कोरोना संक्रमण बढ्दो, बजारमा भिडभाडले उच्च जोखिम

स्काई न्यूज /भदौं १८, सुर्खेत ।
कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या जिल्लामा दिनहुँ बढ्दो क्रममा छ । संक्रमण बढिरहँदा बजारमा सर्बसाधारणको भिडभाड पनि कायमै छ । भिडभाड नरोकिदाँ कोरोना संक्रमणको जोखिम डरलाग्दो रुपले झन् बढेको हो । निषेधाज्ञा हटाएसँगै सदरमुकाम वीरेन्द्रनगरका सार्वजनिक स्थान, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत स्थानमा अत्यधिक रुपले भिड बढेको हो । बढ्दो भिडभाडका कारण कोरोना भाइरस संक्रमण झनै बढ्ने खतरा स्वरुप वीरेन्द्रनगरबासी यतिबेला चिन्तित छन् । सर्बसाधारणको भिडभाड अस्वभाविक रुपले बढ्न थालेसँगै समुदाय स्तरमा कोरोना संक्रमित देखिदाँ गत साता स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । तर, लामो लकडाउन र निषेधाज्ञाका कारण सर्बसाधारणको दैनिक जीवनयापनमा कठिनाई हुन थालेको भन्दै प्रशासनले आवत–जावत खुकुलो पार्दै आएको छ । संक्रमित बढेपछि भेरीगंगा नगरपालिकाले पनि आफ्नो क्षेत्रलाई छुट्टै निषेधित क्षेत्र घोषणा गरेको थियो । संक्रमितको बढ्दो संख्यालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले अब अवस्था पर्ख र हेरको स्थितीमा पुगिसकेको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बजारमा भिडभाड बढेपनि तत्काल लकडाउन वा निषेधाज्ञा जारी गर्ने कुनै योजना नरहेको बताए । उनले नागरिकबाट मास्क लगाउने, सेनिटाइजर र सामाजिक दुरी कायम गर्ने जस्ता स्वास्थ्य सुरक्षा अपनाउन सके धेरै हदसम्म कोरोना संक्रमण नियन्त्रण गर्न सकिने जनाए । ‘राज्यले एक्लैले मात्र कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोजे त्यो पर्याप्त हुँदैन,’ उनले भने, ‘नागरिक स्वयं सजक र सचेत हुँदै स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग बढाएमा धेरैहदसम्म कोरोना संक्रमण नियन्त्रण गर्न सकिन्छ ।’ उनले प्रदेशकै अलि बढी सजक र सचेत नागरिक सुर्खेतमै बस्ने भएकाले कोरोना संक्रमण नियन्त्रणमा सफलता मिल्ने विश्वास व्यक्त गरे । उनका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा नै विकल्प होइन । कोरोनाले सृृजित अहिले विशेष परिस्थितिमा नागरिकलाई केही समय कठिनाई भएपनि दिर्घकालिनरुपमा सकारात्मक परिणाम आउने उनको विश्वास छ । महामारीका बीचमा पनि विभिन्न स्थानमा सर्बसाधारण उपस्थित हुने क्रम रोकिएको छैन । बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय लगायत निकायले सर्बसाधारणलाई भिडभाड गराएर सेवा दिने गरेका छन् । यस्तै सार्वजनिक स्थानमा पनि उत्तिकै भिड लाग्ने गरेको छ । स्थानीय जुम्ला रोड क्षेत्रमा सामान्य अवस्था झै अचेल दिनहुँजसो श्रमिकहरुको भिड लाग्ने गरेको छ । लामो लकडाउनका कारण दैनिक रुपमा परिवारको गुजारा चलाउन समस्या भएपछि उनीहरु बाध्य भएर काममा निस्केका हुन् । रोगले भन्दा भोकले मर्ने उनीहरुलाई चिन्ता छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनानिधि वाग्लेले बजार क्षेत्रमा बढ्ने सर्वसाधारणको भिडले संक्रमण झन् फैलिने खतरा रहेको बताए । उनले नागरिकलाई हेलचक्राई नगरी जनस्वास्थ्यको मापदण्ड कडाईका साथ पालना गरेर सुरक्षित रहन आग्रह गरे । ‘सुर्खेतमा कोरोना भाइरस संक्रमित केश थपिदा समेत वीरेन्द्रनगर बजार क्षेत्रमा जम्मा हुने मानिसहरुको यो अवस्था छ, मजदुरी गरी दैनिक गुजारा चलाउनेहरुका लागि सकेसम्म राहतको व्यवस्थापन गरी केही समय थप निषेधाज्ञा जारी गर्न आवश्यकता देखिएको छ,’ समाजसेवी कुमारी भुषालले बताईन् । उनले बजारको बढ्दो भिडलाई नियन्त्रण गर्न प्रशासनले कुनै युक्ति सोच्न आवश्यक रहेको औल्याईन् ।
सुर्खेतमा बिहीबार एकैदिन १२ जना नयाँ संक्रमित थपिएका छन् । कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणबाट १० जना पुरुष र २ महिलामा संक्रमण पुष्टी भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्ट अनुसार वीरेन्द्रनगर वडा नं. ६, ९, ११ र १२ का तीन जना पुरुष, दुईजना महिला रहेका छन् । त्यस्तै चौकुने गाउँपालिकाका एक जना पुरुष रहेका छन् । यस्तै सुर्खेतमा कोरोना पुष्टि भएका दैलेख र बाँकेका एक÷एक जना, कालीकोट र दाङका दुई÷दुई जनामा संक्रमण देखिएको छ । यो सँगै सुर्खेतमा संक्रमित हुनेको कुल संख्या ८ सय ३६ पुगेको छ, भने ती मध्ये १ सय ३२ जना सुर्खेत बाहिरका नागरिक हुन् । जिल्लामा हालसम्म संक्रमित मध्ये ६ सय ८० जना निको भएर घर फर्किसकेका छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ । सुर्खेतमा अहिले १ सय ४४ जनाले विभिन्न आइसोलसनमा उपचारको क्रममा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले बताएको छ ।

Translate »