दरवार हत्याकाण्ड र केही प्रश्नहरु

आज जेठ १९, अर्थात दरबार हत्याकाण्ड भएको दिन । तत्कालिन राजा विरेन्द्रको हत्या र त्यसपछिका केही राजनितिक विषयहरु सँग जोडिएका केही प्रश्नहरु खोज्न मन लाग्यो।

राजा विरेन्द्र र पञ्चायती व्यवस्था!
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीलाई नियन्त्रयणमा लिदै तत्कालिन राजा महेन्द्रले निरङ्कुश पञ्चायती व्यवस्था को सुरुवात गरिसकेका थिए। राजा महेन्द्रले जिवनको कुनै कालखण्डमा यसको पछुतो गर्ने गरेको पञ्चायती व्यव्स्थाका सक्रिय प्रधानमन्त्री सूर्य बहादुर थापाले आफ्ना अन्तिम अन्तर्वार्ताहरुमा भन्ने गरेका थिए। राजा महेन्द्रले विपिलाई भेट्ने प्रयास गरेतापनि आफुहरुले रोकेको भनि सूर्यबहादुर थापाले एकपटक भनिसकेका नै थिए।

त्यस्तै राजा विरेन्द्रले राज्य सम्हाले सँगै निरङ्कुश पञ्चायति व्यवस्था हट्न सक्ने अनुमान त्यसबेला धेरैले गरेका रहेछन्। तर सायद राजा विरेन्द्रलाई उक्त व्यवस्था हटाउन पञ्चायती व्यवस्थाका कारण शक्तिमा बसिरहेकाहरुले कहिल्यै समर्थन् गरेनन्। राजा विरन्द्र जनताले अन्याय पाउनुपर्छ वा जनतामाथि निरङ्कुश रहनुपर्छ भन्ने स्वाभावको थिए भनेर कसैले विश्वास गर्दैन तर राजा विरेन्द्रले पञ्चायती व्यवस्थालाई निरन्तरता दिइरहनुलाई पञ्चायती व्यवस्थामा रमाइरहेका केही व्यक्तिहरुको नेपाली जनतामाथिको षड्यन्त्र र नेपाल देशप्रति गरिएको भद्धा मजाकको रुपमा भने बुझ्न आवश्यक छ।

राजा महेन्द्रले जस्तै राजा विरेन्द्रले पनि राजा भएपश्चात नै प्रजातन्त्रको लागि लामो लडाइ लडेका नेता विपि कोइरालाई भेट्न रहर गरेको थिए भन्ने ऐतिहासिक तथ्यहरु भेटिन्छन् । त्यस्तै क्यान्सर संक्रमित विपिको उपचारमा कुनै कसर बाकी नराख्न राजा विरेन्द्रले दिएको निर्देशनले राजा विरेन्द्रको विपि प्रतिको सम्मान र विश्वास पक्कै देखिन्छ । राजा महेन्द्रले र राजा विरेन्द्रले पटक पटक विपिलाई भेट्ने रहर गरेता पनि विपिले मानेनन् भन्दै हामीले राजा र विपिको भेट हुन दिएनौ र विपिले पनि राजा सँग भेट गर्न पटक पटक पत्राचार र दुतहरु पठाएतापनि हामीले राजालाई विपिको सन्देश कहिल्यै पुर्याएनौ भन्ने सूर्य बहादुर थापाको स्विकारोक्तीले राजा विरेन्द्र र विपि विच समयमा नै सहकार्य र समन्वय हुन पाएको भए पञ्चायती व्यवस्था केही छिटै नै अन्त्य हुन सक्ने थियो कि भन्ने अनुमान गर्न सकिन्छ ।

नेपालका राजा र भारत !
विशेषत : भारतले नेपालको राजा राजनितिक रुपमा कहिल्यै पनि मन पराएन। सांस्कृतिक रुपमा भने हिन्दुहरु माझ भगवान विष्णुको अवतार मानिएका राजालाई भारतिय हिन्दुहरुको आस्था र विश्वासको कारणले पनि राजालाई भारतिय हिन्दु संस्कृतिमा पनि महत्वपूर्ण स्थान दिदै नेपाली राजाद्वारा नै मात्र पूजा आराधना रहनेगरि सांस्कृतिक कार्य गरि नै रह्यो। भारतले नेपालको राजा राजा मन पराउदैनन् भन्ने अर्को तथ्य भारतले विपि कोइरालालाई राष्ट्रपतिको लागि गरेको प्रस्ताव पनि हो।

विपिले यदि उक्त प्रस्ताव स्विाकार गरेका थिए भने राजनितिक माहोल अर्को हुन सक्ने थियोे नै तर भारतको सहयोगमा राजा फ्यालेर सिक्किम भारतमा ल्याएको देखेका विपिले राजाले मारे मारुन् भन्दै राजा सँग घाटि जोडिएको छ भनेर नेपाल फर्के।

राजा विरेन्द्र र मदन भण्डारी !
राजा विरेन्द्रलाई केही राजनितिक विश्लेशकहरुले मदन भण्डारीको हत्या सँग पनि जोडेर हेर्ने गरेका छन्। मदन भण्डारीले राजालाई खुल्ला राजनितिमा आउन सार्वजनिक भाषण मार्फत दिएको चुनौति र मदन भण्डारीको मृत्युलाई जोडेर कतै राजा विरेन्द्रले मदनको हत्या गराएका त होइनन् भनि नेपाली जनतामाझ भ्रम छर्नेहरुको समुह नभएको पनि होइन तर राजा विरेन्द्र प्रति जनताको यति धेरै विश्वास रहिरह्यो कि उक्त घटना राजाको कारणले भएको थियो भन्ने नेपाली जनताले सोच्न पनि सकेनन्। त्यसो त निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई हराइसकेपछि राजा विरेन्द्र र मदन भण्डारीको भेट भएको थियो पनि भनिन्छ।

भनिन्छ उक्त भेट पश्चात मदन भण्डारीले राजाप्रतिको आफ्नो धारणा नै परिवर्तन गरेका थिए। आफुँले सोचेभन्दा विलकुल फरक राजा विरेन्द्र रहेको भन्दै मदनले पनि राजा रहनुले देशलाई केही घाटा नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिन थालिसकेका थिए। केही समयमा मदनको मृत्यु भयो। हुन त हाम्रो जस्तो साना मुलुकहरुमा केही घटना भए त्यसलाई ठुलो षड्यन्त्रकै रुपमा हेर्ने गरिन्छ, त्यसैले मदन भण्डारीको गाडि दुर्घटना हो या हत्याको योजना नै थियो, त्यो यकिन हुन सकेको छैन। मदनको हत्या या साँच्चै नै दुर्घटना यकिन हुन नसकेता पनि राजा विरेन्द्रको भने जेठ १९ मा हत्या नै भएको थियो, जुन हत्या कसले गरायो भन्ने भविष्यले उत्तर पक्कै खोज्नेछ।

राजा विरेन्द्र र माओवादी जनयुद्ध!
मओवादी जनयुद्धलाई लिएर धेरैले विभिन्न टिप्पणी गर्ने गरेका नै छन्। माओवादी जनयुद्धको घोषणा सँगै सुरु भएका उक्त टिका टिप्पणीहरु सुरुवातको २६ वर्ष र अन्त्य भएको १५ वर्ष वितिसक्दा पनि अझै कायम छन्। माओवादी जनयुद्धलाई भारतको चाहनाको रुपमा प्रचार गर्न खोज्नेहरुको पनि कमि छैन र थिएन। तत्कालिन राजा विरेन्द्र सँग पनि यि प्रचारहरु नपुगेका होइनन्। तर भनिन्छ राजा विरेन्द्रले यि प्रचारहरुको विश्वास कहिल्यै गरेनन्।


जनताले आफ्नो अधिकार प्राप्त नगरेको र सरकारले जनताको आधारभुत आवश्यकक्ता समेत पूर्ती गर्न नसकेकोले समयको विकास सँगै जनताले राज्यविरुद्ध विद्रोह नै गरेका हुन् र भारतको इसारामा होइन भन्ने राजा विरेन्द्रको बुझाइ रहेको देखिन्छ। राजा विरेन्द्रले माओवादी विद्रोहीहरुमाथि सैनिक कारबाही गर्न नमान्नु बरु यसको विपरित माओवादी विद्रोहीहरुसँग वार्तामा बस्न तयार रहनुले पनि राजा विरेन्द्रको माओवादी आन्दोलन प्रतिको बुझाइ स्पस्ट देखिन्छ।

यहि माओवादी विद्रोह दबाउन सेना प्रयोग नगर्ने अनि उल्टै वार्तामा बस्ने संकेत दिनुको कारण पनि राजा विरेन्द्रको हत्याको एक कारण नहोला भन्न सकिदैन। हामीले अफगानिस्तानमा विद्रोह देखाएर अमेरिकाले आफ्नो सेना पुर्याएको देखिरहेको नै छौँ। राजा र माओवादी विच वार्ता भएको खण्डमा आफ्ना सेना नेपाल पठाउने षड्यन्त्र रोकिने देखेका केही शक्ति राष्ट्रहरुले राजा विरेन्द्रको हत्या गर्दै माओवादीसँगको वार्ताको सम्भावनालाई सदाका लागि बन्द गराएका त थिएनन्? प्रश्नको उत्तर इतिहासले नदिएता पनि निकट भविष्यले पक्कै दिनेछ।

नेपाली जनताले राज्य विरुद्ध गरेको विद्रोह देखाएर नेपालमा आफ्नो हस्तक्षेप कायम राख्नेहरुको चाहनामा राजा विरेन्द्र र माओवादीले घात गर्ने देखेकैले केही शक्तिराष्ट्रहरुको स्वार्थमा राजा विरेन्द्रको हत्या भएको त थिएन ? तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले राजा विरेन्द्रको हत्यालाई ग्राण्ड डिजाइन भन्ने गरेका थिए, आखिर के थियो त गिरिजाको बुझाइको ग्राण्ड डिजाइन, गिरिजाले नभनेता पनि नेपाली जनताले यसको उत्तर खोज्न आवश्यक देखिन्छ।

राजा विरेन्द्रको हत्या !
राजा विरेन्द्रको हत्या भएपश्चात धेरैले तत्कालिन युवराज दिपेन्द्रले राजाको हत्या गरेको भनिरहे। त्यहि बिचमा केही कसैले सम्पुर्ण राजपरिवार एकै ठाँउमा हुँदा राजा विरेन्द्रका भाई तथा ज्ञानेन्द्रको परिवारको कोही सदस्य त्याँहा नहुनुलाई राजा विरेन्द्रको हत्या ज्ञानेन्द्रले गरेका थिए भन्न पनि थाले। तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले उक्त दरवार हत्याकाण्डलाई ग्राण्ड डिजाइनको संज्ञा दिए, तर राजा मार्ने ग्राण्ड डिजाइन कसले र किन गर्यो? गिरिजा प्रसाद कोइरालाले कहिल्यै खुलाएनन्।

ज्ञानेन्द्रलाई आफ्नै दाइ तथा नेपालीहरुको प्रिय राजा विरेन्द्रको हत्याको आरोप लागिरह्यो तर आफुँ राजा बन्नैका लागि राजा विरेन्द्रको हत्या गर्न सक्ने ज्ञानेन्द्रले २१ दिनको जनआन्दोलनमा १९ जना नेपाली राज्यद्वारा मारिदा सत्ता छोड्न किन तयार भए ?

हुन त राजा मार्न सक्नेले आफुलाई पनि मार्न सक्ने अनुमान गिरिजाको रह्यो होला, अथवा अन्य केही होला। उक्त राजहरुको पनि गिरिजा प्रसाद कोइरालाको निधनसँगै निधन भयो। अर्कोतर्फ ज्ञानेन्द्रप्रति मानिसहरुमा राजा विरेन्द्र जिवित रहँदादेखी नै नकारात्मक प्रचार गरिएको नै थियो र ज्ञानेन्द्रको छवि नेपालीहरु माझ नराम्रो देखाइएको नै थियो। यहि प्रचारले केही हदसम्म पक्कै काम गर्यो जसको फलस्वरुप राजा विरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रलाई राजाबाट हटाएर गणतन्त्र स्थापनाको लागि सबै नेपाली तयार भए।

तत्कालिन प्रधानमन्त्री गिरिजाले भन्ने गरेकै जस्तो कुनै ग्राण्ड डिजाइन हो र आफ्नो दाइ तथा राजा विरेन्द्रको हत्या गर्न सक्नेले आफ्नो र परिवारको पनि हत्या गरिदिन सक्ने डरले ज्ञानेन्द्रले केही तथ्यहरु सार्वजनिक गर्न डराएका हुन् भने आशा गरौ ज्ञानेन्द्रले अन्तिम समयमा केही तथ्यहरु पक्कै देलान् किनभने तत्कालिन प्रधानमन्त्री गिरिजाको निधन भइसकेको अवस्थामा अब दरवार हत्याकाण्डका बारेमा केही भन्न सक्ने अवस्थामा पूर्व राजा ज्ञानेन्द्र मात्र रहेका छन्।

राजा रहेकै अवस्थामा ज्ञानेन्द्रले राजा विरेन्द्र मारिएका नारायणहिटि दरवार भित्रको त्रिभुवन सदनको पुनःनिर्माण गर्नु र राजा विरेन्द्रको हत्याको साक्षी उक्त त्रिभुवन सदनलाई सदाको लागि अन्त्य गरिदिनु पछिको रहस्य पनि नेपाली इतिहासको महत्वपूर्ण दस्तावेज बन्न सक्छ, आशा गरौँ यदि केही डरकै कारणले पूर्व राजा ज्ञानेन्द्रले केहि तथ्यहरु राख्न सकिरहेका छैनन् भनेपनि कुनै समयमा उनले नेपाली जनतासमक्ष राख्ने नै छन्। ज्ञानेन्द्रलाई आफ्नै दाइ तथा नेपालीहरुको प्रिय राजा विरेन्द्रको हत्याको आरोप लागिरह्यो तर आफुँ राजा बन्नैका लागि राजा विरेन्द्रको हत्या गर्न सक्ने ज्ञानेन्द्रले २१ दिनको जनआन्दोलनमा १९ जना नेपाली राज्यद्वारा मारिदा सत्ता छोड्न किन तयार भए ? इतिहासमा जवाफ भेटिएला नभेटिएला तर भविष्यले पक्कै उत्तर खोज्नेछ । (नेपाली पब्लिक)

Translate »