सुर्खेतका पसलपिच्छे म्याद नाघेका वस्तु
वीरेन्द्रनगर । सुर्खेतका स्थानीय बजारमा पसलपिच्छे अखाद्य तथा म्याद नाघेका वस्तु फेला पर्ने क्रम रोकिएको छैन् ।
वीरेन्द्रनगर नगरपालिकाको संयुक्त अनुगमन टोलीले मंगलबार चाडपर्व लक्षित गरेर गरेको बजार अनुगमनका क्रममा पसलपिच्छे अखाद्य तथा म्याद नाघेका वस्तु भेटिएका हुन् । कर्णाली प्रदेश राजधानी सुर्खेतका अधिकांश पसलमा म्याद नाघेका खाद्य, पेय पदार्थ र अन्य सामग्री भेटिने गरेका छन् । ग्रामीण क्षेत्रका बजारमा मात्र होइन सदरमुकाम आसपासमै म्याद नाघेका गुणस्तरहीन वस्तु भेटिने गरेको पाईएको हो ।
वीरेन्द्रनगर नगरपालिका नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले मंगलबार वीरेन्द्रनगरका विभिन्न स्थानमा बजार अनुगमनका क्रममा पसलपिच्छे म्याद नाघेको र गुणस्तरहिन वस्तु फेला पारेको वीरेन्द्रनगर नगरपालिका उद्योग तथा अनुगमन शाखा प्रमुख दिपेन सुवेदीले जनाए । उनले बजार अनुगमनका क्रममा लुम्बिनी मिष्ठान भण्डारमा फेला परेका सडेगेलका मिठाईसँगै अखाद्य रंगका डिब्बाहरु स्वयम् व्यापारीबाट नष्ट गर्न लगाईएको जनाए ।
उद्योग, उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत थिरबहादुर श्रेष्ठले बजार अनुगमनमा धेरैजसो पसलमा खाद्यान्न सामग्रीमा म्याद नाघेका पाइएको, पेय पदार्थ, कस्मेटिक सामग्रीहरु समेत म्याद नाघेका, कतिपय पसलहरु सम्बन्धित निकायमा दर्ता नभएका पाइने गरेको बताए । उनले बजार अनुगमनका क्रममा व्यापारीहरुलाई सम्बन्धित निकायमा दर्ता हुन, मूल्य सूची राख्न र म्याद गुज्रेका सामग्री बिक्री वितरण नगर्न निर्देशन दिइएको जनाए ।
उनका अनुसार व्यापारीले मूल्य सूची नराखेका, अखाद्य सामग्री बिक्रीवितरण गरेका, लेबल नभएका सामग्री बिक्री वितरण गरेका व्यापारीलाई अर्को पटक सख्त कार्वाही गरिने चेतावनी दिएर छोड्ने गरिएको छ ।
अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने, उपभोक्ताहरुलाई सचेत बनाउने, महंगी र कालोबजारी नियन्त्रण गर्ने उद्देश्यका साथ बजार अनुगमन गर्ने गरिएपनि प्रभावकारी हुन नसकेको राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाशतारा बयकले बताए ।
उनले मानव स्वास्थ्यमा प्रतिकुल असर पुग्ने गुणस्तरहीन खाद्य वस्तु उत्पादन र बिक्री–वितरण गरे सरकारले अधिकतम पाँच वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने कानून बनाएपनि कार्यान्वयन नहुँदा आर्थिक अपराध जस्ता विकृति मौल्याई रहेको जनाए ।
उनका अनुसार दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरण गर्नेलाई हदैसम्मको कार्वाही नभएसम्म बजार नियन्त्रण हुन सक्दैन् ।