अन्तरराष्ट्रिय हवाई भाडा बढेपछि नेपाली श्रमिकका लागि खुले भारतका विमानस्थल, श्रम गन्तव्यमा जान अब एनओसी नचाहिने
काठमाडौं । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानको लागि नो अब्जेक्सन लेटर (एनओसी) नचाहिने भएको छ । साथै अमेरिका, बेलायत लगायत शेन्जेन मुलुकको प्रवेषाज्ञा पत्र (भीसा) भएका नेपाली नागरिकहरूलाई पनि एनओसी नचाहिने व्यवस्था भएको भारतस्थित नेपाली दूतावासले सोमवार जारी गरेको एक सूचनामा उल्लेख छ ।
विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि नेपालमा हवाई सेवा दिइरहेका कम्पनीहरूले अस्वभाविक हवाइ भाडा बढाएका थिए । सरकारले मर्मतको समयावधिभर विकल्पको रूपमा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको विकल्प दिएको थियो । तर, काठमाडौंलाई आधार बनाइ उडान गर्दै आएका अन्तरराष्ट्रिय हवाइ सेवा प्रदायक उक्त विकल्पमा उडान गर्न तयार भएका थिएनन् । ती हवाई सेवा कम्पनीले भाडादर चार गुणासम्म बढाएको यात्रुले गुनासो गर्दै आएका थिए ।
शुक्रवार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे, श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।
छलफलका क्रममा वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहरूले विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीहरूले कार्टेलिङ गरेको बताएका थिए । यसमा केही हवाई कम्पनीहरू र केही ट्राभल एजेन्सीहरूको हात रहेको उनीहरूको आरोप थियो ।
उनीहरूले नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्न सुझाव दिएका थिए ।
सरकारले अस्वभाविक भाडा वृद्धिलाई रोक्न विकल्पहरू खोजिरहेको थियो भने उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल नगर्न सरकारका निकायबाट पहल भइरहेको थियो । सोही अनुसार विकल्पको रूपमा भारतीय बाटो प्रयोग गर्ने व्यवस्था भएको हो ।
हवाई टिकटको उपलब्धता एवं सहज र सुलभ हवाई यातायात सञ्चालनका विषयमा गत शनिवार सरकार र हवाई सेवा प्रदायकबीच टीबीए (टु बि एड्भाइज्ड) खारेज गर्नेलगायत ५ बुँदे सहमतिसमेत भएको थियो । सहमतिमा ट्राभल एजेन्सीले पाउने टीबीए सुविधा खारेज गरि भाडादर घटाउने सहमति भएको छ ।
सरकारले मर्मतको समयावधिभर विकल्पको रूपमा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको विकल्प दिएको थियो ।
दूतावासले जारी गरेको सूचना