चाड मध्येको रमाईलो : तिहार

तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यताकै सांस्कृतिक पर्व हो । होलीलाई जस्तै रङ्गको पर्व पनि भनेर तिहारलाई चिनिने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुका लागि महत्वपूर्ण चाड विजया दशमी जस्तै महत्वपूर्ण र रमाइलो चाड तिहार हो । यो चाडलाई यमपञ्चक पनि भनेर भनिन्छ किनभने यो पर्व ५ दिनको हुन्छ ।यस दिनमा भगवान धनवन्तरीको जन्म भएको हुँदा यस पर्वलाई धनवन्तरी समेत भनिन्छ । यो कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिनदेखि सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितिया तिथिसम्ममा पूरा हुन्छ । कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन अर्थात् तिहारको पूर्वसन्ध्यालाई काग तिहार भनेर चिनिन्छ । दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । तेस्रो दिनलाई गौपूजा अर्थात् गाईतिहार भनिन्छ । चौथो दिनलाई गोबर्धन पूजा अर्थात गोरुको पूजा गरिन्छ । पाँचौँ दिन अर्थात् तिहारको प्रमुख तथा अन्तिम दिनमा भाइटीका लगाएर तिहार पर्व पूरा हुन्छ ।
मौसम परिवर्तन सँगसँगै विभिन्न ऋतुहरु पनि परिवर्तन हुन्छन् । हाम्रो गाउँघरमा चाडपर्वको आगमन हुँदै गर्दा घामको किरण, बादलको रङ्ग, आकाशको निलाम्मे मैदानले संकेत गरिसकेको हुन्छ । मनमा चिन्ता, तनाव बोकेर हिँडेको मान्छेको मुहारमा पनि उज्यालोपना पर्वले ल्याइदिन्छन् । विजया दशमीको १५ दिनपछि तिहारले दैलो उघार्न सुरु गरेको बेलामा घर आँगन, चुलो, चौको, पानी पँधेरामा सफा सुघ्घर गर्ने, सिङ्गारपटार गर्ने गरिन्छ । मौसम पनि न त गर्मी न त जाडो अर्थात् ठिक्कको हुन्छ । प्रकृतिले मानिसलाई खुसी पार्नका लागि हरथक प्रयासरत रहेजस्तै भान हुन्छ ।उता खेतभरी सुन छरेजस्तै पँहेलै लहलह परेका धानका बालाले तिहारलाई स्वागत गरिरहेका हुन्छन् । सेलरोटीका गोला गोला परेका आकारमा तिहारको झल्को प्रष्ट हुन्छ ।
तिहारले विशेष गरेर दिदीभाइको अथाह मायाँ प्रेम, सद्भाव तथा आत्मियतालाई नजिकै बनाउने काम गर्छ । तिहारमा गाउँघरमा विशेष किसिमको रमाइलो हुन्छ । बारीभरी पाकेका सुन्तला, झुलेका पँहेलपुर धानका बाला, कागतीका दाना, लहरे बालीमा बाक्लै फल्ने रानी गिठाले मनमा आनन्दको आभाष दिलाइदिन्छन् । आँगनको डिलमा लगाइएका सयपत्री, मखमली, बाह्रमासे फूलले घरलाई तिहारको माला नै पहिर्याएको महसुस हुन्थ्यो ।
पहिलो दिन काग पूजा
कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन कागको पूजा गरेर मनाइन्छ । कागलाई खाना, पानी, फूलले स्वागत गरिन्छ । काग अत्यन्त चलाख पंक्षी भएको हुँदा यो दिनमा कागको पूजा गर्ने र मानिसहरु पनि कागजस्तै चारैतिर हेर्ने, होसियार रहने र टाँठोबाठो रहने ज्ञान सिक्न सकिन्छ । यसले बालीनालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिने हुँदाबालीनालीको रक्षा गर्ने, यमराजको प्रिय भक्तको रुपमा पनि चिनिने गरिन्छ ।
दोस्रो दिन कुकुर पूजा
कार्तिक कृष्ण पक्षको चतुर्दशीका दिन कुकुरलाई फूल माला, टिका, खाना दिएर कुकुर तिहार मनाइन्छ । यो दिनलाई नरक चतुर्दशी भनेर पनि चिनिन्छ । कुकुर भनेको अत्यन्त बाठो, जस्तोसुकै निद्रामा पनि सामान्य हलचललाई समेत अनुभव गर्न सक्ने, बफादार, इमान्दार प्राणी हो । यसले घरको रक्षा गर्ने, प्राकृतिक प्रकोप, अनिष्ट लगायतका विपत्तिहरुको पूर्वसूचना तथा जानकारी दिने भएको भएर पौराणिक कालदेखि नै तिहारको समयमा यसको पनि पूजा गर्ने संस्कार रहँदै आएको पाइन्छ । मानिसले कुकुर तिहारमा कुकुरलाई पूजा गर्ने मात्र नभई कुकुरबाट बफादारी, आज्ञापालनको शिक्षा सिक्न सकिन्छ ।
तेस्रो दिन गाईतिहार अर्थात् लक्ष्मीपूजा
गाईको त महिमा धर्मग्रन्थ, पौराणिक कथाहरुमा समेत व्याख्यान गरेको पाइन्छ । गाईको दुध, गहुँत, गोबर समेतले किटाणुलाई निषेध गर्ने हुँदा वैज्ञानिक दृष्टिकोणले समेत यो अत्यन्तै महत्वपूर्ण प्राणी हो । गाईलाई गौमाताको नामले समेत चिनिन्छ । गाईको अर्थ लक्ष्मीमाता पनि भएकोले गाईतिहारका बेलामा गाईलाई पूजा अर्चना गरिन्छ । माला लगाइदिने, गाईलाईरङ्गिबिरङ्गी बनाई पूजा गर्ने, गाईको मनपर्दो खानेकुरा खान दिने प्रचलन समेत रहेको छ । गाईतिहारको साँझदेखि देउसी भैलो खेल्ने गरिन्छ ।
कार्तिक कृष्ण औँशीको रातमा अँध्यारो हुन्छ । यसै दिनमा लक्ष्मीको आगमान हुने हुँदा अँध्यारोलाई चिर्दै घरआँगनमा बत्ती बाली दीपावली गरिन्छ । उज्यालोमा लक्ष्मीको आगमन हुने जनविश्वास रहेको छ ।
चौँथौ दिन गोरु/गोबर्धन पूजा
कार्तिक शुक्ल प्रतिपदाको दिनमा गोरुको पूजा गरिन्छ । यो दिनलाई हल तिहार, गोरु तिहार दुवै नामले चिनिन्छ । गोबर्धन पर्वतको समेत पूजा गरिन्छ । पुराणमा उल्लिखित गोबर्धन पर्वत गोकुल नगरी देखि नजिकै रहेको पर्वतको नाम हो । कृष्ण भगवानको समयमा गोकुलबासीहरुले देवराज इन्द्रको पूजा गरेर इन्द्रबाट केही पनि प्राप्त नगरेपछिबाट कृष्ण भगवानले बरु गोबर्धन पर्वतको पूजा गर्ने प्रचलन सुरु गरेको बारेमा पौराणिक कथाहरुमा प्रष्ट उल्लेख गरिएको छ । गोबर्धन पर्वतको पूजा गरेको र आफ्नो पूजा नगरेकोमा देवराज इन्द्र रिसाएर असिना, पानीको वर्षात् गराएर गोकुलबासीहरुलाई दुःख दिएपछि भगवान श्रीकृष्णले गोबर्धन पर्वतलाई उठाएर सबै गोकुलबासीहरुलाई त्यहीँ ओतमा राखेका थिए ।

पाचौँ अर्थात् अन्तिम दिन भाइटीका
कार्तिक शुक्ल द्वितीयाको दिनमा तिहारको मुख्य दिन भाइटीका मनाइन्छ । दिदी-भाइ, दाजु-बहिनीबीचको सद्भाव, आत्मियतालाई मूर्त रुप दिनको लागि दिदी बहिनीले दाजु भाइलाई टीका, फूलमाला, प्रसाद, मिष्ठान्न भोजन, नैवेद्य अर्पण गर्ने र दाजु भाइले दिदी बहिनीलाईदान दक्षिणा, बस्त्र अलङ्कार प्रदान गर्ने प्रचलन रहेको छ ।
यमुनाले आफ्ना दाजु यमराजको चीरआयूको लागि पूजा गरेको दिन, दाजु बहिनीको सद्भाव रहेको यस दिनमा पहिले दिदी बहिनीहरुले दाजु भाइलाई टीका लगाउने ठाउँको केही पर दूरीमाओखर फुटाएर राखिदिने, अनि दाजु भाइलाई टीका लगाउने स्थानमा विराजमान गराई वरिपरी पानी र तेलको मिश्रणलाई दुबोले छर्किँदै गोलो घेरा बनाएर सुरक्षाको सिमा बनाउँछन् ।फूल,अक्षता,चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाउँने चलन रहेको छ ।र त्यसपछि सेतो रङ्ग, जसलाई दयो पनि भनेर चिनिन्छ ।
दयोले निधारमा धर्का लगाउने र त्यसमा सप्तरङ्गी टीका थपेर निधार नै सिङ्गारेर सुन्दर बनाउने गरिन्छ । टीका लगाइसकेपछि सयपत्री, मखमली, दुबोको माला लगाइदिने गर्दछन् ।कसैले शिरमा मालाको पगडी जस्तो समेत गुथ्ने गर्दछन् ।यसमा मखमली माला कहिल्यै पनि नओइलाउने, सयपत्रीको रङ्ग कहिल्यै नहराउने र दुबोको हरियो रङ्ग सधैँ रहिरहने भएको कारण दाजु भाइ र दिदी बहिनीको सम्बन्ध सधैँ राम्रो हुने विश्वास राखिन्छ ।
तिहारलाई किन यमपञ्चक भनिन्छ ?
पौराणिक कथाहरुबाट यमपञ्चकलाई यसरी भनिएको छ । सूर्यपूत्र यमराजले आफ्नी बहिनी यमुनाले बोलाउँदा उनको निमन्त्रणा स्वीकार गरी बहिनीको घरमा गएर पर्वसरी उत्सव मनाइएको हुँदा कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिनदेखि सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितियासम्मको अवधिलाई यमपञ्चक भनिएको हो ।यसरी रहँदा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु पर्ने, साथै दिदीभाइ र दाजुबहिनीको प्रेम सदा अटल रहोस् साथै दाजुभाईको आयू, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै वरदान दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुपंक्षीबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ । यो पर्व जम्मा ५ दिनको हुन्छ ।
तिहार पर्व रमाइलो तर ……
विशेष गरी नेपालमा चाडपर्वमा आफ्नो गक्ष भन्दा धेरै अहंकार गरेर खर्च गर्ने प्रचलन रहेको छ । गरगहना, कपडाहरु देखाउनका लागि लगाउने चलन छ । आफ्नो पुरानो संस्कृति छोडी आयातित प्रचलनलाई प्रमुख संस्कृतिको रुपमा मान्यता दिइँदै आएको पाइन्छ । यसले गर्दा गरिव तथा खर्च गर्न नसक्नेहरु भने चाडपर्वको बेलामा खुसी हुनुको सट्टा देखासिकीको होडबाजीमा आफूलाई अब्बल सावित गर्न नसकेर त्रिभुवन विमानस्थलमा खादा र रातो सिम्रिक लगाएर फोटोमा सिमित बन्न पुगेका छन् ।अर्कोतिर आतसबाजी, पटाका पड्काएर त्रास फैलाउने रिवाज हाम्रै आँगनमा पसिसकेको छ । जाँड रक्सी खाएर झगडा गर्ने, होहल्ला गर्ने, बगवाद बोल्ने, जुवातास खेल्ने, खेतबारी जुवामा लुटाउनेपरम्परा जल्दाबल्दा यूवापिँढीमा फैलिएको छ ।
अहिलेको युवा पिँढीले तिहारलाई कसरी बुझ्ने ?
वास्तवमा हामी मानिसहरुलाई मनमा उमङ्ग, सुख, खुसी, शान्ति, सहयोगी, मित्रवत, उत्साह, उर्जा, जोश, जाँगर, हौसला, सद्भाव, आस्था, विश्वास, लगायतका कुराहरु पैदा गर्ने भनेका नै चाडपर्वहरु हुन् । समाजका सकारात्मक कुराहरुलाई आत्मसाथ गर्ने र भावीपिँढीलाई हस्तान्तरण गर्ने कुरा पर्वहरुबाट सिक्न सकिन्छ ।आफ्नो घर आँगन सफा गर्न, आफूले लगाएका अन्नपातहरु भित्र्याउन, सुरु गरेका कामलाई मूर्त रुप दिन, साथीभाइ, इष्टमित्रसँग सद्भाव, खुसी साटासाट गर्न, साथै अनुशासित बन्न चाडपर्वहरुले सिकाएका छन् ।
-लेखक:- डुङ्गेश्वर गाउँपालिका, वडा नं. ५, दैलेख निवासी दिपेन्द्रकेशर खनाल हुनुहुन्छ ।