भारत–नेपाल–चीन जोड्ने त्रि–देशीय सडक निर्माणको माग

सुर्खेत । भारत–नेपाल–चीन (तिब्बत) जोड्ने हालसम्मकै छोटो र सजिलो त्रि–देशीय सडक सञ्जाल निर्माण बारेमा फेरी चर्चा शुरु हुन थालेको छ ।

पश्चिम नेपालको समृद्धिसँग जोडिएको महत्वपूर्ण भारतको तेकुनिया–कतरनिया घाट हुँदै बर्दियाको राजापुर– कैलालीको चिसापानी– सुर्खेतको गुटु– अछामको मंगलसेन– बाजुरा– हुम्लाको हिल्साहुँदै तिब्बत जोड्ने त्रि–देशीय सडक सञ्जाल निर्माणमा सरकारले ध्यान नदिएपछि स्थानीय स्तरबाट दवाव स्वरुप फेरी चर्चा हुन थालेको हो ।

‘सुर्खेत खण्डको चौकुने गाउँपालिकाको गुटुमा अब ४ किलोमिटर सडक निर्माण भए अछामको मंगलसेन जोडिन्छ,’ पञ्चपुरीका नगरपालिकाका समाजसेवी तिलकराम अधिकारीले भने, ‘मंगलसेन–बाजुरा–हुम्लाको हिल्सा हुँदै यो सडक चीनको तिब्बतसँग जोडिन्छ ।’ हालसम्मका त्रि–देशीय सडक सञ्जाल मध्ये यो सडक सरल र छोटो दूरीको पर्ने उनले बताए । स्थानीय जनताले दशकौंदेखि कैलालीको चिसापानी– सुर्खेतको गुटुु– अछामको मंगलसेन– बाजुराहुँदै हुम्लाको हिल्सा सडक विस्तारको माग गर्दै आएको भएपनि सुर्खेत तर्फको ४ किलोमिटर ट्¥याक नखुलेकै कारणले अगाडीको काम रोकिएको हो ।

‘अछाम सडक सञ्जालले बाजुरासँग अहिले पनि जोडिएको छ,’ उनले भने, ‘सुर्खेतबाट अछाम हुँदै बाजुरा र हुम्ला हुँदै यहाँको सडक तिब्बत जोडिन्छ ।’ उक्त सडकलाई स्थानीय जनताले मात्रै नभई संघ सरकारले पनि महत्वका साथ हेर्नुपर्ने उनको माग छ । ‘कैलालीको चिसापानी र सुर्खेतको घाटगाउँ–गुटुमा सडक विस्तार भएको छ,’ उनले भने, ‘सडकलाई त्रि–देशीय सडक सञ्जाल बनाए मध्यपहाडी लोकमार्गसँग पनि यो सडक जोडिन्छ ।’

उनले हाल निर्माणाधीन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गले सुर्खेतलाई नछुने भएकाले त्रि–देशीय सडक सञ्जाल विस्तारले तराईका जिल्लालाई समेत जोड्न सकिने बताए । ‘कैलाली–सुर्खेत–अछाम–बाजुरा–हुम्ला सडकले तीन देशसँगै धार्मिक आस्थालाई पनि जोड्छ,’ महायोगी सिद्धबाबाले भने, ‘मानसरोवर आएका पर्यटकलाई भेरी–कर्णालीको ¥याफटिङ्गसँगै दैलेख, प्यूठानको स्वर्गद्वारी–गौमुखी हुँदै मुक्तिनाथसम्मको यात्रा गराउन सकिन्छ ।’

उनले त्रि–देशीय सडक निर्माणका लागि प्रदेश सरकारले केन्द्र सरकारसँग सहयोग माग्न सुझाव दिए । समारिक तथा व्यापारीक दृष्टिले अति महत्वपूर्ण मानिएको त्रि–देशीय चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याकलाई कर्णाली प्रदेश सरकारले महत्वका साथ अघि बढाउँदा सुदूरपश्चिम भन्दा बढी कर्णालीलाई नै फाइदा पुग्ने उनको सुझाव छ । संघीयता अघि केन्द्र सरकारले केही वर्ष पहिलेसम्म प्राथमिकतामा राखेपनि फास्ट ट्र¥याक निर्माणका लागि यस क्षेत्रको बलियो जनप्रतिनिधि नहुँदा ओझेलमा पर्दै गईरहेको स्थानीय बताउँछन् ।

सरकारबाट तीन वर्षदेखि सडक निर्माणमा वेवास्ता गरिँदा सुर्खेतखण्डमा अझै ट¥याक खोल्न बाँकी छ । अब चौकुनेको गुटुदेखि जंगलाघाटसम्मको ट¥याक खोल्न मुख्य चुनौती मानिएको छ । त्यससँगै जंगलाघाटको कणाली नदी माथि मोटरेवल पुल बनाएर सिधा अछामको मंगलसेनसम्म सडक सञ्जाल जोडिन मात्र बाँकी छ ।

कर्णाली कोरिडोरलाई समेत समेट्न गरी उक्त फास्ट ट्¥याक निर्माण गर्दा त्रि–देशीय सडक सञ्जालको सपना छिट्टै साकार हुने चौकुनेका समाजसेवी लक्ष्मीबहादुर बयकले बताए । घुमाउरो, जोखिमपूर्ण र बढी समयबाट बच्नका लागि सुरुङ मार्गलाई प्राथमिता दिँदा राम्रो हुने उनको भनाइ छ ।

तराईदेखि हिमाल उत्तर–दक्षिण सीमा सडक जोड्न र व्यापारीक, सामाजिक र राजनीतिकरुपले समावेशी विकासको अवधारणा अनुसार चिसापानी–गुटु–मंगलसेन फास्ट ट्र¥याक निर्माण कार्यलाई गतिदिनु पर्ने स्थानीयको माग छ । उक्त फास्ट ट्र¥याक निर्माण भएपछि अछाम, कैलाली बाजुरा, डोटी र कर्णाली प्रदेशका पाँच जिल्लाका ३० लाख बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

Translate »