सुर्खेतमा वन्यजन्तु उद्दारमै सकस

सरकारी वेवास्ताले वन्यजन्तु संरक्षणमा चुनौती बढ्दै

स्काई न्यूज /माघ २८, सुर्खेत ।
सुर्खेतमा अशक्त, घाइते, टुहुरा, तथा चोरी शिकारीको चपेटामा परेका वन्यजन्तुको उद्दारमा सकस भईरहेको छ । आधुनिक सरसमान, दक्ष जनशक्तिसँगै अपर्याप्त बजेट लगायतका समस्याले वन्यजन्तुको उद्दार तथा उपचारमा सकस हुने गरेको हो । आवश्यक स्रोत साधन तथा दक्ष जनशक्ति अभावका वावजुद वन्यजन्तुको बासस्थान संरक्षण, चोरी सिकारी नियन्त्रण र उद्दारमा निरन्तर काम गरिरहेको डिभिजन वन कार्यालयको दावी छ । डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहालले दक्ष जनशक्ति, आवश्यक स्रोतसाधन अभावका बावजुद वन्यजन्तुको बासस्थान संरक्षण, चोरी सिकारी नियन्त्रण, उद्दार तथा उपचारमा कुनै कमि हुन नदिएको बताए । उनले पछिल्लो एक वर्षमा जिल्लाभरीबाट पाँच दर्जन बढी अशक्त, घाइते, टुहुरा, तथा चोरी शिकारीको चपेटामा परेका वन्यजन्तु तथा चराचुरंङ्गीको उद्दार गरिएको जनाए । ‘सुर्खेतमा वन्यजन्तुका लागि छुट्टै अस्पताल तथा औषधालय नभएपनि पशुरोग विज्ञहरुको सरसल्लाह, पुराना अनुभवको सहाराले उद्दार गरिएका वन्यजन्तु तथा चराचुरंङ्गीको उपचारपछि सुरक्षित पुर्नवास्थानमा छोड्ने गरेका छौं,’ उनले भने, ‘यद्यपि उद्दार गरिएका वन्यजन्तु, चराचुरंङ्गीको अस्पताल, औषधि एवं उससँग सम्बन्धित प्राविधिक जनशक्ति अभावले समय सापेक्ष उद्दार तथा उपचार गर्न भने सकेका छैनौं ।’ उनले अब छिट्टै वन्यजन्तुका लागि प्रशिक्षित जनशक्ति, औषधि, अस्पताललगायतका पूर्वाधार निर्माणतर्फ सोच्नु पर्ने बेला आएको औल्याए । उनका अनुसार कर्णाली प्रदेशमै हालसम्म वन्यजन्तु तथा चराचुरंङ्गीका लागि भनेर छुट्टै अस्पताल बनाईएको छैन् । उनले वन्यजन्तु उद्दार सम्बन्धि प्रशिक्षत तथा तालिम प्राप्त जनशक्ति, आवश्यक स्रोतसाधन अभावमा विमार, अशक्त, घाइते जनावरम व्यवस्थापनमा चुनौति बढ्दै गईरहेको बताए ।

डिभिजन वनका सूचना अधिकारी टेकबहादुर रावलले वन्यजन्तु उपचार केन्द्र अभावमा घाइते, अशक्त, टुहुरा वन्यजन्तुको उद्दारपछि पुर्नःस्थापनमा समस्या हुँदै आएको जनाए । ‘डिभिजन वनले हाल कार्यालय हाताभित्र बनाईएका दुई वटा आश्रयस्थलमा जस्तोसुकै वन्यजन्तु तथा चराचुरंङ्गीलाई राख्ने गरेका छौं,’ उनले भने, ‘घाइते, अशक्त, विमार वन्यजन्तु सामान्य उपचारपछि बाँच्यो भने सुरक्षित बासस्थानमा छोडि दिने गरेका छौं ।’ उनले जिल्लाका विभिन्न क्षेत्रबाट उद्दार गरि ल्याईएका वन्यजन्तुलाई एक वर्षअघि सम्म बर्दिया राष्ट्रिय निकुञ्जमा छोडिने गरिएको बताए । उनका अनुसार डिभिजन वन कार्यालयको समन्वयमा घाइते, अशक्त वन्यजन्तुका लागि लेखबेसीको गंगामाला सामुदायिक वन उपभोक्ता समूहले समेत आश्रय स्थल बनाएको छ । ‘वन्यजन्तुको उद्दार तथा उपचारका लागि भनेर सरकारी तवरबाट कुनै विशेष बजेट तथा योजना पनि बनाएको पाईदैन्,’ उनले भने, ‘घरपालुवा जनावर जस्तै विमार वन्यजन्तलाई औषधो उपचार गरेर बाँचेपछि सुरक्षित बासस्थानमा छोडिन चलन रहेको छ ।’ उनले वन्यजन्तुको कर्णाली प्रदेशमै अस्पताल नभएकाले प्रदेश सरकारले नै नीतिरुपमै विशेष योजनाका साथ अगाडि बढ्न आवश्यक रहेको औल्याए । उनका अनुसार डिभिजन वन कार्यालयको हाता भित्र रहेको वन्यजन्तु आश्रयस्थलमा कतिपय वन्यजन्तु उचित औषधोउपचार एवं व्यवस्थापन अभावमा मर्ने गरेका छन् । उनले डिभिजन वनको अधिकतम् प्रयासका वाबजुद कतिपय घाइते, अशक्त र विमार वन्यजन्तुलाई बचाउन नसकिएको जानकारी दिए । ‘संरक्षित वनक्षेत्र भित्र रहेका वन्यजन्तुको संरक्षण तथा व्यवस्थापन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा रहेको वाडेनले गर्दे आईरहेको छ,’ सहायक वन अधिकृत चन्द्रबहादुर गुरुङले भने, ‘वाडेनसँग वन्यजन्तु संरक्षण तथा व्यवस्थापनका लागि पर्याप्त स्रोत साधान हुने हुँदा सहजै उद्दार, उपचार र पुर्नस्थापना हुने गरेको छ । तर, संरक्षित क्षेत्र बाहिरका वन्यजन्तुहरुको संरक्षण डिभिजन वन कार्यालयहरुले गर्नुपर्ने नियम रहेकाले पर्याप्त स्रोतसाधनको अभावमा प्रभावकारी सेवा पु¥याउन नसकिएको हो ।’ उनले अशक्त, घाइते, टुहुरा, तथा चोरी शिकारीको चपेटामा परेका वन्यजन्तुको उद्दार गरि औषधी उपचारपछि सुरक्षित वासस्थानमा पुर्नस्थापित गर्न कठिनाई हुँदै आएको जनाए । उनका अनुसार वन्यजन्तु संरक्षण, व्यवस्थापन, उद्दार तथा उपचारमा आवश्यक पूर्वाधारसहित पर्याप्त बजेट अभावले चुनौतीहरु बढ्दै गईरहेका छन् । ‘वन डढेलो, चोरी शिकारी, जंगली जनावर देख्ने वित्तिकै लखेट्ने, मार्ने प्रवृत्ति लगायतका कारणले वन्यजन्तुमाथि जोखिम बढ्दै गईरहेको छ,’ उनले भने, ‘मुख्यतः प्रजननको अगाडि–पछाडी आहारको खोजीमा गाउँ पस्ने, गर्मी तथा वर्षातको समयमा जंगली जनावर माथि बढी जोखिम हुने गर्छ ।’ उनले त्यस्ता अशक्त, घाइते, टुहुरा तथा जोखिममा परेका वन्यजन्तुको उद्दार गरि सुरक्षित मुल बासस्थानमा छोडिने गरिएको जानकारी दिए । उनका अनुसार पछिल्लो डेढ वर्ष यता संरक्षित वन्यजन्तु पानीओत, सालक, घोरल, चितुवा, बंदेल, अजिंगर, भार्से, सारस, गिद्ध, लाटेकोशेरो, हुलचिल, दुम्सी, जरायो, चरिबाघ, मृग, चित्तल लगायत पाँच दर्जन बढी वन्यजन्तुको उद्दार गरिएको छ ।


खुला चिडियाखानासँगै अस्पताल  बनाऊँ
काँक्रेविहारमा पर्यापर्यटनलाई समेत मध्यनजर गरेर वन्यजन्तुको उपचार केन्द्रसँगै चिडियाखानाको रुपमा विकास गर्न वीरेन्द्रनगर नगरपालिकाले सरकारसँग लविङ्ग गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । वर्षेनी अतिक्रमणको चपेटामा परेको क्राँक्रेविहारलाई समयमै तारवारसहित वन्यजन्तुको आश्रय स्थलका रुपमा विकास गर्न आवश्यक रहेको राष्ट्रिय उपभोक्ता मञ्चका सदस्य राजु केसीले बताए । उनले आश्रयस्थलमा वन्यजन्तु राखिएपछि त्यहाँ औषधोउपचारका लागि डाक्टरसहितको अस्पताल निर्माण गर्न उपयुक्त हुने जिकिर गरे । उनका अनुसार संरक्षित क्षेत्र भित्रका बाघ, गैडा र हिऊ चितुवा जस्ता बन्यजन्तुमा सरकारी एवं अन्य गैरसरकारी निकायले ठूलो लगानी गरेपनि त्यो बाहेक अन्य क्षेत्रमा भने अलिक कम चासो देखिन्छ । उनले कर्णाली प्रदेशमा समयमै वन्यजन्तुको प्रचुर सम्भावना बोकेका ठाउँहरुमा पर्याप्त लगानी, अनुसन्धान एवं संरक्षण गर्न सकियो भने रास्ट्रिय संरक्षण उद्देश्य पुरा हुने जनाए ।


काँक्रेबिहार वन्यजन्तु संरक्षण चुनौती
नेपालको पहिलो संरक्षित वनका रुपमा रहेको काँक्रेबिहारमा ८० भन्दा धेरै जरायो बासस्थानका रुपमा रहेको छ । अरु विभिन्न खालका वन्यजन्तु पनि त्यहाँ बसोबास गर्छन । पछिल्लो समय मानव अतिक्रमणसँगै काँक्रेबिहार क्षेत्रमा बस्ने वन्यजन्तु जरायोको संरक्षणमा चुनौती बढ्दै गएको छ । वर्षेनि जरायो मर्ने गरेका छन । कतिपय जरायो चोरी सिकारी गर्नेको निशानामा परेर मरेका छन भने कतिपय जंगलबाहिर निस्कँदा विचलित भएर मर्ने गरेका छन । काँक्रेबिहार क्षेत्रभित्र गत आर्थिक वर्ष मात्र चार वटा जरायो मरे । ती मध्ये एउटाको घाइते अवस्थामा उद्दार गरी उपचार गर्ने क्रममा मृत्यु भएको थियो भने बाँकी मृत फेला परेका तीन वटा जरायोलाई गोली लागेको थियो । ‘गत वर्ष तीन वटा जरायोलाई गोली लागेको अवस्थामा मृत भेटिएपछि चोरीसिकारी गर्नेहरुबाट जरायोहरु जोखिममा रहेको देखिन्छ,’ डिभिजन वनका जमदार मंशाराम ओलीले भने, ‘ती जरायोहरुलाई गोली हान्नेहरु भने पत्ता लगाउन सकिएन, अहिले पनि काँक्रेबिहारमा बस्ने जरायोहरु चोरीसिकारीको निशानामा छैनन् भन्न सकिँदैन ।’ यहीं माघ ४ गते बुलबुले तालमा फसेको अवस्थामा अन्दाजी तीन वर्षको जरायोको उद्धार गरिएको थियो । उपचारका क्रममा दुई दिनपछि उक्त जरायो म¥यो । आफ्नो समूहसँग जंगलबाहिर निस्किएको उक्त जरायो विचलित भएर बुलबुले तालतिर जानेक्रममा तारबारमा ठोक्किएर मरेको अनुमान गरिएको छ । ‘जरायोहरु बाहिर निस्कँदा समूहमा निस्कने गर्छन, कतिपय साना जरायोहरु त्यसबेला विचलित भइहाल्ने रहेछन,’ उनले भने, ‘त्यो जरायो पनि त्यसै भएर बुलबुलेतर्फ दौडिने क्रममा तारबारमा ठोक्किएर मरेको हुन सक्छ ।’ काँक्रेबिहार संरक्षित क्षेत्र वरिपरि पर्खाल नबन्दा त्यहाँको वन्यजन्तुसँगै वन पनि संरक्षणमा चुनौती रहेको छ । उनका अनुसार काँक्रेबिहार वरिपरि ७ किलोमिटर पर्खाल बनाउनुपर्छ । ‘वरिपरि पर्खाल नहुँदा वन्यजन्तुमध्ये केही चोरीसिकारी गर्नेको आँखामा पर्छन, केही विचलित भएर बाहिरै मर्ने गरेका छन,’ उनले भने, ‘पर्खाल नबनाएसम्म वन र वन्यजन्तु जोगाउनै नसकिने भयो, सम्बन्धित निकाय यसमा गम्भीर भइदिएका छैनन् ।’ उनका अनुसार काँक्रेबिहार संरक्षित वनभित्रका वन्यजन्तु र वनको संरक्षणका लागि स्थानीयको पहल पनि उत्तिकै आवश्यक छ ।

 

Translate »