फोन नलाग्ने समस्याले उपभोक्तालाई सास्ती

कर्णालीमा चाहेंजति नेपाल टेलिकमको क्षमता विस्तार भएन

स्काई न्यूज /चैत १, सुर्खेत ।
नेपाल टेलिकमले उपभोक्तालाई गुणस्तरीय, सर्वसुलभ र आधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रयास गरेपनि अझै पर्याप्त हुन सकेको छैन् । टेलिकमले आफ्नो क्षमता विस्तार नगर्दा कर्णाली प्रदेशकै राजधानी सुर्खेत सदरमुकाममै मोवाइल फोन नलाग्ने समस्या रहेको छ । कर्णालीका दुर्गम गाउँका के कुरा गर्नु ? प्रदेश राजधानीमै फोन लाग्दैन् भन्दा कतिपयलाई विश्वास नलाग्न सक्छ । टेलिकमले पर्याप्त ध्यान नदिँदा लामो समयदेखि यो समस्या विद्यमान रहेको छ । सदरमुकाम वीरेन्द्रनगरको धुलियाविट, भेरी नदी पुल आसपाससँगै बाङ्गेसीमलदेखि रानीघाट क्षेत्रमा मोवाईल फोनको कमजोर पहुँच रहेको छ । प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले धुलियाविट क्षेत्रमा टेलिकमले आफ्नो क्षमता विस्तार नगर्दा लामो सयमदेखि मोवाईल फाने नलाग्ने समस्या रहेको बताए । उनले टेलिकमको जिल्लादेखि केन्द्रसम्म मोवाईलको पहुँच विस्तार गरि दिन आग्रह गरेपछि धुलियाविटमा सर्वे भएर टावर जडान भएपनि बत्तीको बहानामा सञ्चालन हुन नसकेको जनाए । ‘दुर्गम गाउँका के कुरा गर्नु ? वीरेन्द्रनगर भित्रै गहिरो र कोल्टे परेको ठाउँमा टेलिकमको मोबाईलले फोनले काम गर्देन्,’ उनले भने । ‘टेलिकमबाट नियमित रुपमा टावर र वीटीएसहरुको मर्मत सम्भार गर्ने, नयाँ टावर निर्माण गर्ने, क्षमता विस्तार गर्ने, पावर अपडेट् गर्ने, लाईन सुधार गर्ने लगायतका कार्य नहुँदा मोवाईन फोन तथा इन्टरनेटको भरपर्दो सुविधाबाट समेत सेवाग्राही बञ्चित हुनु परेको छ ।’ उनले अहिलेपनि सुर्खेतका दुई दर्जन गाउँहरुमा टेलिकम मोवाईलको नेटवर्कले काम गर्न नसकिरहेको जनाए ।

‘कतिपय ठाउँमा मोवाईलले काम गर्दैन् । कतै काम गरि नै हालेपनि राम्रोसँग सुनिदैन,’ उनले भने । सरकारले सबै नेपालीलाई गुणस्तरीय सञ्चारको पहुँच पु¥याउने घोषणा गरे पनि जिल्लाका गुटु, विजौरा, पाम्का, रजेना, मटेला, घोरेटा, खानीखोला लगायतका नागरिक मोबाइल फोन नेटवर्कको सुविधाबाट वञ्चित रहेका छन् ।

‘कतिपय ठाउँमा मोवाईलले काम गर्दैन् । कतै काम गरि नै हालेपनि राम्रोसँग सुनिदैन,’ उनले भने । सरकारले सबै नेपालीलाई गुणस्तरीय सञ्चारको पहुँच पु¥याउने घोषणा गरे पनि जिल्लाका गुटु, विजौरा, पाम्का, रजेना, मटेला, घोरेटा, खानीखोला लगायतका नागरिक मोबाइल फोन नेटवर्कको सुविधाबाट वञ्चित रहेका छन् । भौगोलिक विकटता रहेको ती ग्रामिण क्षेत्रमा साँझ परेपछि मोबाइल फोनको सम्पर्क विछेद् हुन्छ । विद्युत विस्तार नभएका कारण दुर्गममा रहेका टेलिकमको बीटीएस टावर सोलारमार्फत सञ्चालन हुने हुँदा पर्याप्त पावर नहुँदा घाम अस्ताएसँगै त्यसले काम गर्न सक्दैन् । सुर्खेतका चौकुने, चिङ्गगाड र सिम्ता गाउँपालिकामा टेलिकमको मोवाईल नेटवर्कको कमजोर पहुँच रहेको सेवाग्राही बताउँछन् । ‘चिङ्गगाड गाउँपालिकाको–२, को हालत पनि उस्तै छ । पाम्का, रजेना र मटेलासँगै वडा नम्वर–२, को ढाडखेतमा नेटवर्कले काम गर्देन्,’ चिङ्गगाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले भने, ‘गाउँपरिषद्बाट दुईतिहाई बहुमतले पारित गरेर पालिकाको कार्यालय अवचिङ्गबाट ढाडखेत सार्ने अन्तिम तयारी भएपनि सञ्चार असुविधाले काममा बाधा पुग्ने देखिन्छ । ढाडखेतमा विद्युत लाईन विस्तार कार्य तीव्र गतिमा भएपनि टेलिकमको पहुँच पु¥याउन अहिले आफु टेलिकमको सुर्खेतदेखि नेपालगञ्ज कार्यालयसम्म निरन्तर दौडधुप गरिरहेको छु ।’

उनले गाउँपालिकाको केही ठाउँमा मात्र एनटीसी मोवाईलले काम गरेपनि अधिकांस ठाउँमा बिहान र साँझपख मोबाइल नेटवर्कले काम नगर्ने गरेको दुःखेसो पोखे । उनले मोवाईल फोन नलाग्ने समस्या समाधानका लागि मन्त्री समेतको ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको बताए । चौकुने, अवलचिङ्ग र सिम्ता गाउँपालिकामा विद्युतलाइन विस्तार नभएकाले मोवाईल फोन नलाग्ने समस्या रहेको टेलिकम सुर्खेत कार्यालय प्रमुख वरिष्ठ ईन्जिनियर नारायणप्रसाद कुसीले स्वीकार गरे । ‘ब्याट्री फुलचार्ज हुन दुई–तिन दिन लाग्छ । सौर्यप्रकाशमा सोलार प्यालनमा भर पर्ने हुँदा समस्या दोहोरिरहेको छ,’ कुसीले भने, ‘समस्या समाधानका लागि माथिल्लो निकायमा निरन्तर पहल भईरहेको छ । छिट्टै मोवाईल फोन नलाग्ने समस्या सदाका लागि अन्त्य हुनेमा म विश्वस्त छु ।’ उनले जिल्ला भरी ६३ वटा वीटीएस टावरहरु रहेपनि भौगोलिक विकटताका कारण पर्याप्त हुन नसकिरहेको जनाए । उनका अनुसार वीरेन्द्रनगरका केही स्थानमा मोवाईल नेटवर्क नपुग्ने समस्या समाधानका लागि केन्द्र तथा प्रदेश कार्यालयसँग समन्वयमा काम भईरहेको छ । अहिले जिल्लाका नौ वटा स्थानीय तहका ८ स्थानमा २५ मिटर माथिका टावर राख्ने काम भईरहेको उनले जानकारी दिए । पहिलो चरणमा जिल्लाका साटाखानी, दशरथपुर, गुमीको (शिवनगर), मालारानी, उत्तरगंगा, बाङ्गेसीमल, बड्डीचौर र विद्यापुरमा २५ मिटर अग्ला टावर निर्माण कार्य शुरु गरिने छ । यता कर्णालीमा चौथो पुस्ताको मोबाइल सेवा विस्तारमा उल्लेख्य उपलब्धि हासिल गरेको टेलिकम सुर्खेतका ईन्जिनियर चन्द्रभूषण साहले दावी गरे । उनले कर्णालीमा पर्याप्त सडक, बत्तीलगायत भौतिक पूर्वाधार अभावका बाबजुद टेलिकमले वैकल्पिक सोलार प्यानल जोडेर भएपनि मोवाईल नेटवर्क विस्तार अभियानलाई निरन्तरता दिईरहेको जानकारी दिए । उनका अनुसार यो अवधिमा तामाको तारबाट चल्ने परम्परागत स्थानीय टेलिफोन तथा एडीएसएल सेवालाई अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवामा रुपान्तरण कार्य जारी राखिएको छ । अत्याधुनिक सूचना प्रविधि सञ्जाल विस्तार गर्ने लक्ष्यअनुरुप ग्रामीण क्षेत्रमा दूरसञ्चारको क्षेत्र विस्तारमा कार्यालय जुटिरहेकाले छिट्टै मोवाईल फोन नलाग्ने समस्या अन्त्य हुने उनको विश्वास छ ।

फोन गर्न रुखका टुप्पामा 
हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा रहेको टेलिफोन सेवाले पछिल्लो समय काम गरेको छैन । गाउँमा टेलिफोनले काम नगर्दा गाउँबाट करिब दुई घण्टाको पैदलको बाटो हिँडेर यहाँका नागरिक फोन सम्पर्कमा जोडिने गरेका छन् । दैनिक दुई घण्टाको पैदल हिँडेर डाँडामाथि रुखमा चढेर फोन गर्न बाध्य भएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले जानकारी दिए। भौगोलिक हिसाबले ठूलो र धेरै खोल्साखोल्सी भएको उक्त गाउँपालिकामा एकमात्र नेपाल टेलिकमको टावर मेल्छाम–५ मासीधारमा ०६६÷०६७ सालमा बनेको थियो । उक्त टावर कम क्षमता भएकाले सीमित मात्रामा टेलिफोन हुने गर्दथ्यो । उहाँले टावर अहिले आएर पूर्णरुपमा बन्द हुँदा दुई घण्टाको पैदल बाटो हिँडेर रुखको टुप्पोमा गएर फोन गर्न बाध्य भएको बताए । टेलिफोन नभए पनि इन्टरनेट सेवा अत्यन्तै सुस्त छ । त्यो पनि सबै नागरिकको पहुँचमा पुगेको छैन । उनले भने, “स्थानीयको त कुरै नगरौँ आफूसमेत दुई घण्टाको बाटो हिँडेर अग्लो ठाउँमा गएर फोन गर्नुपर्छ” । त्यो पनि घाम लागेको बेला काम गर्छ घाम नलागेमा वर्षा, हावा, हुरी लागेमा र हिमपात भएमा त त्यो पनि ठप्प हुन्छ ।” उनले धेरै पटक सञ्चार मन्त्रालय र नेपाल टेलिकम धाउँदा धाउँदा हैरान भइसकेको बताए ।

Translate »