“कोरोना महामारी र विद्यालयीय शिक्षामा परेकाे असर”

यामबहादुर श्रेष्ठ
अहिले हामी कोरोना भार्ईरसको महामारीवाट आक्रान्त छौं । विश्वका महाशक्ति राष्ट्रहरु सहित थुप्रै देशहरुले महामारिवाट ठूलो मानविय क्षति ब्यहोर्नु परेको छ । २१० देश र २ वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना सक्रमणको जालो फैलिसकेको छ , जसवाट हाम्रो देश पनि अछुतो छैन । महामारीवाट जोगिन हाम्रो जस्तो विकासोन्मुख देशका लागि एउटा मात्र सर्बोत्तम उपाय भनेको महामारीलाई सामुदायिक सक्रमणको अवस्थामा फैलिन नदिनु हो । हामी सबैलाई स्पष्ट छ, हाम्रो पूर्व तयारीको अवस्था, स्रोतसाधनको उपलब्धता, भौतिक सुबिधाको ब्यवस्था सहित स्वास्थ्य सेवा सुबिधाको अबस्था र सक्षमताको बारेमा । यो विषम अवस्थामा राज्यले लकडाउन गर्नुपर्थ्यो र गर्यो । लकडाउन कै कारण हामीले हाल सम्म महामारीको अबस्था र मानविय क्षति ब्यहोर्नु परेको छैन जुन सुखद अवस्था पनि हो । लकडाउन संगै देशको सामाजिक, आर्थिक र शैक्षिक गतिबिधि ठप्प छ । संकटको यो बेला हामी बाँच्नु ठूलो कुरा हो तर यो विषम अवस्थामा हिनताबोध र निराशामा लिन भई तनावको शिकार हुनु भन्दा हामीले सकारात्मक सोचका साथ बर्तमान परिवेशको सामना गर्नुपर्दछ । यो अत्यन्त कठिन परिवेशवाट देशलाई माथि उठाउन अभिभावकीय भूमिका राज्यले निर्बाह गर्नुपर्दछ । लोककल्याणकारी राज्यको पहिलो काम भनेको नै जनताको हित र रक्षा गर्नु हो । राज्य सबै जनताको हरदम साथमा छ भन्ने अनुभूति दिलाउन जरुरी छ । बर्तमान अवस्थामा राज्य संग उपलब्ध सबै प्रकारका स्रोतसाधनको समूचित परिचालन गरि जनताको जीवन रक्षा र न्युनतम आवस्यकताको परिपूर्ती गर्नु नै राज्यको प्रमुख दायित्व हो । राज्यका अंग र निकायमा यो महत्वपूर्ण क्षणमा देखा पर्ने स-साना बिचलनले आम जनसमुदायमा निकै ठूलो नकारात्मक सन्देश प्रवाह हुन्छ जसले धेरै मानिसहरुलाई निराशाको बादलले ढाक्न सक्दछ । त्यसैले राज्य संयन्त्रले संयमित, योजनावद्द र दूरदृष्टिका साथ अबिचलित रुपमा यो संकटको घडिमा कार्यसम्पादन गर्न आवस्यक छ । जुन प्रयास बर्तमान समयमा तिनै तहका हाम्रा सरकारले गरिरहेका छन् ।
देश पूर्णरुपमा बन्द भएको अबस्थामा हाम्रो शिक्षा प्रणाली पनि ठप्प छ । लाखौं विद्यार्थी घर मै बस्न बाध्य छन्, विद्यालयहरु बन्द छन्, पूर्व निर्धारित परीक्षा स्थगित छन्, विद्यार्थीको मनस्थीति कमजोर भएको छ । अन्यौलता बढेको छ । यति बेला राज्य र शिक्षाका सबै ईकाईहरुले विद्यार्थी भाईबहिनीहरु माझ सकारात्मक, रचनात्मक र स्पष्ट सन्देश प्रवाह गर्नु जरुरी भएको छ । हामी आत्तिएर छटपटाएर मात्र हुनेवाला केहि छैन । नचाहदा नचाहदै हामी यो परिबेश भोग्न बाध्य छौं ।
आजका मितिमा हामीले विद्यालयीय शिक्षाको अवस्था नियालेर हेर्यौं भने बाेर्ड परीक्षाहरू स्थगित, विद्यालय स्तरीय परीक्षाकाे नतिजा प्रकाशनमा ढिलाई र कक्षा संचालनमा समस्या देखिए पनि धेरै कुरा बितिसकेको भने छैन । हामी स्थापित पूर्व निर्धारित शैक्षिक वर्षको शरु महिनामा छौं । अहिले कोरोना भाईरसको महामारीको जोखिम नभएको भए पनि हामीले बैशाख १०/१२ गते वाट नियमित पठनपाठन शुरु गर्दथ्यौं र बैशाख महिना भरि भर्ना अभियान संचालन हुने थियो । महामारीका कारण १ महिना पछाडी शैक्षिक क्यालेण्डर धकेलियो भने पनि हामीले वर्षे विदा/ हिउदे विदा सदुपयोग गरेर वर्तमान पाठ्यक्रम अनुसारको निर्धारित पाठ्यभार (शिक्षण घण्टा) ब्यवस्थापन गर्न सक्दछौं । यदि १ महिना भन्दा बढि बन्दाबन्दीको कारण पठनपाठन हुन नसक्ने अवस्था भएमा पाठ्यक्रमवाट आधारभूत सिकाई सक्षमताको छनौट गरि उपलब्ध समयावधिको आधारमा नयां शैक्षणिक योजना साथ अगाडि बढ्नु पर्ने हुन सक्छ । त्यस्तो अवस्थामा शैक्षिक वर्ष पछाडी सार्ने वा खत्तम भयो, सब बर्बाद भयो भन्ने खालको सन्देश प्रवाह नहुने वातावरण सबै पक्षवाट तयार गर्न जरुरी छ । अव हामीले विद्यालय स्तरीय कक्षागत नतिजा प्रकाशन गर्न ढिलाई गर्नु हुदैन । लकडाउनले हुन नसकेको नतिजा प्रकाशन सम्बन्धी काम अनलाईन माध्यमवाट भए पनि तयार गरि छिटो भन्दा छिटो प्रकाशन गरि समय मै सुरक्षित तवरले विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने उपाय खोजी गर्न जरुरी छ । भिडभाड नहुने गरि सामाजिक दुरी कायम गरि क्रमस: अध्ययनरत् विद्यार्थीलाई पाठ्यपुस्तक उपलव्ध गराउन सकिन्छ । साथै विद्यालय संचालन हुने वातावरण तयार नहुदा सम्म विद्यार्थी घर मै रहेर अभिभावकको संरक्षकत्वमा न्यूनतम शैक्षिक गतिविधि संचालन गर्ने विधि राज्यले सुझाउन पनि जरुरी छ । सुरक्षित तरिकाले पाठ्यपुस्तक उपलव्ध गराउने, अनलाईन, टेलिभिजन तथा टेलिफोन जस्ता संचार माध्यमको प्रयोग अधिकतम रुपमा गरि घर घर मै विद्यालय भएको अनुभुति दिलाउने गरि अगाडि बढ्न आवस्यक देखिन्छ, जसको आव्हान नेपाल शिक्षक संघले पनि यस अघि गरिसकेको छ ।
अर्को तर्फ स्थगित रहेका एसईई र कक्षा ११/१२ को बोर्ड परीक्षाको बारेमा संचार माध्यममा बिभिन्न थरिका समाचार सम्प्रेषण हुदा झन अन्यौलता उत्पन्न भैरहेको परिवेश तर्फ सबै सचेत हुन जरुरी छ । सानो कुरालाई चाहिने भन्दा ठूलो झ्याली पिट्ने नकारात्मकता हाम्रो संस्कृति बन्दै गएको देखिन्छ । बोर्ड परीक्षाको बिकल्पको बारेमा चलाईएको छलफलले विद्यार्थीको मानसिकता र तयारीमा थप असर पर्ने देखिन्छ । अझ पनि धेरै समय गएको छैन, कम्तीमा सहज अवस्था सिर्जना भए पछि पूर्ववत् निर्धारित प्रणाली वाटै विद्यार्थीलाई सहज हुने गरि परीक्षा संचालन हुन्छ भन्ने कुराको सुनिश्चितता शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्दछ । छिटाे नतिजा प्रकाशनका लागि उत्तर पुस्तिका परीक्षण र टेवुलेसनको काम जिल्ला स्तरमा शिविसई मार्फत प्रत्येक जिल्लामा द्रुत गतिवाट सम्पादन गर्ने तयारी गर्नु आवस्यक छ, जसको अनुगमन शिक्षा विकास निर्देशनालय, रा प बोर्ड, प्रदेश कार्यालयहरुले गरुन । वि.सं.२०४६ सालमा जनआन्दोलनको कारणले करिव १ वर्ष पछि परीक्षा संचालन भई प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा दिएको पंक्तिकार स्वयमले हो । त्यसैले विज्ञताको नाममा विद्यार्थीको भावना संग खेलवाड नगरौं, रा.प.बोर्डले पनि संयमता अपनाउन आवस्यक छ । यदि लकडाउन ज्यादै लम्बीन गए आबस्यकता अनुसार परीक्षा संचालन प्रक्रिया र बैकल्पिक उपायको बारेमा आकस्मिक निर्णय गर्ने अधिकार त नेपाल सरकारलाई छदै छ नि, अहिले कोलाहल गर्न आवस्यक देखिदैन । एक त वर्तमान संविधान र संघीय संरचना अनुसार संघीय शिक्षा ऐन र नियमावली हाल सम्म नबन्नु दुखद पक्ष हो । एसईई लाई प्रदेश सरकारको मातहतमा ठूलो हाउगुजीको रुपमा नलिई संचालन गरिनु पर्थ्यो, जो हुन सकेन । कक्षा ११ को बोर्ड परीक्षा संचालन गर्न जरुरी नै थिएन । कक्षा ९ सरह विद्यालयलाई जिम्मा दिए हुन्थ्यो । अवको परिवेशमा तत्काल हतार नगरि कोरोना सक्रमणको अवस्थाको विश्लेषण गरि परीक्षा संचालन गर्ने वा धेरै ढिलो भएमा अलि फरक ढंगले परीक्षाको बिकल्प सहित महत्वपूर्ण निर्णय लिन पनि राज्य तयार रहुनु पर्दछ । किनभने लामो समय लकडाउनमा बस्नु पर्यो र समय धेरै गुज्रीयो भने धेरै कुरा हाम्रो नियन्त्रणमा रहदैन । एसईई परीक्षार्थीहरुलाई विद्यालयको रेकर्ड अनुसार कक्षा १० को ल्याकत परिक्षा, प्रयोगात्मक कार्य र आन्तरिक मूल्याङ्कनको आधारमा अंक प्रदान गर्ने गरि र कक्षा ११/१२ का परीक्षार्थीहरु लाई पनि विद्यालयको आन्तरिक मूल्यांकन, प्रयाेगात्मक कार्य र एसईई/कक्षा ११ को सिकाई उपलव्धिको आधारमा मूल्यांकन गरि अंक प्रदान गर्ने जिम्मेवारी विद्यालयलाई दिई नतिजा प्रकाशन गर्ने तर्फ परीक्षाको बिकल्पको रुपमा बैकल्पिक उपायहरु अगाडी बढाउन सकिन्छ, किनभने लिखित परीक्षा मात्र विद्यार्थीको समग्र सिकाई उपलव्धि र सक्षमताको मापन गर्ने निर्बिकल्प साधन होईन भन्ने कुरालाई हामीले स्वीकार गरि सकेका छौं । यस तर्फ राज्यले गम्भीर, दीर्घकालीन सोच र योजना निर्माण गरि अगाडी बढ्नुको बिकल्प छैन तर सम्भव भए सम्म पूर्व निर्धारित पद्दतिवाट नै विद्यार्थीलाई पायक पर्ने गरी परीक्षा लिदा उपयुक्त र न्यायोचित हुन्छ ।
मन्त्रालयले पनि अहिले नै बन्दाबन्दीले कति समय विद्यालय संचालन र परीक्षा स्थगित हुन्छ भन्ने कुरालाई मध्यनजर राखि बिकल्प सहितको शैक्षिक क्यालेण्डर निर्माण गर्नु आवस्यक देखिन्छ । १ महिना, २ महिना, ४ महिना वा ६ महिना पछाडि विद्यालय संचालन हुदाको शैक्षणिक योजना कार्यान्वयनको क्यालेण्डर तयार गरि सार्वजनिक गर्न सकिए सरोकारवालामा पर्न जाने अन्यौल र असुविधा अन्त्य भई यो विषम परिवेशमा सार्वजनिक विद्यालयीय शिक्षा प्रणालीलाई याे संकटकालिन अवस्थावाट गति प्रदान गरि निकास दिन सकिन्छ भन्ने लाग्दछ ।

लेखकः– सुर्खेतको वीरेन्द्रनगर स्थित जन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं संघीय नेपाल शिक्षक संघका केन्द्रीय सदस्य हुनुहुन्छ ।