सुर्खेतमा म्याद नाघेका चाउमिनमा उत्पादन मिति नै परिवर्तन गर्ने उद्योगीको उत्पादन जफत
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको बजार अनुगमन टोलीले उत्पादन मिति नै एक हप्ता अगाडि राखेर चाउमिन विक्री गर्ने उद्योगको उत्पादन जफत गरेको छ ।
अनुगमन टोलीले मंगलबार वीरेन्द्रनगर–९, शिवनगरबाट म्याद नाघेका खाद्य वस्तुको लेवल परिवर्तन गरी कमसल वस्तुलाई झुक्याएर उच्च गुणस्तरको भनेर विक्री वितरण गर्ने ‘सुर्खेत फ्रोजन मःम फुड हाउस’ को दुई सय किलो चाउमिन रंगेहात वरामद गरेको हो । सुर्खेत फ्रोजन मःम फुड हाउसले झुक्याएर लुम्बिनी मिष्ठान भण्डारमा विक्री गरेको चाउमिनमा लेवर परिवर्तन गरी विक्री गरेको पाईएपछि अनुगमन टोलीले उद्योगमै पुगेर चेकजाँच गर्दा म्याद नाघेका कमसल गुणस्तरहिन चाउमिन फेला पारेको जनाएको छ ।
उद्योगकको अनुगमनका क्रममा विक्री नभएर सडेगलेका चाउमिनलाई उद्योगको अगाडि रोडमै घाममा सुकाएर पुनः प्रयोगमा ल्याउने गरेको पाईएको समेत वीरेन्द्रनगर नगरपालिकाका उद्योग तथा अनुगमन शाखा प्रमुख दिपेन सुवेदीले बताए । उनले उद्योगको अनुगमनका क्रममा सुर्खेत फ्रोजन मःम फुड हाउसले म्याद नाघेका कमसल गुणस्तरहिन चाउमिनको उत्पादन मिति नै परिवर्तन गरेर उपभोक्ताको स्वास्थ्यमा गम्भिर खेलवाड गरिरहेको पाईएको जनाए ।
‘बजार अनुगमनका क्रममा केही मिठाई तथा नास्ता पसलमा सुर्खेत फ्रोजन मःम फुड हाउसबाट उत्पादन गरिएका चाउमिनका पोकामा १५ गते नै उत्पादन मिति १६ गते लेखेको पाईयो । सामान्यले आँखाले हेर्दा समेत म्याद नाघेको जस्तो पाईएपछि हाम्रो टोलीले उद्योगमै पुगेर अनुगमन ग¥यो,’ उनले भने, ‘कालोबजारी गर्ने नियतले असोज १५ गते नै चाउमिनको पोकामा उत्पादन मिति १६, १८ र २० गते लेखिका फरक–फरक लटका चाउमिन फेला परेपछि टोलीले उत्पादन जफत गरेका हो । अनुगमनका क्रममा साँझ पर्न थालेपछि भोलिका लागि आवश्यक कागजातसहित नगरपालिकाको उद्योग शाखामा उद्यमीलाई बोलाएका छौं । उपभोक्ताको स्वास्थ्य माथि गम्भिर खेलवाड गर्नेलाई कानून अनुसार अधिकतम् कार्वाही हुन्छ ।’
उनले चाउमिनकै पोकामा उत्पादन भएको मितिले ३ दिनसम्म मात्र खान योग्य रहेको लेखिएपनि स्वयम् उद्योगले एक हप्ता अगाडिको मिति राखेर उत्पादन गरिरहेको पाइएको बताए । उनका अनुसार बजार अनुगमनमा सहभागि विभिन्न नियमनकारी निकायसँग आवश्यक ऐन, कानूनमा टेकेर अदालती कार्वाही अघि बढ्छ ।
उद्योगमा रहेका रिलेवलिङमा प्रयोग भएका सामान तथा उपभोग्य म्याद समाप्त भएका वरामद खाद्य वस्तु स्थानीय प्रहरी, उपभोक्ता अधिकारकर्मीसँगै र जनप्रतिनिधिहरुको रोहवरमा नष्ट गरिने उनले जानकारी दिए ।
सरकारले बजारलाई स्वच्छ बनाई गुणस्तरीय वस्तु उत्पादन तथा बिक्री–वितरणमा जोड दिएपनि बजारमा सडे–गलेका खाद्यवस्तुमा फोहोरमैला मिसिएको वा विषाक्त अवस्थामा राखिएको, मानव उपभोगको लागि अनुपयुक्त हुने देख्दादेख्दैपनि व्यापारीलाई कार्वाही नगरी चेतावनी दिने चलनको अन्त्य गर्न राष्ट्रिय उपभोक्ता मञ्चले माग गरेको छ ।
मञ्चका कर्णाली प्रदेश प्रदेश संयोजक आकाश तारा बयकले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने जुनसुकै व्यापारी तथा उद्यमीलाई हदैसम्मको कार्वाही गर्न आग्रह गरे ।