फेरिँदै देउसीभैलोको स्वरूप

गलेश्वर (म्याग्दी) । “आहै चिप्लोमा बाटो,  देउसी रे ।
आहै अँध्यारो रातमा, देउसी रे ।
आहै लड्दै र पड्दै,देउसी रे ।
आहै केराको थम्बा, देउसी रे ।
आहै १० भाइ जम्मा, देउसी रे ।”

हिन्दू धर्मावलम्बीको दशैंपछिको दोस्रो ठूलो पर्व तिहारमा खेलिने देउसीभैलोमा भट्याइने यस्ता शब्दहरू हिजोआज सुनिन छोडेका छन् । सारङ्गी, मादल, डम्फू र बाँसुरीका साथै हार्मोनियमका धुनमा ताल र सुर मिलाएर इतिहास, पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो चलन अहिले हराउँदै गएको छ । देउसीभैलोमा भट्याउने भाकाहरू पनि बदलिँदै गएका छन् ।

तिहारको आकर्षणमध्येको एक मानिएको देउसभैलो हिजोआज आशीर्वाद दिने, मनोरञ्जन लिने र साथीभाइहरूसँग रमाउने माध्यमभन्दा पनि पैसा सङ्कलन गर्ने माध्यम बन्दै गएको बेनी नगरपालिका–२ का ९० वर्षीय बेदप्रसाद उपाध्यायले बताए । केही सङ्घसंस्था, विद्यालय तथा समूहले अन्यका गीतको सहयोग लिइ नृत्य देखाउँदै देउसीभैलोलाई पैसा सङ्कलनको माध्यम बनाइरहेका भन्दै उनले परम्परा हराउनेमा चिन्ता व्यक्त गरे ।

हिजोआज गाइने देउसीभैलो र नृत्यमा मौलिकता देखिन छोडेको स्थानीय बताउँछन् । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीतमा देउसीभैलो खेल्ने र नाच्ने गरेका मङ्गला गाउँपालिका–२ का पण्डित हरिकृष्ण पौडेलले बताए । यसरी ठूलोठूलो स्वरमा गीत बजाउँदा ध्वनि प्रदूषण बढ्नुका साथै बिरामी, वृद्धवृद्धालाई असहज हुने उनले उल्लेख गरे ।

बेनीका नैनकुमार श्रेष्ठले भने, “पहिलेका भैलीहरू आउँदा स्थानीय लोकबाजा र गीतहरू देख्न, सुन्न पाइन्थ्यो । आजभोलि आयातित गीतहरू सुनिन्छन् । आजभोलिका भैली खेल्नेहरू उफ्रिने र कराउने मात्र गर्छन् । यसरी हाम्रो लोकसंस्कृति लोप हुँदै जानेछ ।” केही वर्षपछि लोकबाजा र भैलीको मौलिकता हराउन सक्नेमा उनले चिन्ता व्यक्त गरे ।

बेनीका जेष्ठ नागरिक डम्मरबहादुर कार्कीले पहिला देउसीभैलो खेल्दा सबैले लोकगीत आफैले गाउने, मुरली, मादल, खैजडी, झ्याली, ट्याम्कोलगायत मौलिक बाजाहरू बजाउने परम्परा रहेकामा अहिले उक्त परम्परा हराउँदै गएको बताए । बेनीका लोकसंस्कृतिका जानकार प्रकाश श्रेष्ठले युवा पलायनको असर देउसीभैलोमा पनि परेको उल्लेख गरे ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म खेलिने देउसीभैलोको आफ्नै महत्त्व छ । मृत्युका देवता यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुना कहाँ यी पाँच दिन अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भन्ने गरिएको लोकसंस्कृतिका जानकार श्रेष्ठले बताए ।

भाइटीकाको दिन यमराज र यमुनाको नाममा समर्पित भएर पूजा गर्ने परम्परा रहेको उनले उल्लेख गरे । उनका अनुसार यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइलाई समयअगावै नडाकून् भनी कामना गर्ने गर्छन् । रासस

Translate »