जुम्लामा रैथाने बालीको उत्पादन घट्दै

सागर परियार / फागुन १३, जुम्ला ।
लोपोन्मुख हुँदै गएको जुम्ली रैथाने बाली उत्पादन क्रमिक रुपमा घट्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार यस वर्ष जुम्लामा १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको छ । आव २०७४ देखि ०७६ सालसम्म २७ हजार १ सय १३ मेट्रिकटनभन्दा बढी रैथाने बाली उत्पादन भइरहेको जुम्लामा २र३ वर्षपछि लगभग १४ हजार मेट्रिकटनले उत्पादन घटेर चालु आवमा १२ हजार मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको हो । सरकारी तथ्याङ्क हेर्दा जुम्ली रैथाने बाली उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको स्पष्ट बुझिन्छ । १४ हजार मेट्रिकटन टन रैथाने खाद्यन्न बाली उत्पादन घटेको जुम्लामा यस वर्ष मार्सी धान ६ हजार ६ सय ७० मेट्रिकटन, गहुँ ५ हजार २ सय ९० मेट्रिकटन, वर्षे मकै ६ हजार ५ सय ६०, कोदो ४ हजार २ सय ९० मेट्रिकटन उत्पादन भएको छ ।


त्यस्तै, जौ ७ हजार ६ सय ५० मेट्रिकटन, फापर ९८ मेट्रिकटन, उवा १५ मेट्रिकटन, चिनो २ सय ४० मेट्रिकटन र कागुनो १४ मेट्रिकटन गरी जम्मा १२ हजार ३ सय ८ मेट्रिकटन रैथाने खाद्यन्न बाली उत्पादन भएको कृषि विकास कार्यालयका योजना अधिकृत लक्षिराम महतले बताए । उनका अनुसार सिमी ३ हजार ९ सय ६० मेट्रिकटनसहित दलहन बाली मास ३८ मेट्रिकटन, भटमास ८१ मेट्रिकटन, गहत ४२ मेट्रिकटन र केराउ ९९ मेट्रिकटन गरी जम्मा दलहन बाली ४२ सय ५८ मेट्रिकटन उत्पादन भएको छ । साथै, तेल बाली ८५ मेट्रिकटन, बर्षे आलु २७ हजार मेट्रिकटन, तरकारी ३३ सय ७५ मेट्रिकटन, हिउँदे फलफूल ४ सय ६५ मेट्रिकटन उत्पादन भएको योजना अधिकृत महतले जानकारी दिए । उनले भने,“विगतको तथ्याङ्क हेर्दा दोब्बरले रैथाने बाली उत्पादन घटेको देखिन्छ । अधिकांश किसान कम परिश्रम गरेर धेरै उत्पादन गर्ने दाउमा छन् । जसले रैथाने बाली उत्पादन घट्दै गएको हो ।” कर्णाली प्रदेश सरकारले रैथाने बाली तथा अर्ग्यानिक खेती कार्यक्रम सञ्चालन गरेको उनको भनाई छ । उनले विश्व बजारमा माग बढ्दै गएको जुम्ली मार्सी, सिमी, फापर, चिनो कागुनोको प्रर्बद्धनका लागि गाउँ गाउँमा पुगेर सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेकोमा जोड दिए।
रैथाने बाली संरक्षणमा स्थानीय तह
विश्व बजारमा जुम्ली रैथाने बालीको माग बढ्दै गएपछि उत्पादन वृद्धि र प्रर्बद्धनमा यहाँका किसान र स्थानीय सरकार जुटेका छन् । कृषि विकास कार्यालयले चालु आवमा रैथाने बाली, अर्ग्यानिक खेती कार्यक्रम सञ्चालन गर्दै छ । चन्दननाथ नगरपालिकाले बाझो जग्गाको सदुपयोग गर्दै चिनो कागुनो, फापर, मार्से, गहत, कालो भटमासलगायत रैथाने बाली प्रर्बद्धनका लागि बिउ पुजी लगानी गर्ने तयारी गरेको छ । मेयर कान्तिका सेजुवालले भने,“रैथाने बाली प्रर्बद्धनका लागि पाइलट प्रोजेक्टकै रुपमा अघि बढेका छौं। चन्दननाथका १० वटै वडाका एकल महिलालाई बिउँ पुजी दिएर बाँझो जग्गामा रैथाने बाली उत्पादन गर्न लगाउने तयारी छ ।” शरीरलाई पोषण दिने तथा विभिन्न रोगको औषधीकै रुपमा काम गर्ने जुम्ली रैथाने अन्न बालीको प्रर्बद्धनमा जुम्लाका सबै स्थानीय तहको साझा नीति हुनु पर्ने किसानको सुझाव छ । तिला गाउँपालिका–८ का किसान धन बहादुर रावत भने,“रैथाने बालीको महत्त्व बुझेर हामी पुन रैथाने बालीको खेतीमा जुटेका छौं । तर सबै तहको साझा नीति नभएसम्म संरक्षण सम्भव छैन ।” हाल जुम्लाको ३९ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २६ हजार हेक्टरमा मात्र खेती गरिएको छ । अझै १३ हजार हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको सरकारी तथ्याङ्क छ । राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सीको माग बढेसँगै मार्सी र स्याउ खेतीमा आकर्षण बढेपछि अन्य रैथाने बाली उत्पादन भने ह्वात्तै घटेको देखिन्छ ।

 

Translate »