चार अर्ब लगानीमा बर्दियामा टायल कारखाना, स्वदेशमै कारखाना बढेपछि आयात घट्दो

गुलरिया । देशमा बढ्दो शहरीकरणसँगै आधुनिक घर बनाउँदा टायलको प्रयोग बढिरहेको देखिन्छ । बढ्दो मागलाई सम्बोधन गर्न देशभित्रै टायल उद्योग खुल्ने क्रम पनि बढिरहेको देखिन्छ । पछिल्लो समय देशभित्रै उत्पादन भएको टायल हो– लेमिनार भेट्रिफाइड टायल ।

बर्दियाको गुलरिया नगरपालिका–८ मा आधुनिक मेशिन राखी यो वर्षको भदौ मसान्तबाट लेमिनार भेट्रिफाइड टायल उत्पादन भइरहेको छ । लुम्बिनी सेरामिक्स लिमिटेडले स्थापना गरेको कारखानामा पत्रकारको टोली शुक्रवार पुग्दा टायल उत्पादनको काम भइरहेको थियो ।

कच्चा पदार्थ राखिएको भवनबाट अघि बढ्दा शुरूमा माटो र माटो जस्तै लाग्ने खनिज पदार्थको थुप्रो देखिन्छ । त्यसपछि ती वस्तुलाई सिलिन्डर आकारको ठूलो मेशिन– बल मिलमा राखी घोलिरहेको देखिन्छ ।

घोलिएको पदार्थलाई अन्डरग्राउन्ड ट्यांकीमा तताएर स्प्रे ड्रायर मेशिनमा राखेपछि पाउडरमा परिणत हुन्छ । उक्त पाउडरलाई एउटा ‘साइलो’मा स्टोर गरी एकदमै गह्रुँगो मेशिनले थिचेपछि टायलको प्रारम्भिक रूप देखिन्छ ।

त्यसलाई धोएर, ग्लेजिङ तथा प्रिन्टिङ गरेपछि यसको भारवहन क्षमता जाँच गरिन्छ । त्यसपछि त्यसलाई ठिक्क आकारमा काटेर प्याकिङ गरी प्रयोगशालामा परीक्षण गरेपछि बजार पठाइने लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरिवालले बताए ।

‘हामीले उच्च गुणस्तरको भेट्रिफाइड टायल उत्पादन गर्दै छौं, जसले शून्य दशमलव शून्य ८ प्रतिशतभन्दा कममात्र पानी सोस्ने गर्छ । यसो हुँदा टायल बिग्रने सम्भावना एकदमै न्यून हुन्छ,’ चुरिवालले भने ।

उनका अनुसार यहाँ धेरै पानी सोस्ने टायललाई पनि भेट्रिफाइड टायल भनी विक्रीवितरण भइरहेको छ । ‘तर शून्य दशमलव शून्य ८ प्रतिशतभन्दा कम पानी सोस्ने टायल उत्पादन गर्ने मेशिन हामीसँग मात्र छ,’ उनले दाबी गरे । कम्पनीले भेट्रिफाइड टायलको रूपमा प्रचारप्रसार तीव्र पार्ने र यस्तो टायलको फाइदाबारे उपभोक्तालाई सुुसूचित गरी बजार विस्तार गर्ने रणनीति लिएको छ ।

कम्पनीका अनुसार लेमिनार टायल कारखाना १२ बिघाभन्दा बढी क्षेत्रफलमा बनाइएको छ । टायल उत्पादन प्रक्रियामा थुप्रै चरण पार गर्नुपर्ने हुँदा मेशिनहरूको लामो लर्को नै देखिन्छ । यो सबै मेशिन खरीद गरी कारखाना स्थापना गर्न ४ अर्ब रुपैयाँ लागेको चुरिवालले बताए । ‘२ अर्ब ८० करोड रुयैयाँ विभिन्न बैंकबाट ऋण लिएका छौं,’ उनले भने ।

लामो समयदेखि उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्र सुस्ताएको बेला ठूलो लगानीमा यो कारखाना स्थापना भएको छ । कम्पनीका अनुसार यसको दैनिक उत्पादन क्षमता १ लाख ४० हजार वर्गफिट छ । तर, कारखाना पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको चुरिवालले बताए । ‘उत्पादन भर्खरै शुरू भएको छ र डिलरहरू थपिँदै छन् । विस्तारै माग बढ्दै जाने अपेक्षा छ,’ उनले भने । कारखानामा ३०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको कम्पनीले जनाएको छ । हाल कच्चा पदार्थ भारतको राजस्थानबाट ल्याइरहेको छ । अब छिट्टै कम्पनीको डडेलधुरास्थित खानीबाट उत्पादित कच्चा पदार्थ प्रयोग गर्ने योजना छ ।

कम्पनीले तत्काल बजार मूल्य प्रतिस्पर्धीको तुलनामा धेरै नराखेको स्पष्ट पारेको छ । ‘बाक्लोपन लगायत विभिन्न मापदण्डका आधारमा प्रतिवर्गफुट ८० रुपैयाँदेखि २०० रुपैयाँसम्म मूल्य पर्छ, जुन प्रतिस्पर्धीको भन्दा महँगो होइन,’ चुरिवालले भने ।

पछिल्लो समय शहरी र शहरउन्मुख क्षेत्रमा घर बनाउँदा भुइँ तथा भित्तामा टायल राख्ने प्रचलन बढ्दो रहेकोले यसमा लगानी गरेको कम्पनीको भनाइ छ । क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले गत साल लुम्बिनी सेरामिक्स लिमिटेडको रेटिङ गर्दा बढ्दो शहरीकरणका कारण टायलको माग बढ्ने सम्भावना बढी रहेको जनाएको छ ।

टायलको आयातमा सरकारले पनि तुलनात्मक रूपमा उच्च भन्सार महशुल (४० प्रतिशत) राखी स्वदेशी टायल उद्योगाई संरक्षण गरेको इक्रा नेपालले जनाएको छ । पछिल्लो समय मुलुकमा थुप्रै टायल कारखाना खुलिसकेका छन् ।

चुरिवालका अनुसार विगत दुई वर्षमा आधा दर्जन टायल कारखाना देशभित्रै खुलिसकेका छन् । फलस्वरुप सेरामिक्सजन्य पदार्थको आयातमा कमी आएको छ । भन्सार विभागका अनुसार सेरामिक्स वस्तुको आयात आर्थिक वर्ष २०७८/७९ मा १४ अर्ब ७८ करोड रुपैयाँ बराबर थियो भने गत आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ६८ करोड रुपैयाँमा ओर्लेको छ । ‘स्वदेशमै टायल बन्न थालेपछि विगत दुई वर्षदेखि आयातमा कमी आएको हो,’ चुरिवालले भने ।

Translate »