विकासमा बदलिएका प्राथमिकता

असोज २१,जाजरकोट ।
शुरुका वर्षमा सडकलाई प्राथमिकता दिएका स्थानीय सरकारले पछिल्लो समय आफ्ना प्राथमिकता बदलेका छन् । स्थानीयवासीलाई रोजगारीदेखि स्वास्थ्य सेवा सुधारलाई प्राथमिकता राखेर पछिल्ला वर्षमा स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको देखिएको छ । पशु, कृषि, स्वास्थ्य, खानेपानी, रोजगारी तथा सिँचाइलाई मुख्य प्राथमिकता राखेर काम गरेको समेत पाइएको छ । स्थापनाको वर्षमा ‘ट्रयाकओपन’ भएका स्थानीय सडक अहिले स्तरोन्नतिका लागि समेत काम भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् । सुरक्षित सुत्केरी, गर्भवतीलाई पोषण तथा शिक्षा क्षेत्रको सुधारका लागि पूर्वाधारका कार्यक्रमसमेत प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । छोरी सुरक्षा जीवनभरिको कार्यक्रमलाई मुख्य प्राथमिकता दिएर काम गरेको पाइएको छ । जिल्ला समन्वय समिति जाजरकोटले गरेको समीक्षा गोष्ठीमा स्थानीय सरकारले प्रस्तुत गरेका विवरणमा यस्ता कुरा उल्लेख गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार जनशक्तिलाई रोजगारी दिएकोसमेत स्थानीय सरकारले जानकारी दिएका छन् ।

कृषिलाई प्राथमिकता दिएको नलगाड नगरपालिकाले ३५ टन लसुन उत्पादन गरी काठमाडौँमा लगेर बिक्री भएको नगरप्रमुख टेकबहादुर रावलले बताए। आर्थिक वर्ष २०७६/७७ मा ४५५ गर्भवतीको घरमा झण्डा गाडेर कुखुरा वितरणदेखि अन्य आधारभूत सामग्रीसमेत उपलब्ध गराएको नगरप्रमुख रावलले बताए। त्यस्तै ४०७ जना संस्थागत सुत्केरी भएका नलगाड नगरपालिकामा २९ प्रतिशत अघिल्लो आर्थिक वर्षमा गर्भ जाँच गराएकामा यस आवमा ६२ प्रतिशत बढेको तथ्याङ्कमा उल्लेख छ । आव २०७६/७७ मा १९ किलोमिटर सडक निर्माण तथा ४८ किलोमिटर मर्मत तथा स्तरोन्नति भएको उल्लेख छ । त्यस्तै ६४ किलोमिटर घोडेटो बाटो निर्माण गरिएको नगरपालिकाले जनाएको छ । दुईवटा स्वास्थ्य संस्थाका भवन निर्माण गरिनुका साथै सात निर्माणाधीन अवस्थामा रहेको बताएको छ । चार सामुदायिक विद्यालय भवन निर्माण सम्पन्न भएको र सात निर्माणाधीन अवस्थामा रहेको नगरपालिकाले जनाएको छ । छ वटा सामुदायिक विद्यालयमा पक्की शौचालय निर्माण, ५ः६० किलोमिटर विद्युत्लाइन विस्तार भएको नगरपालिकाको दाबी छ । ५९७ घरधुरीमा सौर्यऊर्जा वितरण गरिएको छ । २८० घरधुरीलाई धुवाँरहित चुलो वितरण गरिएको जनाएको छ ।

पाँच मन्दिर, पाँच काठेपुल, दुई खोप भवन निर्माण, सात विद्यालय भवन मर्मत, नौ विद्यालयमा घेराबार, १४६ कृषक समूह गठन भएका छन् । वडा नं १, २ र ४ मा मौरीपालन, वडा नं ३ मा सुन्तला तथा अलैँची पकेट, वडा नं ९, १० र ११ मा लसुन पकेट क्षेत्र, वडा नं ७ र ८ मा धानको पकेट क्षेत्रकारूपमा विकास गरिएको छ । त्यस्तै वडा नं ५ मकैको पकेट, वडा ३ र ६ लाई आलु, वडा नं ५ कागती, वडा नं १३ फलफूल, वडा नं २, ४, ५, ७ र ८ लाई तरकारी पकेट क्षेत्र घोषणा गरी कृषकले आम्दानी लिएको नलगाड नगरपालिकाले जनाएको छ । नलगाडमै चार हजार दाँतेओखरका बिरुवा लगाएको छ । स्वास्थ्य क्षेत्रमा समेत ८० प्रतिशतभन्दा माथि प्रगति भएको नगरपालिकाले जनाएको छ । आव २०७६र७७ मा भेरी नगरपालिकाले १८ खानेपानीका योजना निर्माण सम्पन्न गरेको जनाएको छ । ३३ वटा आन्तरिक सडक निर्माण, नौ सिँचाइ योजना, २७ वटा भवन र एक पूल निर्माण गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। ३१ किलोमिटर सडकको ‘ट्रयाकओपन’, १८ किलोमिटर कच्ची सडक मर्मत, सात स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा रहेको उनले बताए। जाजरकोट बहुप्राविधिक शिक्षालय स्थापना, सात वडामा आधारभूत स्वास्थ्य संस्था सञ्चालन, कुदु र पुन्मामा ल्याब सेवा सञ्चालनमा ल्याइएको छ । ३८ शिक्षकका दरबन्दी स्वीकृत गरिएको छ । भेरी नपा–१ कालेगाउँमा गहुँको बीउ उत्पादन गरी बीउमा आत्मनिर्भरता ल्याइएको छ । वडा नं ७ को रुपाकोटमा मकैको बीउ उत्पादन गरी बीउ आयातमा न्यूनीकरण गरिएको छ ।

वडा नं ६ मा आलुको मूल बीउ उत्पादन र वडा नं २ को तिलिङ्गेमा सिमीको बीउ उत्पादन गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै शिवालय गाउँपालिकाले कृषि क्षेत्रका साथै सबै वडामा सडक निर्माण गरेका जनाएको छ । सवै वडा कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको बताएको छ । गाउँपालिकाभरि शुद्ध पिउनेपानी उपलब्ध गराउनका लागि ८० प्रतिशत काम भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार जनशक्तिलाई रोजगारी दिएको समेत बताएको छ । कुशे, छेडागाड, बारेकोट जुनिचाँदे गाउँपालिकाले समेत अन्य स्थानीय तहजस्तै विकास निर्माणका काममा प्राथमिकता दिएको पाइएको छ । जुनिचाँदेले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरी सुत्केरीको जीवन सुरक्षालाई ध्यान दिएको छ । बारेकोट गाउँपालिकाले शतप्रतिशत सुत्केरी सेवा दिएको बताएको छ । सङ्घीय र प्रदेशका कार्यालयले सडक निर्माण, विद्यालय भवन निर्माण गरेको प्रगति विवरण सार्वजानिक गरेका छन् । कृषि विकास कार्यालयले स्थानीय उत्पादनलाई जोड दिएको छ । डिभिजन वन कार्यालयले स्थानीय जडीबुटी, वन संरक्षण तथा पर्यटकीयस्थलको संरक्षणमा जोड दिएर काम गरेको जनाएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लाको विकास निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । सडक, टेलिफोन, सिँचाइ र खोपानीका काम अब अर्को चुनावमा प्राथमिकताका योजनामा नपर्ने समेत मन्त्री बस्नेतले बताए । समयअनुसार मानिसका प्राथमिकता बदलिँदै जाने उनको दाबी छ । ( रासस)

Translate »