असोज पहिलो सातादेखि खाद्यले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दै
सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको छ ।
कम्पनीले कर्णाली प्रदेश राजधानी सुर्खेतसहित नौ जिल्लामा एक साथ पहिलो चरणमा दशैंलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । उपभोक्ताको माग आएमा दशैदेखि तिहारहुँदै छठ पर्वसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने खाद्यको लक्ष्य रहेको छ ।
कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रका अनुसार सुर्खेतसहित दैलेख, जाजरकोट, कालिकोट, रुकुम पश्चिम, डोल्पा, मुगु, जुम्ला र हुम्लामा एकसाथ चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको छ । उनले सुपथ मूल्य पसलमा बजार मूल्य भन्दा ५ देखि १० रुपैयाँसम्म सस्तो हुने बताए ।
खाद्यले हरेक वर्ष चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीले गत वर्ष पनि प्रदेशका सल्यान बाहेक ९ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । उपभोक्ताको उच्च मागलाई मध्यनजर गरेर यसवर्ष चार प्रकारका चामलसँगै तेल, ध्यू र दाल विक्री गरिने प्रादेशिक प्रमुख मिश्रले स्काई न्यूजलाई बताए ।
उनले यसवर्ष स्थानीय तहसँग पनि समन्वयन गर्ने सम्भावना भएकाले सुर्खेत जिल्ला सदरमुकाम वीरेन्द्रनगरसँगै कम्तिमा अन्य ३ स्थानमा सुपथ पसल सञ्चालन हुनसक्ने जनाए । स्थानीय सरकारहरुले इच्छा देखाएर खाद्यको सामग्री बिक्री गर्न चाहेमा खाद्यले हार्दिकताका साथ समन्वयन गर्ने उनको भनाइ थियो ।
सामग्रीहरुको मूल्य मन्त्रालयले तय गर्ने भएकाले कुन सामग्रीको मूल्य कति पर्छ भनेर अहिले नै भन्न नसकिने उनले बताए ।