सीमा नाकामा सयन्त्र नहुँदा संक्रमणको जोखिम

नेपालगञ्ज । छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण बढ्दो भए पनि बाँकेको नेपाल–भारत सीमा जमुनाहा नाकामा संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र परिचालन गरिएको छैन । सीमा नाकामा संक्रमण रोकथाम र नियन्त्रणका लागि संयन्त्र नहुँदा भारतको उच्च जोखिम भएको ठाउँबाट नेपाल प्रवेश गर्नेबाट संक्रमणको जोखिम बढेको पाइएको छ । अहिले भारतको महाराष्ट्र, तामिलनाडु, पञ्जाव, मध्यप्रदेश, नयाँदिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा दोस्रो लहरको संक्रमण दर बढ्दो छ । भारतका ती ठाउँमा संक्रमण बढेपछि सरकारले यही चैत ११ गतेदेखि सरकारले सबै नेपाल–भारत सीमा नाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) स्थापना गरेको छ । सीमा नाका जमुनाहामा पनि सहायता कक्षमा संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र नहुँदा नेपाल प्रवेश गर्नेले संक्रमण भिœयाउने जोखिम रहेको कक्षका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताए ।

संयन्त्र नहुँदा जमुनाहा नाकाको सहायता कक्षले प्रभावकारी रूपमा रोकथाम र नियन्त्रणको काम गर्न समेत सकिरहेको छैन । सीमा नाकामा संक्रमितलाई राख्न होल्डिङ सेन्टर र क्यारिन्टिनको व्यवस्था गरिएको छैन । सीमा नाका भएर नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने, १० दिनसम्म क्यारेन्टिनमा बस्नुपर्ने जस्ता जानकारी कर्मचारी अभावले दिन नसकिएको ज्ञवालीको भनाइ छ । भारतबाट आउनेलाई लक्षण देखिए नमूना एन्टिजेन परीक्षण गर्ने गरिएको छ । नाका हुँदै आएका व्यक्तिको नाम, ठेगाना,  लगायत विवरण टिपे पनि कर्मचारी अभावले सबै विवरणका लागि फाराम भराउन सकिएको छैन । भारतमा संक्रमण बढे पनि खुला सीमाका कारण दैनिक ४ देखि ५ हजारसम्म व्यक्ति सीमापारि रुपडिया बजारमा दैनिक खाद्यान्न र अन्य सामान किन्न विनारोकतोक सीमा वारपार गरिरहेका छन् । ल्याब टेक्निसियन ज्ञवालीले कर्मचारी पर्याप्त नहुँदा भारतबाट आउने व्यक्तिको ज्वरो नाप्ने र विवरण संकलन गर्नेबाहेक कुनै काम गर्न नसकिएको बताए । ‘भारतको उच्च जोखिम भएका ठाउँबाट मानिस आइरहेका छन्,’ उनले भने, ‘ती मानिसबाट संक्रमण फैलने जोखिम छ । बेलैमा सरकार सचेत हुनुपर्दछ ।’

सरकारले सीमा नाका र अन्तरराष्ट्रिय विमानस्थलमा स्थापना गरेको स्वास्थ्य कक्षमा एक मेडिकल अफिसर, एक हेल्थ असिष्टेन्ट, एक सिनियर अहेब, एक नर्स, एक जना अनमी, एक ल्याब टेक्निसियन र एक कार्यालय सहयोगीको गरी सात जनाको अस्थायी दरबन्दी सृजना गरेको छ । जमुनाहा नाकामा एक सिनियर अनमी, एक अहेब र एक ल्याब टेक्निसियन मात्र छन् । ल्याब टेक्निसियन ज्ञवालीले दरबन्दीअनुसार कर्मचारी नहुँदा सीमा नाका भएर आउने व्यक्तिको कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न नसकिएको स्वीकार गरे । उनका अनुसार नाका हुँदै आएका व्यक्तिमा संक्रमण देखिए कसरी व्यवस्थापन गर्ने भन्ने तयारी समेत रहेको छैन । यही चैत १३ गते भारतको महाराष्ट्रबाट आएका रोल्पाका एक जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएपछि उनलाई व्यवस्थापन गर्न समस्या भएको थियो । बिहान १० बजे परीक्षण गर्दा संक्रमण देखिएको उनलाई राति ९ बजे मात्र एम्बुलेन्सको व्यवस्थापन गरेर संक्रमितको घर रोल्पा पठाइएको उनको भनाइ थियो । कक्षमा पर्याप्त जनशक्ति नहुँदा नाकाबाट नेपाल प्रवेश गर्ने सबैको विवरण पनि लिन सकिएको छैन । बिहान ७ बजे कक्ष खुले पनि सुरक्षाकर्मी नहुँदा नाका प्रवेश गर्ने व्यक्तिको ज्वरो नाप्ने र विवरण संकलन गर्न सकिएको छैन । बिहान १० बजे सुरक्षाकर्मी आएपछि मात्र व्यक्ति ज्वरो नाप्ने र विवरण संकलन गर्ने काम हुने गर्दछ । कक्षका अहेब हेमन्त रानाले जिल्लाबाट कसैले पनि काम गर्न समन्वय नगरेको बताए ।  रासस

Translate »