२०८३ असोज ३० , शुक्रबार
Sky News Nepal
October 17, 2026

कर्णालीका तीन वटा विद्यालय भौतिक संरचना सुदृढीकरणका लागि छनौट

दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत सुर्खेतका दुई र जुम्लाको एउटा


 

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका कर्णाली प्रदेश तीन वटा सामुदायिक विद्यालयलाई छनौट गरेको छ ।

मन्त्रालयले विद्यालयको भौतिक पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना कार्यान्वयनमा ल्याउनका लागि जुम्लाको चन्दननाथ माध्यमिक विद्यालय, सुर्खेतको अमरज्योति माध्यमिक विद्यालय र जन माध्यमिक विद्यालयलाई छनौट गरेको हो । प्रतिविद्यालय करिब ६ करोड रुपियाँको लागतमा आधुनिक १२ कोठे तीन तले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गर्नेगरी काम तीव्र पारिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।

‘प्रतिविद्यालय करिब ६ करोड रुपियाँको लागतमा बन्ने यी भवनहरुमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ,’ उनले भने, ‘यसले विद्यार्थीको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौं ।’

मन्त्रालयले देशभरका दुई हजारभन्दा धेरै विद्यार्थी भएका १०९ वटा विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपियाँ बजेट विनियोजन गरेको मध्ये पहिलो चरणमा ८९ वटा विद्यालयको पहिचान गरी ५ अर्ब ३४ करोड रुपियाँ निकासा गरेको छ । पहिलो चरणमा निकासा भएको ८९ वटा विद्यालयको विवरण विश्लेषण गर्दा, ८९ मध्ये ३७ प्रतिशतभन्दा बढी अर्थात् ३३ वटा विद्यालय मधेश प्रदेशका परेका छन् ।

मधेश प्रदेशको साक्षरता दर, शैक्षिक सूचकाक र सरकारी विद्यालयको गुणस्तर सुधारमा अझ संवेदनशील र गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता रहेकाले बजेट तथा विद्यालय छनोटमा यस प्रदेशलाई उच्च प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ। मधेशका ठुला विद्यालयमा पूर्वाधारको अभाव हटाएर पठनपाठनको वातावरण सुधार्नु नै सरकारको मुख्य लक्ष्य रहेको बताईएको छ ।

मधेश प्रदेशपछि लुम्बिनी र कोशी प्रदेशमा पनि ठुलो संख्यामा विद्यालयहरु परेका छन् । लुम्बिनी प्रदेशका २१ वटा विद्यालय पूर्वाधार विकासका लागि छनोट भएका छन् । त्यस्तै, कोशी प्रदेशबाट १८ वटा विद्यालय परेका छन् ।

यस्तै अन्य प्रदेशहरूको हकमा, गण्डकी र सुदूरपश्चिम प्रदेशका ६÷६ वटा विद्यालय छनौट गरिएको छ भने कर्णाली प्रदेशको ३ वटा विद्यालय (सुर्खेतका २ र जुम्लाको १ वटा) परेका छन् । बागमती प्रदेशबाट दुई वटा विद्यालय मात्र परेका छन् ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार
Translate »