कर्णालीमा टेलिफोन सेवा पर्याप्त नहुँदा उपभोक्तालाई सकस

माग अनुरुपको ‘एफटीटीएच’ सेवा विस्तार हुन सकेन

स्काई न्यूज / फागुन १७, सुर्खेत ।
नेपाल टेलिकमले उपभोक्तालाई गुणस्तरीय, सर्वसुलभ र आधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रयासरत रहेपनि कर्णाली प्रदेशकै राजधानीमा मोवाइल फोन नलाग्ने समस्या रहेको छ । दुर्गम गाउँका के कुरा गर्नु, प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमै फोन लाग्दैन् भन्दा कतिपयलाई विश्वास नलागेपनि धुलियाविट, भेरी नदी पुल आसपाससँगै बाङ्गेसीमलदेखि रानीघाट क्षेत्रमा मोवाईलको कमजोर पहुँच रहेको सत्य हो । प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी विनोद ढकालले धुलियाविट क्षेत्रमा गतिलो पहुँच अभावमा टेलिकमको मोवाईलले राम्रोसँग काम नगर्दा धेरै समस्या भोग्नु परेको बताउँछन् । उनले टेलिकमको जिल्लादेखि केन्द्रसम्म मोवाईलको पहुँच विस्तार गरि दिन आग्रह गरेपछि धुलियाविटमा सर्वे भएपनि हालसम्म टावर जडान नहुँदा एनसेलको नम्वरबाट काम चलाउनु परेको गुनासो गरे । ‘दुर्गम गाउँका के कुरा गर्नु, वीरेन्द्रनगर भित्रै गहिरो र कोल्टे परेको ठाउँमा मोबाईलले टावर पाउदैन,’ उनले भने, ‘टेलिकमको चरम लापरबाहीका कारण वीरेन्द्रनगरबासीले टेलिफोन तथा इन्टरनेटको भरपर्दो सेवा पाउन सकिरहेका छैनन् ।’ उनले टेलिकमबाट नियमित रुपमा टावर र वीटीएसहरुको मर्मत सम्भार गर्ने, नयाँ टावर निर्माण गर्ने, क्षमता विस्तार गर्ने, पावर अपडेट् गर्ने, लाईन सुधार गर्ने लगायतका कार्य नहुँदा मोवाईन फोन तथा इन्टरनेटको भरपर्दो सुविधाबाट सेवाग्राही बञ्चित हुँदै आएको बताए । प्रदेश राजधानीकै शहरमा कमजोर पहुँच राख्ने टेलिकम दुरदराजका गाउँहरुमा मोवाईल नेटवर्कको धेरै समस्या नागरिकको गुनासो स्वाभाविकै रहेको उनको भनाइ छ । उनका अनुसार अहिलेपनि सुर्खेतका दुई दर्जन गाउँहरुमा टेलिकम मोवाईलको चाहेका बेला सहजरुपमा पहुँच पुग्न सकेको छैन् । ‘कतिपय ठाउँमा मोवाईलले काम गर्दैन् । कतै काम गरि नै हालेपनि राम्रोसँग सुनिदैन,’ उनले भने । सरकारले सबै नेपालीलाई गुणस्तरीय सञ्चारको पहुँच पु¥याउने घोषणा गरे पनि जिल्लाका गुटु, विजौरा, चिङ्गगाड गाउँपालिकाको पाम्का, रजेना, मटेला, सिम्ता गाउँपालिकाको घोरेटा, खानीखोला लगायतका नागरिक मोबाइल फोन नेटवर्कको सुविधाबाट वञ्चित भएका छन् । भौगोलिक विकटता रहेको ती गाउँका क्षेत्रमा साँझ परेपछि मोबाइल फोन सम्पर्क हुँदैन । विद्युत विस्तार नभएका कारण दुर्गममा रहेका टेलिकमको बीटीएस टावर सोलारमार्फत सञ्चालन हुने हुँदा पर्याप्त पावर नहुँदा घाम अस्ताएसँगै त्यसले काम गर्न सक्दैन् । सुर्खेतका चौकुने, चिङ्गगाड र सिम्ता गाउँपालिकामा टेलिकमको मोवाईल नेटवर्कको कमजोर पहुँच रहेको सरोकारवाला बताउँछन् । चिङ्गगाड गाउँपालिकाको–२, को हालत पनि उस्तै छ । पाम्का, रजेना र मटेलासँगै वडा नम्वर २, को ढाडखेतमा नेटवर्कले काम नै गर्देन् । चिङ्गगाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले गाउँपरिषद्बाट दुईतिहाई बहुमतले पारित गरेर पालिकाको कार्यालय अवचिङ्गबाट ढाडखेत सार्ने अन्तिम तयारी भएपनि सञ्चार असुविधाले काममा बाधा पुग्ने बताए । उनले ढाडखेतमा विद्युत लाईन विस्तार कार्य तीव्र गतिमा भएपनि टेलिकमको पहुँच पु¥याउन अहिले आफु टेलिकमको सुर्खेतदेखि नेपालगञ्ज कार्यालयसम्म निरन्तर दौडधुप गरिरहेको जनाए । ‘चिङ्गगाडका केही ठाउँमा मात्र टावरले काम गर्छ,’ उनले भने, ‘बाँकी सबै ठाउँमा बिहान र साँझपख मोबाइल नेटवर्क हुँदैन ।’ समस्या समाधानका लागि मन्त्री समेतको ध्यानाकर्षण गराइएको भएपनि कुनै सुनुवाईन नभएको उनले बताए । जिल्लाका चौकुने, अवलचिङ्ग र सिम्ता गाउँपालिकाको सबै गाउँहरुमा विद्युतलाइन विस्तार नभएकाले समस्या भएको टेलिकम सुर्खेत कार्यालय प्रमुख वरिष्ठ ईन्जिनियर नारायणप्रसाद कुसीले बताए । ‘ब्याट्री फूलचार्ज हुन दुई–तिन दिन लाग्छ,’ कुसीले भने, ‘सौर्यप्रकाशमा सोलार प्यालनमा भर पर्ने हुँदा समस्या दोहोरिरहेको छ ।’ समस्या समाधानका लागि माथिल्लो निकायमा निरन्तर पहल भईरहेको उनले जनाए । उनका अनुसार सुर्खेत जिल्ला भरी ६३ वटा वीटीएस टावरहरु रहेपनि भौगोलिक विकटताका कारण पर्याप्त हुन सकिरहेका छैनन् । उनले वीरेन्द्रनगरका केही स्थानमा मोवाईल नेटवर्क नपुग्ने समस्या समाधानका लागि समेत केन्द्र तथा प्रदेश कार्यालयको समन्वयमा काम भईरहेको बताए । उनका अनुसार अहिले जिल्लाका नौ वटा स्थानीय तहका ८ स्थानमा २५ मिटर माथिका टावर राख्ने काम भईरहेको छ । पहिलो चरणमा जिल्लाका साटाखानी, दशरथपुर, गुमीको (शिवनगर), मालारानी, उत्तरगंगा, बाङ्गेसीमल, बड्डीचौर र विद्यापुरमा २५ मिटर अग्ला टावर निर्माण कार्य शुरु गरिने छ । यता टेलिकमले कर्णालीमा चौथो पुस्ताको मोबाइल सेवा विस्तारमा उल्लेख्य उपलब्धि हासिल गरेको टेलिकम सुर्खेतका ईन्जिनियर चन्द्रभूषण साह बताउँछन् । उनले कर्णालीमा पर्याप्त सडक, बत्तीलगायत भौतिक पूर्वाधार अभावका बाबजुद टेलिकमले वैकल्पिक सोलार प्यानल जोडेर भएपनि मोवाईल नेटवर्क विस्तार अभियानलाई निरन्तरता दिईरहेको बताए । यो अवधिमा तामाको तारबाट चल्ने परम्परागत स्थानीय टेलिफोन तथा एडीएसएल सेवालाई अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवामा रुपान्तरण गरिएको उनको भनाइ छ । अत्याधुनिक सूचना प्रविधि सञ्जाल विस्तार गर्ने लक्ष्यअनुसार ग्रामीण क्षेत्रमा दूरसञ्चारको क्षेत्र विस्तारमा कार्यालय जुटिरहेका उनले दावी गरे ।


‘एफटीटीएच’ सेवा पु¥याउँनै कठिन
नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तारलाई तीव्रता दिएको छ । उपभोक्ताको माग बढ्दै गएपछि टेलिकमको सुर्खेत शाखाले फाइबर टु द होम (एफटीटीएच) सेवा जिल्लाका आठ स्थानमा थप विस्तार गर्न लागेको हो । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने भएकाले उपभोक्ता माँझ यसको माग बढ्दै गईरहेको छ । सेलुलर मोबाइल फोनको लोकप्रियतासँगै ल्याण्डलाईन ग्राहकको संख्या घटिरहेका बेला पछिल्लो समय एफटीटीएच प्रविधिले पुनः उपभोक्तालाई ल्याण्डलाईन जडान गर्न तर्फ आकर्षित गरेको हो । टेलिकम सुर्खेतका अनुसार एयरपोर्ट, तातोपानी, बाङ्गेसीमल, क्षेत्रमा थप सेवा विस्तार गर्न लागिएको छ । बुलबुले, अस्पताल रोड, ईत्राम, खजुरा क्षेत्रमा सर्बे नहुँदा टेलिकमले सेवा विस्तार गर्न नसकिएको टेलिकमको भनाइ छ । यद्यपि ! जुन क्षेत्रबाट सेवाग्राहीको माग जति धेरै आउँछ, त्यहीं अनुपातमा माग भएका क्षेत्रमा सेवा विस्तार गर्ने टेलिकमको नियम रहेको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा हालसम्म फाइबर टु द होम (एफटीटीएच) सेवा लिने सेवाग्राहीको संख्या दुई हजार दुई सय रहेको टेलिकम सुर्खेतको तथ्यांकमा उल्लेख छ । तर, टेलिकमले एफटीटीएच विस्तारमा प्राविधिक कारण देखाउँदै माग अनुरुपको सेवा विस्तार गर्न नसक्दा उपभोक्तामा असन्तोष बढी रहेको छ । सदरमुकाम वीरेन्द्रनगरकै उपभोक्ताको मागलाई टेलिमकले सम्बोधन गर्न नसक्दा गुनासो बढीरहेको टेलिकम सुर्खेत कार्यालय प्रमुख वरिष्ठ ईन्जिनियर नारायणप्रसाद कुसीले बताए । उनले मुलतः फाइबर टु द होम (एफटीटीएच) विस्तार पूर्व केन्द्रीय कार्यालयबाटै जनघनत्व, ट्राफिक साईट, कभरेज लगायतको सर्वेक्षण हुने गरेकाले उपभोक्ताको माग अनुरुपको सेवा तत्काल सम्बोधन गर्न ढिलाई भईरहेको जनाए । उपभोक्ताले मागे अनुरुप सेवा पाउन नसकिरहेको गुनासो बढ्दै गएपछि कार्यालयले फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार तीव्रता दिएपनि पर्याप्त हुन सकेको छैन् । अहिले पनि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरका केही स्थानमा मात्र टेलिकमले आफ्नो फाइबर टु द होम (एफटीटीएच) सेवाको विस्तार गर्न सकेको छ । त्यस्तै गत वर्ष सुर्खेत जिल्लाभरी ल्याण्डलाईन ग्राहकको संख्या ५ हजार ६ सय रहेकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म एफटीटीएच प्रविधि सञ्चालनमा आएसँगै ल्यान्डलाइन ग्राहकको संख्या ७ हजार पुगेको हो । टेलिकमले फाइबर टु दी होम (एफटीटीएच) सेवा सुर्खेत जिल्लाभरी विस्तार गरिने योजना रहेको बताएको छ । थप विस्तारको काम भईरहेकाले अब चालु आर्थिक वर्ष भित्र कुनै बाधा अड्चन नआए ६ हजार एफटीटीएच ग्राहक बनाउने लक्ष्य रहेको कार्यालय प्रमुख ईन्जिनियर कुसी बताउँछन् । उनले सस्तो मूल्यमा फाइबर इन्टरनेट उपलब्ध गराउँदै आएको टेलिकमले ग्राहकको सहजताको लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको बताए । उनले टेलिकमको वेवसाईज तथा एसएमएसबाटै एफटीटीएच सेवाको जानकारी लिन सकिने सुविधा उपलब्ध रहेकाले ग्राहकको माग नआएसम्म तत्काल क्षेत्र विस्तारमा समस्या रहेको जनाए । ‘कर्णाली प्रदेशको दैलेख जिल्लाभरी एफटीटीएच सेवा विस्तार भईसकेको छ,’ उनले भने, ‘छिट्टै सल्यानको श्रीनगर र सल्लीबजार, सुर्खेतका छिन्चु, जहरे, मेहेलकुनालगयातका क्षेत्रमा एफटीटीएच सेवा पु¥याउँदैछौं ।’ उनले टेलिकम सुर्खेतसँगै कर्णाली प्रदेशका अन्य जिल्लामा समेत एफटीटीएच सेवा विस्तार गर्ने अभियान जारी रहेको जनाए । उनका अनुसार एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट, आईपीटीवी र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी छ । पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले समेत एफटीटीएच सेवा अपग्रेड गरी लिन सक्छन् । यस अघि जडान भएका तथा नयाँ जडान हुने सबै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा दूरसञ्चार कार्यालयमा सम्पर्क राखी आवश्यकता अनुसार आईएसडी लगायतका विभिन्न सेवा समेत थप गर्न सकिने छ । हाल प्रयोगमा रहेको ल्यान्डलाइन (पीएसटीएन) टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न तरिकाले महशुल बुझाउन वा रिचार्ज गर्न सकिन्छ ।

Translate »