबजारमा अनवरत लगानी गर्दै आएको छु ।’
अर्की सफल लगानीकर्ता हुन्, दुर्गा तिवारी । लगानीकर्ताका रूपमा सफल भएपछि हाल उनले शेयर ब्रोकर कम्पनी पनि खोलेकी छन् । शुरूमा ५ लाख रुपैयाँ शेयरमा लगानी गरेर यो बजारमा प्रवेश गरेकी उनले पछाडि फर्केर हेर्नुपरेको छैन । धितोपत्रको दोस्रो बजारमा २०६३ सालदेखि लगानी शुरू गरेको उनले बताइन् । त्यो समयमा नेप्सेले ११७५ को उच्च बिन्दु बनाएर तल झर्दा उनी दोस्रो बजारमा कारोबार गर्दै थिइन् ।
उनले पनि शुरूमा दोस्रो बजारमा लगानी गरेर त्यसपछि आईपीओमा लगानी गर्न थालेको जानकारी दिइन् । लगानीकर्ताका रूपमा सफल भएपछि १ वर्षयता उनी ब्रोकर सञ्चालकका रूपमा रहेकी छन् । ‘शेयरबजारमा धैर्य हुनुपर्छ । एकपटक सफल भइन्छ जस्तो लाग्छ । मार्केट घट्दो ट्रेन्डमा छ भने थोरै किनबेच गर्ने सकेसम्म र कर्जा सेटल गर्ने । बजार बढ्दो छ भने सकेसम्म पैसाको स्रोत थुपारेर ठूलो लगानी गर्नुपर्छ,’ उनले सुझाव दिइन् ।
शेयर लगानीमा अब्बल यी महिलाको सुझाव छ– तीजका बेला खर्चमा भन्दा लगानीमा ध्यान दिँदा महिलाहरू आर्थिक स्वतन्त्रता पाउन सक्षम हुन्छन् । ‘तीजमा गर्ने अनावश्यक खर्च बचत गरेर शेयरबजारमा लगानी गर्नुहोस् भन्छु । हामीले हाम्रो संस्कृति बचाइराख्नुपर्छ । तीजलाई भनेर छुट्टै लुगा, गरगहना खरीद गर्नुभन्दा त्यो पैसा शेयरबजारमा लगाउनु राम्रो हो,’ पराजुली भन्छिन् । आर्थिक अभियान